ठेकेदार सम्पर्कविहीन भएपछि अलपत्र पुल निर्माण हुन थाल्यो

डम्मर बुढा मगर, बागलुङ
झण्डै एक वर्षदेखि निर्माण व्यवसायी सम्पर्कविहीन बनेपछि अलपत्र बनेको बोङ्गाखोला पुलको काम सुचारु भएको छ । बागलुङको तमानखोला गाउँपालिका–१ बोङ्गादोभानमा निर्माणाधिन मोटरेवल पुलको काम गत चैतदेखि रोकिएको थियो । पुल निर्माणको जिम्मा पाएको कान्तिपथ कन्ट्रक्सनले अहिले पेटी ठेकेदारलाई काम गर्ने जिम्मा दिएपछि निर्माण सुरु भएको हो । निर्माण कम्पनी समय–समयमा सम्पर्कविहीन हुँदा करोडौँको योजना अलपत्र पर्दै आएको थियो ।

वि.सं. २०७७ पौष १६ गते सडक डिभिजन कार्यालय बागलुङसँग सम्झौता गरि काम सुरु भएको थियो । वि.सं. २०७९ चैत ३० गतेसम्म निर्माण सम्पन्न गरि सक्नु पर्ने भए पनि हालसम्म करिब ५१ प्रतिशत मात्रै काम भएको सडक डिभिजन कार्यालय बागलुङले जनाएको छ । दुई वर्षमा सक्नु पर्ने पुल समयावधिसम्म नसकेपछि गत वर्ष चैत ३० गते एक वर्षको लागि म्याद थप गरेको सडक डिभिजन कार्यालय बागलुङका इन्जिनियर अमर अधिकारीले बताउनुभयो ।

निर्माण कम्पनीको म्याद अब पाँच महिना मात्रै बाँकी रहेको उहाँको भनाइ छ । पुल निर्माणका लागि तीन करोड १० लाख ६८ हजार ११३ लागत अनुमान गरेकामा निर्माण कम्पनीले दुई करोड ७१ लाख २७ हजार ९६४ मा जिम्मा लिएको इन्जिनियर अधिकारी बताउनुहुन्छ । पाँच महिनाको अवधीमा धेरे मजदुर लगाएर धमाधम काम गरे मात्रै सकिने संभावना रहेको उहाँको भनाइ छ ।

अहिले खोलाको दुई पट्टि पिल्लर मात्रै ठडिएका छन् । त्यस बाहेक पुलको कुनै पनि काम हुन सकेको छैन । ठडिएका पिल्लर पनि खिया लागेर काम नलाग्ने अवस्थामा पुगेका छन् । हरेक वर्ष वर्षातको समयमा बोङ्गाखोलामा पानीको बहाव बढेर आउने हुँदा यातायात संचालन हुन सक्दैनन् । यस वर्ष पनि असारदेखि ठप्प भएका सवारी साधान कार्तिक लागेपछि मात्रै संचालनमा आएका हुन् । अहिले पुल निर्माणका लागि पेटी ठेकेदार बलराम पौडेलले जिम्मा लिनु भएको छ । उहाँले आगामी बैशाखमै काम सक्ने गरि कामदार लगाएको बताउनुभयो ।

पौडेलले भन्नुभयो – “मैले यो ठाउँमा धेरै पटक काम गरेको छु, यो पहिलेनै सकिनु पर्ने काम रहेछ, यो पुलको जिम्मा पाएको निर्माण कम्पनीका प्रमुखले म अहिले समस्यामा छु, तपाईले यो काम गर्नु प¥यो भनेपछि मैले जिम्मा लिएको हुँ, अब धमाधम काम हुन्छ, सकेसम्म बैशाख नभए पनि जेठसम्म त यसको सबै काम सकिएर पुलमा गाडी गुड्छ ।”

बोङ्गाखोलामा पुल नबन्दा तमानखोला गाउँपालिका वडा नम्बर १ र २ का केही गाउँ बाहेक अन्य वडाका नागरिकहरु बर्खामा पालिकासम्म सिधा यातायात गर्न पाउँदैनन् । तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले लामो समयसम्म निर्माण कम्पनीले काम नगर्दा यहाँका हजारौँ नागरिकले सास्ती खेप्नु परेको बताउनुभयो । अहिले पेटी ठेकदार आएर काम सुरु गर्न थालेपछि पुल बन्ने आशा पलाएको उहाँको भनाइ छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *