बिनामारेका बोहोरा भन्छन् : विदेश भन्दा स्वदेशमै आत्मासन्तुष्टी


खेमराज गौतम, बागलुङ

विदेशमा छोटो अनुभव संगालेर फर्केका यहाँका एक किसान तरकारी खेतीमा रमाउदै आउनुभएको छ ।

बागलुङ जिल्लाको जैमिनी नगरपालिका–५ बिनामारेका भोज बहादुर बोहोराले विदेशबाट फर्केर व्यवसायिक कृषि गर्न थालेको १२ वर्ष भयो ।

गाउँका सबै युवाहरु विदेश जाने शिलशिलामा बोहोराको मन समेत रोकिएन । एक वर्ष कतार र पुनः तीन वर्ष माल्दिप बसेर नेपाल आउनुभएका बोहोरालाई विदेश खासै फापेन ।

गाउँमा जग्गाहरु क्रमश बाँझिदै गएको देखेका बोहोराले परिवार पाल्नका लागि निर्वाहमुखी कृषि छोडेर व्यवसायिक कृषिमा लाग्नुभएको हो ।

विदेशमा भनेजस्तो नभएपछि आफ्नै गाउँमा दुःखजिलो गर्ने अठोट बोकेर नेपाल आउनुभएका बोहोराले कृषि क्षेत्रबाट आम्दानी भन्दा बढी आत्मसन्तुष्टी मिलेको अनुभव सुनाउनुभयो ।

“२०६४ सालमा रोजगारीका लागि कतार पुगे भनेजस्तो काम नपाएपछि एक वर्षमै ऋण बोकेर नेपाल फर्के, पुनः माल्दिप पुगे माल्दिपमा भने राम्रै कमाई गरे तर तीन वर्ष भन्दा बस्न सकिएन” बोहोराले भन्नुभयो “गाउँको जग्गामा कोदो मकै र धानले परिवार पाल्न मुस्किल थियो, श्रीमती बिदेश पठाउदा माल्दिपमा कमाएको सबै पैसा सकियो, श्रीमती समेत धन कमाएर उतै घरजम गरिन, त्यसपछि बिदेश भन्ने यस्तै रैछ भनेर तरकारी खेतीमै समय बिताए ।”

दोस्रो श्रीमती र छोराहरु पाल्न यही कृषिमा निर्भर रहेको बताउदै बोहोराले बजारको ग्यारेण्टी नुहँदा भने समस्या भएको गुनासो सुनाउनुभयो ।

बोहोराको छ वटा आधुनिक र परम्परागत प्लाष्टिक टर्नेलमा टमाटर, काउली, ब्रोकाउली, मुला, केराउ, चना, बन्दा र सिमि फलेका छन् । खुल्ला जग्गामा रातो मुला फष्टाएको छ । उहाँको फर्म क्षेत्रमा कागती, सुन्तला, अमिलो लगायतका फलफूल समेत उत्पादन भइरहेका छन् ।

फर्ममा एउटा दुहुँनो गाई, एउटा भैसी, कुटानी पिसानी मेल, पाँच बाख्रा र एक दर्जन लोकल कुखुरा समेत रहेको बोहोराको कृषि फर्मको खर्च कटाएर परिवार पाल्दा समेत केही रकम बचत भएको छ ।

बोहोरा पशु तथा कृषि फर्म दर्ता गरेर सञ्चालन गर्दै आउनुभएका बोहोराले कृषि ज्ञान केन्द्र बागलुङबाट सात लाख अनुदान समेत पाएको सुनाउनुभयो ।

“पहिलो विवाह सफल नभएपछि दोस्रो विवाह गरे, श्रीमती फुलमाया राना बोहोराले कृषिमा मलाई सघाउदै आएकी छिन्, कहिले बाख्रा विक्रि कहिले कुखुरा त कहिले दूध, केही न केही त बिक्रि गरिएकै हुन्छ, खान लाउन पुगेको छ, विदेशको दुख भन्दा आफ्नै माटोमा काम गरेर खादा सुन्तष्ट मिलेको छ” उहाँले भन्नुभयो “मेरो मुख्य उत्पादन भने टमाटर हो, तर एकै पटक उत्पादन गर्दा बजार टाढा भएकाले समस्या छ, त्यसैले सबै तरकारी थोरै थोरै उत्पादन गर्दछु, मासिक खर्च कटाएर केही रकम बचत समेत हुन्छ, विदेश भन्दा त यतै सन्तुष्ट माने ।”

अहिले गाउँनै खाली बनाएर विदेश जानेको लर्को रहेको बताउदै बोहोराले जैमिनीको धेरै जग्गा बाँझो हुँदै गएको बताउनुभयो । बोहोराले १५ रोपनी आफ्नै जग्गामा मौसमी तथा बेमौसमी नगदेबाली लगाउदै आउनुभएको छ ।

बोहोराले सबै विदेश भनेर गएपनि आफू भने विदेशबाट अघाएको सुनाउदै विदेशमा भन्दा स्वदेशमै राम्रो भएको सुनाउनुभयो ।

जहाँ गएपनि दुःख गर्नुपर्छ भन्नेकुरा छोटो समयको बैदेशिक रोजगारीको समयमा अनुभव गरेको बताउदै विदेशमा गर्ने दुःखले नेपालमै राम्रो गर्न सकिने अनुभव उहाँको छ । बोहोराले धेरै परिणाममा तरकारी उत्पादन गर्दा बजारको भने समस्या रहेको सुनाउनुभयो ।

उहाँले घरबाटै अधिकांश तरकारी विक्रि हुँने भन्दै एकै पटक उत्पादन गर्दा बजारमा पु¥याउन समस्या रहेको जानकारी दिनुभयो । स्थानीय सरकारले बजारको ग्यारेण्टी गर्नसकेमा हामी जस्ता किसानलाई राहत हुँने उहाँकोको अपेक्षा रहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *