जाडो बढेपछि छैन ढोरपाटनमा चहलपहल

डम्मर बुढा मगर, बागलुङ
पुस पहिलो हप्तासम्म पर्यटकले भरीभराउ ढोरपाटन उपत्यका यति बेला चिसोका कारण सुनसान बनेको छ । प्रचारप्रसार र सडक पहुँचको कारण पछिल्लो समय पर्यटकको रोजाईमा परेको नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा फागुन लागेपछि मात्रै चहलपहल बढ्ने छ । पर्यटक आउन छोडेपछि होटल व्यवसाय पनि ठप्प भएको छ । चिसो नसकिएसम्म पर्यटक भित्राउन नसकिने ढोरपाटन नगरपालिका–९ पाखाथरका होटल व्यवसायी गंगाबहादुर भण्डारीले बताउनुभयो । चिसोका कारण अधिकांश स्थानीय बोबाङ, अधिकारीचौर लगायत तल्लो क्षेत्रमा झरेको उहाँको भनाइ छ ।

अहिले फाट्टफुट्ट पर्यटक आए पनि बास नबस्ने भण्डारीले बताउनुभयो । कतिपय होटल व्यवसायीहरु पनि चिसोका कारण बेसी झरेको उहाँ बताउनुहुन्छ । विगतको तुलनामा यस वर्ष उल्लेख्य पर्यटक ढोरपाटन आएको भन्दै यो बेसिजन भएको हुँदा पर्यटकको संख्या न्यून रहेको उहाँको भनाइ छ । यो सिजनमा हिउ परेको भए धेरै पर्यटक भित्राउन सकिने भण्डारीको भनाइ छ । लामो समयदेखि वर्षा नभएको हुँदा चिसो अत्याधिक रहेको उहाँ बताउनुहुन्छ ।

“चिसो निकै छ, पाहुनाहरु आउँदैनन्, होटल व्यवसायीहरु यत्तिकै बसेका छन्, पौष पहिलो हप्तादेखि आउन छोडेका हुन्, केही उत्तरगंगा बराह मन्दिरसम्म आएर दर्शन गर्ने गरेका छन्, तर बास बस्ने गरेर आएका छैनन्, हिउँ परेपछि धेरै आउने थिए, अहिले हिउँ पनि परेन, अब फागुन लागेपछि आउँछन्, त्यस बेलासम्म चिसो घट्छ” भण्डारीले भन्नुभयो – “यहाँ वरपर बस्नेहरु पनि चिसो बढेको हुँदा तल बेसी तिर गएका छन्, गर्मी सिजन सुरु भयो भने बल्ल आउँछन् ।”

दुई वर्ष अगाडिसम्म ढोरपाटन पुग्ने पर्यटकले व्यवस्थित बास बस्ने ठाउँ पाउँदैनथे । अहिले ढोरपाटन उपत्यकामै ३३ होटल र घरबास संचालनमा आएको हुँदा धेरै सहज भएको छ । बुर्तिबाङ बजारदेखि करिब ३२ किलोमिटरको दूरीमा रहेको ढोरपाटन कच्ची सडकका कारण यात्रा भने त्यत्ति सहज छैन । पुस पहिलो सातासम्म दैनिक करिब तीन सय पर्यटक दैनिक आउने गरेको अर्का होटल व्यवसायी श्यामलाल घिमिरेले बताउनुभयो । चिसोका कारण धारोमै पानी जम्ने गरेको र पाहुन पनि नआउँदा खाली रहेको उहाँको भनाइ छ । पाहुना नआएपछि आफू पनि बेसी झर्ने र बेला–बेला ढोरपाटन उक्लिने गरेको घिमिरे बताउनुहुन्छ ।

उहाँले भन्नुभयो – “शनिरबा र शुक्रबारका दिन अलिअलि आउँछन् तर, धेरै जसो फर्कि हाल्ने हुँदा होटलमा पाहुँदा हुँदैनन्, केही बसे पनि होटल धेरै छन्, सबै तिर जाँदा एउटा पाहुन पनि पुग्दैनन्, चिसो बढी छ, विहान उठ्दा धारामा पानी जमेको हुन्छ, चिसोले गर्दा धेरै मान्छे आएका छैनन्, अहिले होटल बन्द गरे जस्तै भएको छ, मेरो पनि घर बेसीमै भएको हुँदा चिसो छल्नलाई बेसी तिर झर्ने गरेको छु, पाहुना आएर फोन गरे भने माथि (ढोरपाटन) उक्लिने गरेको छु ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *