जैमिनीमा बाँझो जग्गा बढ्दो

आदर्श अनलाइन, बागलुङ
ऋणत्मक जनसंख्या वृद्धि हुँदै गएको बागलुङको जैमिनी नगरपालिकाका गाउँ–गाउँका खेतबारी पछिल्लो समय बाँझिन थालेका छन् । बसाइँसराइ तीव्र हुँदै गएपछि जैमिनी नगरपालिकामा खेतीयोग्य जमिन क्रमशः बाँझिन थालेको हो । खेतीयोग्य जमिन बाँझो हुन थालेपछि यहाँका घर आँगनमा रुख बिरुवा उम्रन थालेका छन् । रुख विरुवा उम्रन र बढ्न थालेपछि बाँदरले समेत हैरान पार्न थालेको छ ।

जैमिनी नगरपालिका–५ बिनामारेमा रहेको वडा कार्यालय आसपमासको बारी बाँझो छ । पछिल्लो चार÷पाँच वर्षदेखि जग्गाधनी बसाइँसराइ गरेर सहर गएपछि यहाँको जग्गा बाँझो रहेको वडा अध्यक्ष ठगेन्द्र बहादुर थापा क्षेत्रीले जानकारी दिनुभयो । क्षेत्रीका अनुसार वडा कार्यालय अघिको खेतीयोग्य जग्गा सिंचाईको अभावमा पाँच वर्ष अघि मात्रै बारीमा परिणत गरिएको थियो ।

उक्त जग्गाका धनी पोखरा बसाइँसराइ गरेर गएपछि जग्गा हेरचाहको जिम्मा लिएकाले समेत खेती नसकेपछि जग्गा बाँझो बन्न थालेको क्षेत्रीको भनाई छ । “बिनामारेको वडा कार्यालय परिसरको जग्गा त उदाहारण मात्रै हो, जैमिनीमा धेरै जग्गा बाँझो हुन थालेको छ, केही जग्गा बसाइँसराइका कारणले बाँझिन थालेको हो भने, केही जग्गा बाँदर आतंकको कारण हो” क्षेत्रीले भन्नुभयो नगरपालिकाले बाँझो जग्गामा एकिकृत खेती गर्न पढ्दै कमाउदै, लिड विद्यालय र एक विद्यालय एक उत्पादन कार्यक्रम ल्याएको छ ।”

“वडाका अधिकाशं घरहरु रित्तै छन्, गाउँघरमा मानिसको संख्या कम हुन थालेपछि बाँदर बढ्न थाले, गाउँमा बस्नेहरुलाई समेत बाँदको आतंकको कारण खेती गर्न समस्या हुन थाल्यो,” क्षेत्रीले भन्नुभयो “बसाइँ सर्नेहरु सरिसके, गाउँमा बाँकी रहेकालाई समेत बाँदरले बसाइँसराइका लागि बाध्य बनाउँदै छ ।”

बिनामारेका कृषक पवन सुवेदीले बाँझो जग्गाले नगरबासीलाई थप बसाइँसराइ उन्मुख गराएको बताउनु हुन्छ । सिंचाईको सुविधा नभएको क्षेत्रमा जग्गा बाँझिदै गएको बताउदै सुवेदीले जग्गा बाँझिन थालेपछि बाँदर बढेको सुनाउनुभयो । सुवेदीका अनुसार नगरपालिकाले बाँदर नियन्त्रण गर्ने र खेतीयोग्य जग्गामा एकिकृत खेती प्रणालीको अवधारण ल्याउन जरुरी छ ।

“जैमिनीमा सडक बन्दै छ, विद्युत आयो, स्वास्थ्य सेवा विस्तार हुँदै छ तर, जग्गा बाँझिदै छ । बाँदरले गाउँका मान्छे सहर तर्फ लखेट्दै छ” सुवेदीले भन्नुभयो “बसाइँसराइले जनसंख्या घट्दै गएपछि बाँदरको संख्यामा वृद्धि भयो, अहिले सामान्य नागरिक, गरिब तथा विपन्न मात्रै गाउँमा छन्, हुने खानीहरु बसाइँसराइ गरेर बजार तर्फ लागे ।”

जैमिनी नगरपालिकाको गाउँ–गाउँको जग्गा बाँझिन थालेपछि नगरपालिकाले विज्ञ सम्मेलनमार्फत चक्रिय नगदेबालीको अवधारण ल्याएको जैमिनी नगरपालिकाका नगर प्रमुख नर बहादुर पुनले बताउनुभयो ।

“विद्यालयले एक÷एक उत्पादन गर्न आवश्यक छ, स्वास्थ्य र शिक्षामा केन्द्रित भएपछि केही मात्रमा बसाइँसराइ रोकिन्छ भन्ने छ, बाँझो जग्गालाई एकिकृत गर्ने भिरालो जग्गामा उन्नत जातको घाँस लगाउने, फलफूल खेती विस्तार गर्ने योजना हो” पुनले भन्नुभयो “अब निर्वाहमुखी कृषि प्रणालीलाई व्यवसायिक बनाउन प्रेरिता गर्ने कार्यक्रम ल्याउने छौँ, बजारीकरणमा पालिकाले सघाउनेछ ।”

नगरपालिका भित्रको कृषि सडकको स्तरोन्नती भएमा मात्रै जैमिनीमा उत्पादन भएको तरकारी र सुन्तला बजारीकरणमा सहज हुने स्थानीय किसान भोज बहादुर बोहोराले बताउनुभयो । बोहोराका अनुसार सिंचाईको सुविधा नभएका कारण धेरै जग्गामा यहाँका स्थानीयले खेती किसानी गर्न नसकेको बताउदैँ भिरालो सानो बारीमा फलफूल र घाँस खेती गर्ने र चक्ला फाँटमा मात्रै एकिकृत खेती प्रणाली अपनाउन आवश्यक रहेको छ ।

जैमिनी नगरपालिकाले बाँदर भुलाउन मङ्की पार्क बनाउन बजेट नै बिनियोजन गरिसकेको नगर उपप्रमुख हरीहर शर्माले जानकारी दिनुभयो । शर्माका अनुसार नगरपालिकालाई कृषि र पर्यटनको क्षेत्रबाट मात्रै किास गर्न सम्भव रहेको विज्ञको सुझावका आधारमा नीति बनाएर अगाढी बढेको बताउनुभयो ।

उपप्रमुख शर्माका अनुसार आगमी कार्यकालसम्म नगरपालिकालाई कृषि र पर्यटनको बाटो समृद्ध तर्फ डो¥याउने गरी आधार निर्माण गर्न नगरपालिका लागि परेको छ । नेपालको जनगणना २०७८ अनुसार ऋणत्मक जनसंख्या वृद्धि भएको जैमिनी नगरपाकिलामा बसाइँसराइ प्रमुख समस्याका रुपमा रहेको छ ।

यो पनि पढ्नुहोस्