इमेज पीडितले गरे कालो पट्टी बाँधेर प्रदर्शन

आदर्श अनलाइन, बागलुङ
इमेज बचत पीडितले जिल्ला प्रशासन अगाडि विरोध प्रदर्शन गरेका छन् । विगत ८ महिनादेखि सञ्चालनमा आउन नसकेको इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङका पीडित सदस्यहरु प्रहरी, प्रशासन र अदालतले न्याय दिन नसकेको भन्दै आइतबार आँखामा पट्टी बाँधेर मौन विरोध प्रदर्शन गरेका छन् ।

सहकारीको कार्यालय हल्लनचोकबाट प्रदर्शनमा उत्रिएका पीडितहरु प्रशासन कार्यालय अगाडि गएर मौन बसेका हुन् । इमेज सहकारीका पीडित सदस्य बचतकर्ताहरुले आगामी माघ ६ गते शनिबार विशेष साधारणसभा बोलाउने निर्णयसमेत गरेका हुन् । विभिन्न समयमा सहकारीका संस्थापक अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका नगर प्रमुख देवकुमार नेपाली सामाजिक सञ्जाल तथा मिडियामा आएर बचतकर्ताको बचत फिर्ता गर्ने भने पनि अहिलेसम्म सम्पर्कमा आउन नसकेको पीडितहरुको गुनासो छ ।

इमेज सहकारीका सदस्य बचतकर्ताहरुका तर्फबाट गत मंसिर ४ गते भेला गरी विशेष साधारणसभा बोलाइदिन सहकारी रजिष्ट्रारको कार्यालय पोखरामा अनुरोध गरेका थियौ, रजिष्ट्रार कार्यालयले कृषि तथा भूमि व्यवस्था मन्त्रालय गण्डकी प्रदेशमा पत्राचार गरेको लामो समय भइसक्दा पनि समस्या समाधान नभएपछि विभागीय मन्त्री र रजिष्ट्रार सहितको छलफल पछि विशेष साधारणसभा बोलाउने निर्णय गरिएको थियो ।

इमेज पीडित संघर्ष समितिका संयोजक डिलबहादुर कार्कीले यो समितिले सहकारीलाई जसरी पनि ब्युँताएर पीडितको रकम फिर्ता गर्ने बताउनुभयो । नेपालीले बागलुङ बजार र बुर्तिबाङका घर तथा जग्गा धितो राखेर बैंकबाट लिएको ऋण तिरेर सहकारीको नाममा उक्त घर तथा जग्गा ल्याउने, बैंकको ऋण तिरेर बाँकी रहेको सम्पती बचत कर्तालाई दिने गरी सहकारीको विशेष साधारण सभा बोलाउने निर्णय गरिएको उहाँको भनाइ छ ।

जेठ ५ गतेबाट फरार रहेका नेपालीलाई यथासिघ्र पक्राउ गरि बचतकर्ताको रकम फिर्ता गर्नु पर्ने र इमेज सहकारीलाई समस्याग्रस्त सहकारीको सूचिमा राख्न माग गर्दै चरणवद्ध आन्दोलन गरिरहेको संघर्ष समितिका माग सुनुवाई नभएको भन्दै नियम संगत रुपमा विशेष साधारणसभा आव्हान गरिएको पीडितहरुले बताएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *