सडकले सहज बन्दै कालभैरवको यात्रा


खेमराज गौतम, बागलुङ

कुनै सयम बागलुङ सदरमुकाम देखि मुश्किलले दुई घण्टामा पुग्ने प्रसिद्ध बलेवा कालभैरव मन्दिरमा अहिले एक घण्टा भित्रै पुगिन्छ ।

सडकमार्गको स्तरोन्नतीका कारण बलेवा भैरवस्थानको यात्रा सहज भएको छ । चार किमी सडक कालोपत्र र तीन किलोमिटर सडक स्तरोन्नती भएसंगै अहिले भैरवस्थापनको यात्राको समय समेत छोटिएको छ ।

भैरवस्थानमा अहिले जीप मात्रै हैन बस र ट्क्यासी समेत पुग्न थालेका छन् । सडक स्तरोन्नती भएसंगै त्यहाँ पुग्ने भक्तजनलाई समेत सहज भएको मात्रै छैन भक्तजनहरुको संख्यामा समेत वृद्धि भएको पाइएको छ । २०७९ साल अघि सम्म मुश्किलले जीप मात्रै गुड्ने उक्त सडकमा अहिले सररर ट्याक्सी गुड्न थालेका छन् ।

पहिला धेरै भक्तजनहरु हिडेरै भैरवस्थान आउने गरेकोमा सडक आएपछि बाटोको असहजताले भक्तजनहरुलाई निकै समस्या बनाएपनि अहिले भैरवस्थान आउने सडक स्तरोन्नतीसंगै ट्याक्सी र बस समेत आउन थालेको वलेबा भैरवस्थानका स्थानीय देवि प्रसाद पाठकले बताउनुभयो ।

“अहिले हिडेर भक्तजनहरु आउने कुरा भएन, सडक दुई वर्ष अघि सम्म राम्रो थिएन, घरमुनी सवारीसाधन फसेर हैरान हुन्थ्यो, मन्दिर आउनै मुश्किल भएपछि भक्तजनहरु समेत कम आउन थालेका थिए” स्थानीय पाठकले भन्नुभयो “अहिले त ट्याक्सी र कार समेत आउन थालेको छ आधा भन्दा धेरै बाटो त कालोपत्रे भइसक्यो, सडक नै विकासको मुख्य ढोका रहेछ, अहिले भैरवस्थानको महिमा सडकका कारण ह्वातै बढेको छ ।”
जलकिनी घुम्ती देखि जलजला हुँदै भैरवस्थान पुग्ने ९ किलोमिटर सडक मध्ये अहिले ४ किलोमिटर सडक कालोपत्र भइसकेको छ भने थप दुई किलोमिटर सडक कालोपत्रेका लागि ठेक्कामा गएको छ, अन्य तीन किमि सडक समेत मर्मत संभार गरिएको छ ।

२०७९ सालमा जलकीनी घुम्टी देखि जलजला सम्मको तीन किलोमिटर सडक नेपाल सरकारको समपुरक अनुदान र बागलुङ नगरपालिकाको साझेदारीमा कालोपत्र गरिएको थियो ।

संघीय सरकारको ६० प्रतिशत र स्थानीय सरकार बागलुङ नगरपालिकाको ४० प्रतिशत साझेदारीमा उक्त सडक रु. ६ करोड नौ लाखमा कालोपत्र भएको बागलुङ नगरपालिकाका उपप्रमुख राज खड्काले बताउनुभयो ।

उहाँले बागलुङ नगरपालिकाले लगानी गरेर कालोपत्र गरेको हाल सम्मकै धेरै बजेटको सडक भैरवस्थान जाने सडक रहेको जानकारी दिनुभयो ।

उक्त सडकलाई भैरवस्थानसम्मै पु¥याउन पहल भइरहेको खड्काले बताउनुभयो ।
गत वर्ष समेत संघीय सरकार अन्र्तगत सघन शहरी तथा भवन निर्माण आयोजना अन्र्तगत रु. ७९ लाख ६८ हजारमा एक किलोमिटर कालोपत्रे र स्तरोन्नती गरिएकोमा चालु आर्थिक वर्षमा समेत दुई करोड ५० लाख बजेट बिनियोजन भएर ठेक्कामा जान थालेको छ ।

उक्त बजेटबाट चालु आर्थिक वर्षमानै ओखरबोट देखि धापाखोला सम्मको दुई किलोमिटर सडक कालोपत्र हुँनेछ ।

धापाखोला देखि भैरवस्थान सम्मको बाँकी तीन किलोमिटर सडक समेत मर्मत संभार गर्नका लागि गण्डकी प्रदेशले रु. ५० लाख बजेट बिनियोजन गरेको गण्डकी प्रदेश सदस्य कृष्ण पाठकले जानकारी दिनुभयो ।

पाठकले संघीय सरकारले निरन्तर बजेट बिनियोजन गरिरहेकाले भैरवस्थान सम्म कालोपत्र सडक दुई वर्षमै पुग्नेमा विश्वस्त हुनुभयो । उहाँले गण्डकी प्रदेशले पुन सराङ्गी देखि भैरवस्थान पुग्ने सडक कालोपत्रका लागि बजेट बिनियोजनको तयारीमा रहेको बताउनुभयो ।

यो सडक कालोपत्र भएमा भैरवस्थान मन्दिर राष्ट्रिय राजमार्ग कालीगण्डकी करिडोर संग समेत जोडिने छ । धार्मिक पर्यटकीय क्षेत्र भैवस्थानलाई बागलुङ बजारसँग कालोपत्र सडकले जोड्ने योजना आगमी दुई वर्ष भित्रै पुरा हुँने भैरवस्थान मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र ढकालले बताउनुभयो ।

“धापाखोला देखि भैरवस्थान सम्मको सडकमा केही समस्या थियो, बागलुङ नगरपालिकाले हालै मर्मत गरेर ट्याक्सी हिड्न मिल्ने बनाएको छ, गण्डकी प्रदेशबाट आउने रु. ५० लाखले यही सडक मर्मत गरिन्छ” ढकालले भन्नुभयो “यो वर्ष धापाखोलासम्म कालोपत्र हुने भयो, त्यसपछिको तीन किलोमिटर सडकमा समेत संघबाटै बजेट आउने गरी पहल भइरहेको छ, गण्डकी प्रदेशले समेत यो सडकलाई प्राथमिकताका साथ स्तरोन्नतीका लागि आश्वासन दिएको छ, अहिले सडकले सहज भएपछि भैरव स्थानमा शनिबार र मंगलबार दर्शनार्थीको भीड नै लाग्ने गरेको छ ।”

छ वर्षदेखि व्यवस्थापन समिति नभएको भैरवस्थान मन्दिरमा ८ महिना यता मात्रै व्यवस्थापन समिति बनेको छ । नयाँ व्यवस्थापन समितिले पूर्वाधारको काममा समेत तिब्रता दिएकोसमितिका अध्यक्ष ढकालको भनाई छ ।

भैरवस्थान मन्दिर वरपर तारबार गर्ने, व्यवस्थापन समितिको कार्यालय निर्माण गर्ने कार्य अहिले भइरहेको छ । भैरवस्थान आउने सडक सहज बनेपछि यहाँ आउने भक्तजनहरु बढेपछि भक्तजनहरुका लागि आवश्यक पूर्वाधारहरु समेत थपिन थालेको उहाँको भनाई छ । भक्तजनहरुको सवारीसाधनका लागि पार्कीको समेत व्यवस्था मिलाइएको छ ।

भैरवस्थान मन्दिर पुग्ने सडक सहज बनेपछि मुलाबारी, पर्यटकीय गाउँ भकुण्डे र भकुण्डे भ्यूटावर लगायतका पर्यटकीय क्षेत्रमा पुग्न समेत पर्यटकलाई सहज भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *