डम्मर बुढा मगर, बागलङ
“वनको तरुल वनमै रह्यो, माघेसङ्क्रान्तिमा कसले ल्याउँछ ?, हामी बुढाबुढी भैयो, भिरमा गएर ल्याउन सक्दैनौँ, युवाहरु छैनन्, उ बेला हात पाखुरामा तागत थियो, अहिले घरबाट बाहिर निस्किने परान पनि छैन ।” निसीखोला गाउँपालिका–४ का ८६ वर्षीय धनबहादुर मगर दुई वर्ष अगाडिसम्म वनमा पुगेर मागेसङ्क्रान्तिका लागि तरुल खोजेर ल्याउनुहुन्थ्यो । गत वर्ष बारीमा काम गर्ने बेला लडेर खुट्ट भाँचियो । अहिले लौरोको सहारामा घर भित्र बाहिर गर्नुहुन्छ । माघेसङ्क्रान्ति घर आँगनमै भित्रियो तर गाउँमा तरुल खनेर ल्याउने युवा पाइँदैनन् ।
माघेसङ्क्रान्तिको विशेष परिकारका रुपमा लिइने तरुल वनबाट ल्याउनुको सट्ट बजारबाट किन्ने प्रचलन बढेको उहाँले बताउनुभयो । परम्परादेखि नै वन जंगलमा पशुचौपाया चरान जाने र माघेसङ्क्रान्तिका लागि एक महिना अगाडिनै तरुल खनेर ल्याउने गरे पनि अहिले त्यो प्रचलननै हराएको मगरले बताउनुभयो । पहिले गाउँघरमा तरुल रोप्ने चलन नभएको तर जंगलबाट ल्याएर खाने परम्परा भए पनि अचेल बारीमा पनि लगाउने गरेको उहाँको भनाइ छ । पछिल्लो समय बारीमा पनि नलगाउने भन्दै बजारबाट किनेर ल्याउने गरेको मगरले बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ – “जुग जमाना सबै फेरिए, हाम्रो पालामा वन जंगलमा पाइने चिज अहिले बजारबाट किनेर ल्याउँछन्, तरुल त वन जंगलमा जहाँ ओसिलो ठाउँ छ, त्यही फल्ने गथ्र्यो, गाई वस्तु चराउन जाने, दिनभरी तरुल खन्नेर साँझ एक बोरा बनाएर ल्याउने गथ्यौँ, पछिपछि विकासी तरुल बारीको कुनामा पनि लगाएर खाने गर्थे, तर अहिले बजारबाट लिएर आउँछन्, मान्छेहरु परनिर्भर भए, वनमा जाने हो भने फ्रिमा जति पनि तरुल खनेर ल्याउन सकिन्थ्यो ।”
ढोरपाटन नगरपालिका–३ का पिताम्बर खत्रीले अचेल धेरै जसो मान्छेले बजारबाटै तरुल किनेर ल्याउने गरेको भन्दै स्थानीय स्तरमा उत्पादन गर्न छोडेको बताउनुभयो । वन तरुल जस्तो स्वादिष्ट र स्वास्थ्यका लागि फाइदाजनक बजारमा पाइने तरुल नहुने उहाँको भनाइ छ । पहिले वनमा पुगेर धेरैले तरुल ल्याउने हुँदा टाढा–टाढा पुग्नु परेको सुनाउँदै अहिले गाउँमा कम मात्रै बस्ने हुँदा नजिकमा पनि प्रसस्तै पाइने खत्रीले बताउनुहुन्छ ।
“गाउँमा कोही बस्ने भएन, पहिले टाढा–टाढा वन जंगलमा पाइने तरुल अहिले नजिकै पनि पाइन थालेका छन्, तर घर नजिकैको तरुल खन्नका गाह्रो मानेर बजारमा गएर किटनासक औषधी हालेका तरुल किनेर ल्याउँछन्” उहाँले भन्नुभयो – “मैले यसपाली २० किलो जति वन तरुल ल्याएर छरछिमेकीसँग बाँडे, यति भएपछि माघेसङ्क्रान्ति राम्रैसँग बनाइएला भन्ने लागेको छ, अरुले त्यत्ति महत्व हुँदैन, माघेसङ्क्रान्तिमा यसको महत्व धेरै हुन्छ ।”
बजारमा आयातित तरुलको माग निकै बढेको स्थानीय व्यवसायी थमबहादुर क्षेत्रीले बताउनुभयो । एक हप्ता अगाडि बुटवलबाट दुई क्विनटल तरुल ल्याए पनि पु¥याउन नसकेको बताउनुभयो । पहिले गाउँमा किसानले उत्पादन गरे बेच्न ल्याउने गरेकोमा अहिले भने आइनै छोडेको उहाँको भनाइ छ । बजारमा ५० देखि ९० रुपैयाँसम्म तरुलको किनबेच हुने क्षेत्रीले बताउनुभयो । एक हप्ता अगाडिसम्म ४० रुपैयाँमै सेतो तरुल पाइने गरेको भन्दै अहिले ८० रुपैयाँसम्म पुगेको बताउनुभयो ।