डम्मर बुढा मगर, बागलुङ
बागलुङको काठेखोला गाउँपालिकामा तरकारी तथा दुध उत्पादन गर्दै आएका किसानको संख्या धेरै छ । विशेष गरि वडा नम्बर २, ५ र ६ का किसानले बाह्रै महिना दुध उत्पादन गर्ने गर्छन् । ब्राहमण समुदायले घरबाटै पनि दुध विक्री गर्छन् । तर दलित समुदायले सहकारीमार्फत पनि दुध विक्री गर्न पाएका छैन् । गाउँमा दुध संकलन गर्ने सहकारी तथा विभिन्न संस्थाहरुले दलित समुदायले उत्पादन गरेको नठाई दिने गुनासो बढि रहेको छ । सरोकारवाला निकायले नै चासो नदिँदा दुध विक्री गर्न नसकिएको दलित अधिकारकर्मी बताउँछन् । काठेखोला गाउँपालिकाले दलित समुदायले उत्पादन गरेको दुध विक्रीमा आनाकानी गर्ने संघ संस्था तथा व्यक्तिलाई कारबाही गर्ने चेतावनी दिएको छ ।
गाउँपालिकाका प्रवक्ता टिका संगम विकले दलित समुदायका किसानले उत्पादन गरेको दुध विक्री नभएको गुनासो आएपछि गाउँपालिकाले कानुन आनुसार कारबाही गर्ने बताउनुभयो । काठेखोलामा दुध विक्री गरेरै धेरै किसानले परिवार चलाउँदै आएको भन्दै प्रवक्ता विकले गाउँपालिकाले पनि उनीहरुको सहजताका लागि गाउँपालिकाको वडा नम्बर २ अक्षतेमा दुध संकलन केन्द्र स्थापना गर्ने बताउनुभयो । काठेखोलाको दुध बागलुङ बजारसँगै पोखरासँम्म पु¥याइने उहाँको भनाइ छ ।
“संघ संस्था होस् या व्यक्ति कसैले पनि जातीय विभेद गरेर किसानले उत्पादन गरेको दुध संकलन गरेर बजार पु¥याउन असहज हुने गतिविधि गर्न पाइँदैन, पछिल्लो समय धेरै छुवाछुत र विभेदका कारण दलित समुदायले उत्पादन गरेको दुध विक्री नभएको गुनासो बढेको छ,” प्रवक्ता विकले भन्नुभयो – “गाउँपालिकाले यसलाई निकै गम्भीर भएर हेरि रहेका छ, अब कुनै पनि हिसाबले जातीय विभेद भयो भने कानुनी दायरामा ल्याउन पालिकानै अग्रस बन्ने गरि कार्यपालिकाले निर्णय गरेको छ, रहेक नागरिकले पेसा व्यवसाय गरेर बाँच्न पाउन अधिकार हुन्छ, किसानको सहजताका लागि गाउँपालिकाले पनि अक्षते बजारमा दुध संकलन केन्द्र स्थापना गर्ने भएको छ ।”
काठेखोला गाउँपालिका–१ पालकाकी अस्मिता विकले दुध उत्पादन भए पनि विक्री गर्न निकै समस्या हुने गरेको बताउनुभयो । हिउँदमा कम भए पनि बर्खाको समयमा बढी दुध उत्पादन हुने भन्दै विक्री नभएपछि मही पारेर फाल्नु पर्ने बाध्यता रहेको विकले सुनाउनुभयो । छरछिमेकीहरुको दुध विक्री भए पनि दलित परिवारको नहुने उहाँले गुनासो पोख्नु भयो । आफूहरु अन्यायमा पर्दा पनि सरोकारवाला निकाय मौन रहेको विक बताउनुहुन्छ । आफूहरुले उत्पादन गर्ने दुधको गुणस्तर अरुको भन्दा कमसल नभएको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो – “दलितले उत्पादन गरेको दुध कहिलेसम्म विक्री नहुने हो ?, के दुध त एउटै होइन र, हामीहरुले सधैँ मही पारेर बाँस घारीमा फाल्नु परेको छ, अरुको दुध दिनदिनै बजार जान्छ, दलितहरुले उत्पादन गरेको दुधमा के विष हुन्छ र ?, होइन भने राज्यले हाम्रो समस्या बुझ्न जरुरी छ, दुई÷चार माना दुध विक्री भए पनि बालबच्चालाई कापी कलमको खर्च त हुन्थ्यो, मही पारेर बाँस घारीमा त फाल्नु पर्ने थिएन ।”
सरकारले वि.सं. २०६३ जेठ २१ गते नेपाललाई छुवाछुतमुक्त राष्ट्र घोषाण गरेको थियो तर दुई दशक हुँदा पनि नेपाली समाजमा अहिले पनि छुवाछुत र जातीय विभेद कायमै छ । काठेखोला गाउँपालिका–२ भीमापोखराका चिन्तामणि विकले लामो समयदेखि दुध विक्री नभएको विषयमा संघर्ष गर्दै आएको बताउनुभयो । गाउँमा दुध संकलन र बजारसम्म पु¥याउनका लागि सहकारी स्थापना भए पनि आफूहरुलाई शेयर सदस्यमा समेत समावेश नगरेको गुनासो गर्नुभयो । भीमापोखराका दलित समुदायले हिँदमा करिब २१ लिटर र बर्खामा ३५ देखि ४० लिटर दुध उत्पादन गरे पनि बजार नपाएको उहाँको भनाइ छ । विभिन्न निकायमा उजुरी गरेपछि गाउँको सहकारीले दुध उठाउने भने पनि अहिलेसम्म नउठाएको विकले बताउनुभयो ।
“२५ लिटरभन्दा बढी दुध लगिदैन भन्नुहुन्छ, कहिले के भन्नुहुन्छ, मिसान नदिनका लागि अनेक बहान बनाइ राख्नुहुन्छ, अहिलेसम्म एक पटक पनि हामीहरुले उत्पादन गरेको दुध मिसाएर बजार लगिएको छैन, मुख भन्छन्, व्यवहारमा गर्दैनन्” उहाँले भन्नुभयो – “गाउँमा दुध संकलन गर्ने सहकारी स्थापना भएका धेरै वर्ष भयो, शेयर सदस्य बन्छु भन्दा पनि अहिलेसम्म सदस्य बनाएका छैनन्, गाउँमा हुने यस्तो व्यवहारले हामीहरु निकै अन्यायमा परेका छौँ, वर्षौँदेखि विभिन्न समस्या भोग्दै आएका छौँ, अहिले पनि समाजमा जातीय विभेद उस्तै छ, कसलाई भन्ने, कसलाई सुनाउने, हामीहरु सधै दबिएर बस्नु परेको छ, समाज एउटै भएर के गर्ने, हामीमाथि हुने व्यवहार धेरै फरक छ ।”