लोकमार्गको बिहुँ–घोडाबाँधे खण्ड अलपत्र पार्ने निर्माण कम्पनी कालो सूचीमा

डम्मर बुढा मगर, बागलुङ
राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अन्तरगत बागलुङको बिहुँ घोडाबाँधे खण्ड अलपत्र पार्ने निर्माण कम्पनी कालो सूचीमा परेको छ । कालोपत्रेका लागि वि.सं. २०७२ साल माघमा जिम्मा पाएको एम.पी/एस.सी.एफ/ई.सीसी जेभीले वर्षौँसम्म काम नगरेपछि कालो सूचीमा परेको हो । तीन वर्षमा निर्माण सम्पन्न गर्ने गरि सम्झौता गरे पनि आठ वर्षसम्म काम नगर्दा सार्वजनिक खरिद अनुगमन कार्यालयले पत्रिकामा सूचना प्रकाशन गरि कालो सूचीमा राखेको हो ।

सार्वजनिक खरिद ऐन र नियमावली अनुसार समयमै काम नगर्ने निर्माण व्यवसायीलाई एकदेखि तीन वर्षसम्म कालो सूचीमा राख्ने व्यवस्था छ । सोही अनुसार लोकमार्ग अलपत्र पार्ने निर्माण कम्पनीलाई अधिकतम समय तीन वर्ष कालो सूचीमा राखेको मध्यपहाडी लोकमार्ग कार्यालय पर्वतका सूचना अधिकारी इन्जिनियर पवन सुवेदीले जानकारी दिनुभयो । काठेखोला गाउँपालिकाको बिहुँदेखि घोडाबाँधेसम्म १२ किलोमिटर सडक एम.पी सितानी एण्ड सन्स पश्चिम बङ्गाल भारत सूर्य कन्स्ट्रक्सन फर्म सुर्खेत र एलिट कन्स्ट्रक्सन प्रालि सुकेधारा काठमाडौँले संयुक्त रुपमा ठेक्का लिएका थिए । हालसम्म सडकको जम्मा ७४ प्रतिशत प्रगति भएको इन्जिनियर सुवेदीको भनाइ छ ।

वि.सं. २०७५ माघमा सक्नु पर्ने पाँच पटक म्यादसम्म गरि अन्तिम समय वि.सं. २०८० असार ५ सम्म काम नगरेपछि लोकमार्ग कार्यालयले असार १० गते ठेक्का सम्झौता अन्त्य गरि कालो सूचिमा राख्न असार १५ गतेसार्वजनिक कार्यालयलाई खरिद अनुगमन पत्र पठाएको र सोही अनुसार अहिले काम भएको उहाँ बताउनुहुन्छ । यस खण्डमा पाँच किलोमिटर कालोपत्रे दुई किलोमिटरमा बेसको काम भएको भन्दै सात किलोमिटर कालोपत्रे गर्न बाँकी रहेको सुवेदीको भनाइ छ । अब अर्थ मन्त्रालयले स्रोत सुनिश्चितता गरे तत्काल नयाँ ठेक्का प्रक्रियाको काम अगाडि बड्ने उहाँ बताउनुहुन्छ ।

“लोकमार्गको यो खण्डमा लामो समयसम्म काम भएन, विभिन्न बहानामा निर्माण कम्पनीले काम गरेन, पाँच पटकसम्म म्याद पनि थपियो तर काम नगरेपछि अहिले कालो सूचीमा परेको छ, असारमा हामीहरुले सार्वजनिक खरिद अनुगमन कार्यालयलाई ठेक्का अन्त्य गरि कालो सूचीमा राख्नका लागि पत्र पठाएका थियौँ” इन्जिनियर सुवेदीले भन्नुभयो – “ठेक्का सम्झौता अन्त्य गर्न नियमसंग छैन भनेर निर्माण व्यवसायीले उच्च अदालत पाटनमा रिट दिएको, उक्त मुद्धाको अन्तिम फैसला भएर रिट खारेज भएपछि अहिले कालो सूचीमा परेको छ, ठेक्का सम्झौता अन्त्य भएपछि कार्यालयले नयाँ ठेक्काका लागि प्रक्रिया अगाडि बढाएको, बजेटको व्यवस्था भए लगत्तै काम सुरु हुन्छ ।”

लोकमार्ग हालसम्म कालेपत्रे नहुँदा हिउँदमा धुलो र बर्खामा हिलोले यात्रु तथा स्थानीय आजित छन् । लोकमार्ग कार्यालयले उपल्लाचौरदेखि घोडाबाँधे सम्मको २५ किलोमिटर सडक कालोपत्रेका लागि दुई निर्माण कम्पनीलाई जिम्मेवारी दिएको दियो । बागलुङको उपल्लाचौरदेखि १३ किलोमिटर पहिलो खण्ड र घोडाबाँधेसम्मको १२ किलोमिटर दोस्रो खण्ड गरि दुई निर्माण कम्पनीलाई जिम्मा दिइएको थियो ।

उपल्लाचौरदेखि १३ किलोमिटर सडकको भारत÷सिद्धिसाई जेवीसंग २०७३ माघमा दुई वर्षमा सक्नेगरी ठेक्का सम्झौता गरिएको थियो । अहिलेसम्म चार पटक म्याद थप गर्दासमेत बल्ल सात किलोमिटर सडक मात्रै कालोपत्रे गरेको छ भने अझै छ किमि सडक कालोपत्रे गर्न बाँकी रहेको छ । उक्त खण्डमा हाल तीव्र रुपमा काम भइ रहेको छ । ढिला काम गरेको हुँदा यो निर्माण कम्पनीलाई पनि कालो सूचीमा राख्नु पर्ने भन्दै स्थानीयले आवाज उठाउँदै आएका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *