कला र संस्कृतिलाई पर्यटनसँग जोड्नु पर्छ–मन्त्री थापा

आदर्श अनलाइन, बागलुङ
गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दीपेन्द्रबहादुर थापाले स्थानीय कला, संस्कृति र परम्परालाई पर्यटनसँग जोड्नु पर्ने बताउनु भएको छ । बुधबार निसीखोला गाउँपालिका–६ भल्कोटमा आयोजित माघे सङ्क्रान्ति मेला तथा पुतली नाच कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री थापाले पछिल्लो समय मौलिक संस्कृति हराउँदै गएको हुँदा संरक्षण गर्नु पर्ने बताउनुभयो ।

सयौँ वर्ष पुराना संस्कृतिहरुलाई संरक्षण गरि पर्यटक आकर्षण गर्न सकिने उहाँको भनाइ छ । बुढापाकामा भएको ज्ञान, सीप र कलालाई नयाँ पुस्ताले सिकेर संरक्षण गर्नु पर्ने मन्त्री थापाले बताउनुभयो । बागलुङमा थुप्रै कला संस्कृतिहरु लोपोन्मुख अवस्थामा पुगेको भन्दै त्यसको संरक्षण गर्ने जिम्मा युवाको काँधमा रहेको भन्दै प्रदेश सरकार पनि यस तर्फ लागेको उहाँको भनाइ छ ।

मन्त्री थापाले भन्नुभयो – “हाम्रा पाका पुर्खाहरुले जोगाई राखेको कला, संस्कृति र परम्परा हराउने स्थितीमा पुगेका छन्, ति त हाम्रा सम्पत्ति हुन्, पहिचान हुन्, त्यसले गर्दा खेरी हामीहरु यसको संरक्षणमा लाग्नु पर्छ, यस्ता मौलिकतालाई पर्यटनसँग जोडेर आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्न सकिन्छ, गण्डकी प्रदेश सरकार पनि पर्यटन प्रवद्र्धन गर्न र संस्कृति बचाउन लागेको छ ।”

मन्त्री थापाले प्रदेश सरकारले गाँजा र स्थानीय स्तरमा उत्पादन हुने रक्सीलाई ‘ब्राण्डेड’ बनाउनका लागि छलफल गरि रहेको समेत बताउनुभयो । यसले नागरिकको जनजीवन उकास्न र रोजगार सिर्जना गर्नका लागि महत्वपूर्ण भूमिका खेल्ने मन्त्री थापाको भनाइ छ ।

कार्यक्रममा निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्ती मगर, तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढा मगर, ढोरपाटन नगरपालिकाका कार्यवाहक नगर प्रमुख धनबहादुर कायत, निसीखोला गाउँपालिकाका उपाध्यक्ष प्रेमबहादुर घर्ती मगर, वडा नम्बर ६ का अध्यक्ष हेमबहादुर बुढा मगर, नेकपा एमालेका जिल्ला सदस्य रुद्रप्रसाद पौडेल, स्थानीय थमन बुढा मगर लगायतले मन्तव्य राख्नु भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *