इमेज सहकारीकी कोषाध्यक्ष लक्ष्मी सुनार काठमााडौँमा पक्राउ

आदर्श अनलाइन, बागलुङ
इमेज बचत तथा ऋण सहकारी संस्थाको सञ्चालक समितिकी कोषाध्यक्ष लक्ष्मी सेन सुनार पक्राउ परेकी छिन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले निसीखोला गाउँपालिका–३ स्थायी घर रहेकी २७ वर्षीया कोषाध्यक्ष सुनारलाई बिहीबार ललितपुरको धोबीघाटबाट पक्राउ गरेको हो ।

सो सहकारीमा बचतकर्ताको रकम हिनामिना गरेको आरोप लागेका ढोरपाटन नगरपालिकाका मेयरसमेत रहेका सहकारीका अध्यक्ष देवकुमार नेपाली र कोषाध्यक्ष सुनारसमेत ८ जना फरार थिए । सीआइबीले कोषाध्यक्ष सुनारलाई बिहीबार पक्राउ गरी अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बागलुङ पठाइएको सीआइबीका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए ।

सो सहकारी हिनामिनामा सरिता तिमल्सेना (कँडेल) समेतले अध्यक्ष नेपालीसहित ८ जना विरुद्धको मुद्दामा बागलुङ जिल्ला अदालतले गत जेठ २४ गते नै पक्राउ पुर्जी जारी गरेको थियो । मेयर नेपालीसहित सञ्चालक समितिका पदाधिकारीहरु बैशाखदेखि नै फरार छन् । सो सहकारीमा १ हजार ५ सय ५० भन्दा धेरै बचतकर्ताको १ अर्ब ६० करोड भन्दा धेरै रकम हिनामिना भएको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक मदन केसीले कोषाध्यक्ष सुनार काठमाडौँमा पक्राउ भएको जानकारी जिल्लामा आएको भन्दै भोलीसम्म बागलुङ ल्याइने उहाँको भनाइ छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *