डम्मर बुढा मगर, बागलुङ
पश्चिम बागलुङ अहिलेसम्म जल विद्युतकै छ । तीन वर्ष अगाडि दोस्रो व्यापारीक केन्द्र मानिने बुर्तिबाङ बजारसम्म केन्द्रीय प्रशारण लाइन पुगे पनि ग्रामीण क्षेत्रमा भने पुग्न सकेको थिएन । अहिले विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रले गाउँ–गाउँसम्म प्रशारण लाइन पु¥याउन थालेको छ । ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ बजारदेखि अधिकारीचौरसम्म लाइन विस्तार गरि गत वर्ष माघ महिनामै विद्युत सेवा सुरु गरे पनि बोबाङ हुँदै ढोरपाटनसम्म पुग्न सकेको थिएन ।
अहिले बोबाङ, फल्लेखर हुँदै ढोरपाटन देउरालीसम्म पोल गाड्ने र तार टाग्ने काम भइ रहेको छ । तमानखोलामा पनि गत वर्षदेखिनै पोल गाड्न थालिए पनि अहिलेसम्म विद्युत बल्न सकेको छ ।
अहिले तार विस्तार गर्ने कार्य भइरहेको छ । निसीखोला क्षेत्रमा पनि बुर्तिबाङ बजारदेखि पोल गाड्ने र तार तान्ने कामले तीव्रता पाएको छ । जिल्ला सदरमुकाम बागलुङ बजारसँग जोडिएका पालिकाहरुमा केही वर्ष अगाडिनै केन्द्रीय लाइन पुगे पनि पश्चिम बागलुङका धेरै पालिकामा पुग्न सकेको थिएन । विद्युत प्राधिकरणले गत वर्षदेखिनै केन्द्रीय लाइन नपुगेका ठाउँलाई प्राथमिकतामा राखेर काम गरि रहेको छ । जल विद्युतसमेत नपुगेका ठाउँका धेरै नागरिकले अहिले पनि गोरका गुइँठा, टुकी र दियालो बालेर रात बिताउने गरेका छन् ।
टुकी विस्थापित गर्ने गरि प्राधिकरणले विद्युत सेवा पु¥याउन तदारुकता देखाएको छ । गाउँ–गाउँमा केन्द्रीय विद्युतका पोल तथा तार विस्तार गर्न थाले पनि स्थानीय पनि हर्षित बनेका छन् ।
जल विद्युतका भरमा रहेका हजारौँ नागरिक बर्खाका समयमा बाढी तथा पहिरोले नहर बगाई दिँदा अन्धकारबा बस्न बाध्य थिए । अब उक्त समस्याबाट मुक्त हुने अपेक्षा उनीहरुको छ । स्थानीय लघु जल विद्युत हरेक वर्ष बाढीले बगाउँदा आफूहरु अन्धकारमा बस्न बाध्य भएको भन्दै अब केन्द्रीय लाइन विस्तारपछि समस्या नहुने निसीखोला गाउँपालिका–१ का हुतराज घर्ती मगरले बताउनुभयो ।
जल विद्युतको बेला बेला मेसिन बिग्रिने र पहिरोले कुलो बगाई दिँदा महिनौँसम्म अन्धकारमा बस्नु परेको उहाँले सुनाउनुभयो । सरकारले ढिलै भए पनि दूर दराजका नागरिकलाई केन्द्रीय लाइनसँग जोड्न थालेको भन्दै घर्ती मगरले खुसी व्यक्ति गर्नुभयो ।
“घरमा बिजुली बत्ति आएको त्यस्तै आठ/दश वर्ष भए होला, त्यसभन्दा पहिला त जंगलमा गएर दियालो चिरेर ल्याउँथ्यौँ, दोकानमा गएर मट्टीतेल ल्याएर बाल्थ्यौँ, पछि लाइन आयो, लाइन आएपछि गाउँ घर उज्यालो बन्यो” घर्ती मगरले भन्नुभयो – “तर यो गाउँको बिजुलीको भरै हुँदो रैनछ, कति बेला जान्छ, कहिले बिग्रेर छ महिनासम्म बन्दैन, बिजुली बाल्न बानी परेपछि एक दिन लाइन् नआउँदा पनि अन्धकारमय हुन्छ, कति बेला आउला भन्ने आत्तुरी (आत्तिनु) हुन्थ्यो, केन्द्रीय लाइन आएपछि त समस्या हुँदैन भन्छन्, अब धेरै सहज होला ।”
स्थानीय जीतेन्द्र पुन मगरले जल विद्युत बिग्रिरहने हुँदा स्थानीयले सास्ती खेप्नु परेको बताउनुभयो । गाउँको लाइनको क्षमता निकै कम भएको हुँदा आवश्यक विद्युतीय सामग्रीहरु संचालन गर्न नपाएको उहाँको गुनासो छ । प्राधिकरणले अहिले केन्द्रीय लाइन ल्याउनका लागि काम गरेको भन्दै अब गाउँमा पनि ठूला–ठूला मेसिन, मिल लगायतका उपकरणहरु चलाउन सकिने पुन मगर बताउनुहुन्छ ।
उहाँले भन्नुभयो – “गाउँ घरमा जहिले पनि बिजुलीको अभाव हुन्छ, दिन भरी आउँदैन, साँझ परेपछि आएको बिजुलीले तीन वटा चिम पनि राम्रोसँग बाल्न सक्दैन, सहर बजारमा ठूला ठूला मेसिन चल्छन्, अब त गाउँमा पनि बजारकै जस्तै मेसिन चल्न सक्ने बिजुली आउँछ भन्छन्, छिटै आउला भन्ने लागेको छ, काम गरि रहेका छन्, गाउँमा बिजुली आएको त धेरै वर्ष भयो तर निरन्तर चल्दैन ।”
नेपाल विद्युत प्राधिकरणले यस वर्ष निसीखोला, तमानखोला र ढोरपाटनमा केन्द्रीय लाइन बाल्ने गरि काम गरि रहेको छ । पश्चिम बागलुङका लागि गलकोटमा सभ स्टेशन निमार्ण गरेर सुचारु गरेको र बुर्तिबाङमा पनि १३२ केभीको सभ स्टेशन निर्माण भइरहको छ । यस वर्ष नेपालको एक मात्रै सिकार आरक्ष ढोरपाटन उपत्यकासम्म केन्द्रीय लाइन पु¥याउने गरि काम गरि रहको नेपाल विद्युत प्राधिकरण बागलुङ प्रमुख पवन पौडेलले बताउनुभयो । अहिले तार टाग्ने काम तीव्र गतिमा भइ रहेको भन्दै एक महिना भित्रमा अहिले काम भइरहेको ठाउँमा विद्युत बाल्ने उहाँको भनाइ छ । ढोरपाटन उत्यका, निसीखोलाको देविस्थान र तमानखोलाको बोङ्गादोभानमा चाँडै केन्द्रीय लाइन सूचारु हुने पौडेल बताउनुहुन्छ । अघिल्लो वर्ष विनियोजन भएको १४ करोडका काम अहिले भइरहेको उहाँको भनाइ छ ।
अझै अन्धकारमा छ निसेलढोर
जिल्लाको निसीखोला गाउँपालिका–५ निसेलढोरमा अहिलेसम्म अन्धकारमा छ । बागलुङकै सबैभन्दा टाढाको गाउँका रुपमा रहेको निसेलढोर गाउँपालिकाको केन्द्रमा पुग्नै झण्डै एक दिन लाग्छ । गाउँपालिकादेखि सिधा सडक संजालले नजोडिएको हुँदा यहाँ पुग्न ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ बजार हुँदै जानु पर्छ । एक दशक पहिलेसम्म यहाँका स्थानीय जाडो याममा बेसी (निसीगाउँ) र गर्मी याममा लेक (निसेलढोर) गर्ने गर्थे । अहिले सिजन अनुसार बसाइँसराइ गर्न छोडेर स्थायी रुपमै स्थानीय यहाँ बस्ने गर्छन् । यहाँ करिब ६० घर परिवार स्थायी रुपमा बसोबास गर्ने गर्छन् ।
वर्षातको समयमा करिब चार सय बढी परिवार यहाँ बस्ने गर्छनछ्न भने बाह्रै महिना २५ घर परिवार यहान् बस्दै आएका छन् । निसेलढोर क्षेत्रमा कुँडे, मस, झुल लगायतका आधा दर्जन बढी गाउँहरु पर्छन् । यी कुनै पनि गाउँमा विद्युतको पहुँच छैन । भौगोलिक हिसाबले दुर्गममा हुँदा विकासमा पछाडि परेको यो गाउँ सम्बन्धित निकायको ध्यान पुग्न नसकेको स्थानीयको गुनासो छ । केही वर्ष अगाडि यहाँ मोटरबाटो पुगेपछि स्थानीयलाई यहाँ उत्पादन भएका स्याउ, सिमी, भाँगो र अन्य उत्पादित वस्तुहरु बजारसम्म पु¥याउन भने केही सहज भएको छ । तर गाडी नियमित चल्दैन । स्थानीय अहिले पनि टुकीकै भरमा रात बिताउने गर्दछन् ।