काम्लो बेचेरै घर खर्च

आदर्श अनलाइन, बागलुङ

भेडाको उनलाई प्रशोधन गरी तानमा बुनेर बनाइएको काम्लो धेरैका लागि रुचिकर कपडा लाग्न सक्छ । पछिल्लो पुस्ताले भेडाको उनबाट बनेको काम्लो र घुम देख्नै पाएका छैनन् । बागलुङको पश्चिम बागलुङमा भने काम्लोको अझै कारोबार हुँदै आएको छ ।

काम्लोका भारी पिठ्युमा बोकेर बागलुङको बुर्तिवाङ बजार बिक्रिका लागि आउनुभएको बिनमाया पुन जाडो याममा काम्लोको व्यापारका लागि बिभिन्न स्थान पुग्नुहुन्छ । बागलुङको बुर्तिवाङ बजारमा काम्लो बिक्रिका लागि पूर्वी रुकुमको लुकुम गाउँबाट आउनुएकी बिन माया पुनले गर्मी याममा निर्माण गर्नुभएको काम्लो बिक्रिका लागि जाडो याममा बजार खोज्दै हिड्नुहुन्छ ।

उहाँले बागलुङको पश्चिम क्षेत्र निसीखोला, तमानखोला हुँदै बुर्तिवाङ बजार सम्म पश्चिम रुमममा उत्पादन भएको काम्लो बिक्रिका लागि आउने गरेको छ । “पहिला जस्तो बजार त छैन, तर काम्लोको महत्व बुझेकाले मात्रै खरिद गर्छन, अन्यले महङ्गो भएको प्रतिक्रिया दिन्छन्” पुनले भन्नुभयो “घरमा बसेबियालो हुन्छ, काम गरिरहेको बानी नगरी बस्न सकिदैन, भेडा पालिएकै हुन्छ, तिनै भेडाको उनलाई काम्लो बनाएर विक्रि गर्दा कम्तिमा घर खर्च चल्छ ।”

लुकुम गाउँबाट काम्लो बिक्रि गर्नकै लागि उहाँ वर्षेनी छिमेकी जिल्लाको बुर्तिवाङ बजारमा आउने गर्नुभएको छ । उहाँले काम्लोको महत्व घट्दा मुल्य भने ओरालो लागेको जानकारी दिनुभयो ।

“काम्लो कम बन्न थालेको छ, उनलाई प्रशोधन गर्नका लागि धेरै मेहनत गर्नुपर्दछ, तर काम्लो र घुमले पानी समेत छेक्ने गरेको छ, वर्खामा घुम उडेर काम गर्न समेत सकिन्छ, काम्लोलाई सिलाएर घुम समेत बनाउनदा जाडोमा निकै तातो हुन्छ” उहाँले भन्नुभयो “एउटा काम्लोलाई दुई हजार ५०० मा बिक्रि गर्दै आएकी छु जुन मुल्य सामान्य ज्याला मात्रै हो नाफा छैन ।”

काम्लोको भारी बोक्दै बुर्तिवाङ बजारमा हिड्नुभएको पुनले बागलुङ बजारबाट अवलोकन भ्रमणका लागि बुर्तिवाङ पुगेका ग्राहकको मन जित्नुभयो । काम्लोको महत्व बुझ्नुभएको बागलुङ नगरपालिका–१० भकुण्डेका उदित थापाले दुई हजार ५०० मा काम्लो किन्नुभयो ।

उहाँले काम्लो किनेको देखेपछि संगै गएकाहरुले थापालाई भने “एउटा प्लाष्टिकको गुन्द्रीलाई पाँच सयमा पाइन्छ यस्तो खस्रो काम्लोलाई दुई हजार ५०० हाल्ने ?” थापाले उत्तर दिदै भन्नुभयो “भेडाको उनबाट बनेको काम्लोको महत्व छुट्टै छ, यो त धेरै सस्तोमा पाए त्यसैले खरिद गरे ।”

थापाले काम्लो वर्षौ टिक्ने र तातो समेत हुँनेभएकाले खरिद गरेको बताउनुभयो । “दुई हजार ५०० मा प्लाष्टिकका पाँच ओटा गुन्द्री आउलान तर यसले कुनै अर्थ राख्दैन” थापाले भन्नुभयो “पहिला मैले पाँच हजार मुल्य पर्ने सुनेको थिए, अहिले सस्तो लागेर किनेको हुँ, मैले किनेको देखेपछि ताराखोला गाउँपालिकाका उपाध्यक्ष भिम बहादुर रोकाले समेत काम्लो खरिद गर्नुभयो ।”

ताराखोला गाउँपालिका उपाध्यक्ष भीम बहादुर रोका बुर्तिवाङ बजारमा गएको समयमा बिन माया पुन संगै दुई हजार ५०० मा काम्लो खरिद गर्नुभएको हो । उहाँले काम्लोलाई लगेर घुम बनाएर ओढ्ने भन्दै आफूलाई उनको काम्लोको निकै महत्व लाग्ने गरेको बताउनुभयो ।

“पाँच हजारसम्म पर्छ एउटा घुम(उनको कोट)लाई ताराखोलामा तर यहाँ दुई हजार ५०० मा काम्लो पाइयो काम्लोलाई घुम बनाउन सजिलै सकिन्छ त्यसैले खरिद गर्ने रहर जाग्यो” रोकाले भन्नुभयो “उनबाट प्रशोधन गरिएको काम्लोको महत्व प्रति थोरै मानिस मात्रै जानकार छन्, पुख्यौली हस्तकलालाई प्रोत्साहन समेत गर्न आवश्यक छ ।”

आधुनिकता संगै रेडिमेट कपडाको प्रयोगले हातले निर्माण गरिएको काम्लो प्रयोग गर्नेको संख्या घटिरहेको छ । नेपालको उच्च पहाडी तथा पहाडी क्षेत्रमा पालिने भेडाको उनलाई प्रशोधन गरी काम्लो, बख्खु र हडौला बनाइन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *