पातीहाल्नेमा हिउँ खेल्ने पर्यटकको भीड

डम्मर बुढा मगर, बागलुङ
गत बिहीबार विहानैदेखि परेको हिमपातले बागलुङ, रोल्पा र पूर्वी रुकुमको सिमाना पातीहाल्ने सेताम्य छ । बागलुङको तल्लो क्षेत्रमा सामान्य वर्ष भए पनि हिमपात भने हुन सकेन । गाउँमा हिमपात नभएपछि यति बेला पातीहाल्नेमा हिउँ खेल्ने पर्यटकको घुइँचो लागेको छ । बागलुङका मात्रै होइन, पूर्वी रुकुम, रोल्पा, जाजरकोट, गुल्मी, प्युठान र बुटवलदेखि आन्तरिक पर्यटक हिउँ खेल्नमा लागि पातीहाल्नेमा आएका हुन् । भारी हिमपातका कारण तीनसम्म पनि यस क्षेत्रमा हिउँ बिलाएको छैन ।शनिबारसम्म हिमपातले सडक अवरुद्ध हुँदा पातीहाल्नेमा पर्यटक पुग्न सकेका थिएनन् ।

निसीखोला गाउँपालिकाले शुक्रबार र शनिबार दुई दिन मेसिन लगाएर सडक खुलाएपछि पर्यटक पातीहाल्ने पुगेका हुन् । पातीहाल्नेसँगै तिलाचन ताल र रिगतालसम्म पर्यटक पुगेका छन् । पातीहाल्नेबाट करिब आधा घण्टाको पैदल यात्रामा तिलाचन र १५ मिनेटमा रिग ताल पुग्न सकिने हुँदा पर्यटक हिउँ खेल्न तालसम्म पुगेको निसीखोला गाउँपालिका–६ का स्थानीय वीरबहादुर विकले जानकारी दिनुभयो । शुक्रबारदेखिनै पर्यटक हिउँ खेल्नका लागि पातीहाल्नेमा आउन थालेको उहाँको भनाइ छ । शुक्रबारदेखि दैनिक चार सयको हाराहारीमा पर्यटक पातीहाल्ने उक्लेको विकले बताउनुभयो ।

“पोहोर परार साल तिर यत्तिको मान्छे आउँदैनथे, अहिले त टाढा–टाढाबाट गाडी लिएर आएका छन्, विहानदेखिनै पातीहाल्नेमा हिउँ खेल्न आउनेको भिड लाग्छ, चिसो छ र पनि मान्छेहरुलाई हिउँमा खेल्न कति धेरै रहर लागेको हो ?” विकले भन्नुभयो – “यसपाली धेरै हिउँ प¥यो, दुई÷तीन दिनसम्म पनि पग्लेर सकिएन, हिउँ पर्दाको भोलीपल्ट बाटो भन्द भएर होला मान्छेहरु तलैबाट फर्किए यहाँ आउन सकेनन्, बाटो सफा गरेपछि त भिड छ ।”

गुल्मीको मुसिकोटबाट हिउँ खेल्न आउनु भएका अभय घिमिरेले आफू प्रायजसो बुटवलमा बस्ने गरेको भन्दै अहिलेसम्म नजिकबाट हिँउ नदेखेको हुँदा यसपाली पातीहाल्ने घुम्न आएको बताउनुभयो । गाउँमा आएको बेला साथीहरुसँग ९ जनाको समुह पातीहाल्नेमा हिउँ खेल्न आएको उहाँको भनाइ छ । सडक पनि सजिलो भएको हुँदा कुनै समस्या भोग्न नपरेको घिमिरेले सुनाउनुभयो ।

उहाँले भन्नुभयो – “जन्मेको २० वर्ष भयो, मैले अहिलेसम्म नजिकबाट हिउँ देखेको थिएन, खेल्ने कुरा त टाढाको भयो, पहिलो पटक हिउँमा आएर रमाइलो गर्न पाए, ठाउँ पनि निकै रमाइलो रहेछ, बागलुङ र रुकुमको सिमानामा धेरै मान्छेहरु घुम्न जान्छन् भनेको त सुनेको थिएन तर यसपाली यहाँ आउने सपना पूरा भयो, त्यसमाथि हिउँसँग रमाउँदा निकै मज्जा लाग्यो ।”

बागलुङको दोस्रो व्यापारीक केन्द्र बुर्तिबाङ बजारदेखि करिब ४२ किलोमिटर पश्चिममा रहेको पातीहाल्ने मध्यपहाडी लोकमार्गमा पर्छ । पक्की लोकमार्ग हुँदै यहाँ पुग्न करिब ४० मिनेट लाग्ने हुँदा अन्य समयमा पनि पर्यटकहरु यहाँ आउने गरेका छन् । हिमपातले पातीहाल्ने क्षेत्र निकै सुन्दर देखिएको रोल्पाको उवाखोलाबाट आउनु भएका महेश बुढाथोकीले बताउनुभयो ।

आफू यसभन्दा पहिला पातीहाल्ने हुँदै धेरै पटक यात्रा गरेको भन्दै यस क्षेत्र यतिको सुन्दर अहिलेसम्म नदेखेको बताउनुहुनछ । तीन जिल्लाको सिमाना भएको हुँदा बागलुङ, रोल्पा र रुकुम पूर्वबाट पर्यटकहरु अन्य समयमा पनि घुम्न आउने गरेको पाइन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *