पर्यटक आकर्षणको केन्द्र बन्यो पञ्चकोट

डम्मर बुढा मगर, बागलुङ
बागलुङ बजारको शिरमा छ सर्वसिद्धीधाम पञ्चकोट । समुन्द्रि सतहदेखि एक जाहर ७५० मिटरको उचाइमा रहेको पञ्चकोट एक दशक अगाडि भिर पहारले भरिएको थियो । यहाँ पर्यटक भित्राउन धार्मिक संरचना निर्माण गर्ने योजना बनाउँदा कसैले पनि विश्वास गर्दैनथे । अहिले यो क्षेत्र गण्डकी प्रदेशकै उत्कृष्ट धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास भएको छ । आँखै अगाडि देखिने हिमश्रृङ्खला, अग्ला पहाड र यहाँबाट देखिने अनगिन्ती मनमोहक दृश्यले आगन्तुकलाई आकर्षण गरि रहेको छ । मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलानयनाचार्यको परिकल्पनामा बनेको पञ्चकोटमा अहिले थुप्रै धार्मिक संरचना बनेका छन् । जसले वर्षेनी हजारौँ आन्तरिक तथा बाह्य पर्यटक भित्राउने गरेका छन् ।

वि.सं.२०७२ सालमा तत्कालीन प्रधानमन्त्री तत्कालीन प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति सुशिल कोइरालाले शिलान्यस गर्दा भिरैभरि रहेको पञ्चकोटमा अहिले सिस महल, गण्डकीमाताको मन्दिर, यज्ञशाला, हनुमानको विशाल मूर्ति लगायतका जर्दनौँ धार्मिक संरचना बनि सकेका छन् । विभिन्न दाताहरुको सहयोग, महायज्ञबाट संकलन भएको रकम र सरकारबाट भएको करोडौँको लागनीले अहिले पञ्चकोट देशव्यापी रुपमा चर्चित बनेको छ । बागलुङ नगरपालिका–६ मा पर्ने पञ्चकोट बागलुङ बजारदेखि छ किलोमिटर उत्तर पट्टी पर्छ । बजारबाट नजिक र सहज रुपमा पुग्न सक्ने हुँदा दैनिक सयौँ पर्यटक यहाँ आउने गरेका छन् । बागलुङ बजारबाट २० मिनेट गाडीको यात्रामा पञ्चकोट पुग्न सकिन्छ । नजिकै बागलुङ कालिका र सालिग्राम संग्राहलय रहेको हुँदा यहाँ आउने पर्यटक पनि पञ्चकोटमा उक्लने गरेका छन् ।

पछिल्लो समय मुस्ताङको मुक्तिनाथ, म्याग्दीको गलेश्वर लगायतका ठाउँमा पुग्ने धार्मिक पर्यटक यहाँ आउन थालेपछि चहलपहल बढेको पाइन्छ । हालसम्म पञ्चकोटमा ५० करोड लगानी भइसकेको छ । पर्यटक आकर्षण र धार्मिक संस्कृतिको संरक्षणका लागि थुप्रै संरचना बन्ने चरणमा छन् । पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकले पञ्चकोटमा घुइँचो बढु्न थालेको सर्वसिद्धिधाम पञ्चकोट विकास परिषद्को अध्यक्ष दामोदर शास्त्री दाहालले जानकारी दिनुभयो । दैनिक ३०० देखि ४०० सम्म पर्यटक आउने उहाँको भनाइ छ । बिदा तथा विभिन्न चाडपर्वका बेला करिब १२ सय बढी पर्यटक आउने गरेको दाहालले बताउनुभयो । पञ्चकोटको प्रचारप्रसार र व्यवस्थापन व्यवस्थित बनेपछि पर्यटकको आकर्षण बढेको अध्यक्ष दाहाल बताउनुहुन्छ ।

“पञ्चकोटमा अहिले धेरै संरचना बन्ने चरणमा छन्, पहिले यहाँ आउने पर्यटक निकै कम थियो, तर पछिल्लो समय प्रचाप्रसार बढी भयो र देश विदेशका पर्यटकहरु आउने गर्नु भएको छ, पर्यटक आउने दिन खाली हुँदैन, जहिले पनि आइराख्नु हुन्छ,” अध्यक्ष दाहालले भन्नुभयो – “बजार नजिकै भयो, सडक पनि राम्रै छ, त्यही भएर पनि पर्यटक आउन सहज भएको हो, बिदाका दिन सबैभन्दा बढी पर्यटकको आगमन हुन्छ, पर्यटन प्रवद्र्धन र कलश निर्माणका लागि आगामी फागुनमा नेपालकै सबैभन्दा ठूलो र पहिलो महायज्ञ गर्न थालेका छौँ, त्यसका लागि तयारी भइरहेको छ ।”

होटल व्यवसायी संघ बागलुङका अध्यक्ष निलेश राजभण्डारीले पर्यटकको आगमनमा वृद्धि भएसँगै होटल व्यवसाय फस्टाउन थालेको बताउनुभयो । पञ्चकोट र मुस्ताङको मुक्तिनाथ जाने धार्मिक पर्यटकका लागि बागलुङ ‘ट्रान्जिट पोइन्ट’ भएको हुँदा पर्यटक बढ्दै गएको उहाँको भनाइ छ । बागलुङका पर्यटकीय क्षेत्रलाई थप व्यवस्थित गर्न र पर्यटकलाई एक रात बागलुङमै बस्ने वातावरण बनाउन भने जरुरी रहेको अध्यक्ष राजभण्डारीले बताउनुभयो । पर्यटन याममा यस वर्ष पर्यटकहरुको चाप बढेको उहाँको भनाइ छ ।

अध्यक्ष राजभण्डारीले भन्नुभयो – “बागलुङमा धेरै पर्यटकीय क्षेत्र छन्, पर्यटकहरु पनि आउँछन्, पञ्चकोट, सालिग्राम संग्राहलय र बागलुङ कालिका नजिक भएको हुँदै एकै पटक तीन धार्मिक स्थलको दर्शन गर्न सकिन्छ, पर्यटक आए पनि बागलुङमा कम बास बस्ने गरेका छन्, अहिले मुक्तिनाथ जाने तिर्थालु बढी बागलुङमा बास बस्ने गरेका छन्, अब बागलुङमा आएकाहरुलाई पनि कसरी हुन्छ बास बस्ने वातावरण बनाउनु पर्छ ।”

देवघाटबाट घुम्न आउनु भएको दीपेश आचार्यले पञ्चकोट निकै मनहोक रहेको बताउनुभयो । प्राकृतिक सौन्दर्यले भरिएको ठाउँमा आकर्षक र कलात्म रुपमा बनेका संरचनाले आफूलाई आकर्षित गरेको बताउनुभयो । उहाँले सामाजिक सञ्जालमा फोटो तथा भिडियो देखेर आफू परिवारसहित पञ्चकोट दर्शनका लागि आएको बताउनभयो । पञ्चकोटमा आएको बेला एकै पटक तीन वटा धार्मिक क्षेत्रको दर्शन गर्न पाएको उहाँको भनाइ छ । एकै ठाउँमा आधा घण्टाको दूरीमा यति धेरै धार्मिक कमै ठाउँमा रहेको आचार्य बताउनुहुन्छ ।

“बागलुङ कालिकामा धेरै पटक आएको थिएँ, सालिग्राम संग्रालय र पञ्चकोट आउनु पाएको थिएन, धेरैले पञ्चकोट पुग्नु पर्छ भन्ने गर्थे, मलाई यति रमाइलो ठाउँ होला भन्ने लागेको थिएन, आएपछि यहाँको वातावरण र बनेका मन्दिर, सिस महलले लोभ्यायो” आचार्यले भन्नुभयो – “एक पटकले मेरो धोको पुगेन, फेरि गर्मी सिजन सुरु भयो भने परिवारसहित नै आउने भनेका छौँ, हिमाल पनि नजिकैबाट देख्न पाइँदो रैछ, गाउँघरहरु पनि रमाइला देखिदा रहेछन् ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *