‘बाह्रै महिना सडक सञ्चालनका लागि स्थानीय तह र प्रदेश सरकारबीच सहकार्य जरुरी’

आदर्श अनलाइन, बागलुङ
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशका अधिकांश ठाउँमा मोटरेबल सडक पुगेको भन्दै ती सडकलाई बाह्रै महिना सञ्चालनका लागि स्थानीय तह र प्रदेश सरकारबीच सहकार्य हुनुपर्नेमा जोड दिएका छन् ।

बागलुङको ढोरपाटन नगरपालिका–६ दोगाडीमा मोटरेलपुलको उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले सडकको पहुँचसँगै विकट गाउँमा पनि विकास देखिन थालेको बताए । उनले अब गाउँमा उत्पादन हुने वस्तु बजारमा आपूर्तिका लागि सहज समेत भएको उल्लेख गरे ।

“धेरैले सङघीय व्यवस्थामाथि प्रश्न उठाइ रहेका छन्, कार्यान्वयनमा केही समस्या पक्कै छन्”, उनले भने, “तर सङ्घीय व्यवस्थाकै कारण दूरदराजसम्म विकास पुगेको छ ।” उनले अब हरेक नागरिक उद्यमशीलतासँग जोडिनुपर्नेमा जोड दिँदै गाउँमा अथाह सम्भावना भएको बताए । “गाउँमा भएको सम्भावनालाई अवसरमा बदल्नुपर्छ, यसका लागि प्रदेश सरकार तयार छ”, उनले भने, “नागरिकका हरेक समस्या समाधानका लागि तीनै तहको सरकार प्रतिबद्ध हुन आवश्यक छ ।”

ढोरपाटन पर्यटनका हिसाबले निकै सम्भावना बोकेको ठाउँ भएको भन्दै यस क्षेत्रको विकासका लागि प्रदेश सरकारले काम गरिरहेको उनको भनाइ थियो । अहिले ढोरपाटनसम्म जोड्ने सडकको अवस्था खराब हुँदा पर्यटक र स्थानीयले दुःख पाउने गरेको भन्दै छिट्टै समस्या समाधान हुने उनको भनाइ थियो । ढोरपाटनसम्म पुग्ने सडकलाई बाह्रै महिना सञ्चालनका लागि गुरुयोजना नै बनाएर अगाडि बढ्न आवश्यक रहेको उनको भनाइ थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *