काठेखोला औद्योगिक ग्राम : यस वर्षदेखि प्राङ्गारिक मल, चिया र बाँसको सिन्का उत्पादन गरिने

डम्मर बुढा मगर, बागलुङ
काठेखोला गाउँपालिकाले यस वर्षदेखि प्राङ्गारिक मल, चिया र बाँसको सिन्का उत्पादन गर्ने भएको छ । दुई वर्षदेखि वडा नम्बर ७ को रेशमा औद्योगिक ग्राम निर्माण थालेको गाउँपालिकाले हालसम्म दुई वटा टहरा निर्माण सम्पन्न भइ सकेको हुँदा मेसिन जडान गरेर उत्पादनमा लाग्ने भएको हो । केन्द्र सरकारको तीन करोड लागतमा निर्माण हुन लागेको औद्योगिक ग्रामसम्म सडक र विद्युत पु¥याइ सकेको हुँदा बनेका संरचनामा उद्योग संचालन गर्ने काठेखोला गाउँपालिका–७ का अध्यक्ष प्रेम लामिछानेले जानकारी दिनुभयो ।

गाउँपालिकाले आर्थिक वर्ष २०७८/०७९ देखि नै निर्माण सुरु गरेको अध्यक्ष लामिछानेले बताउनुभयो । केन्द्र सरकारले तीन करोड मात्रै औद्योगिक ग्राममा लागनी गर्ने भए पनि काठेखोला गाउँपालिकाले ५० करोडको डिपीआर गराएका काम अगाडि बढाएको उहाँको भनाइ छ । निर्माण भएका संरचनामालाई प्रयोग गरि उत्पादनसँग जोडिदै जाने र नयाँ संचरना पनि थप्दै जाने योजना रहेको अध्यक्ष लामिछानेले बताउनुभयो । गाउँमा उत्पादन हुने कृषि उपज वस्तुहरुको बजारीकरण, व्यापार व्यवसायको प्रवद्र्धनका लागि औद्योगिक ग्रामले महत्वपूर्ण भूमिका खेल्ने उहाँ बताउनुहुन्छ ।

अध्यक्ष लामिछानेले भन्नुभयो – “सबै संरचना निर्माण भइसक्दा धेरै सयम लाग्छ, निर्माण भएका संरचनालाई प्रयोग गरि केही उद्योगहरु संचालन गरौँ भनेर लागेका छौँ, अहिले बनेका संरचनामा विद्युत र सडकको ‘एक्सेस’ पु¥याएका छौँ, त्यसले गर्दा मेशिन जडान गरेर प्राङ्गारिक मल, चिया र बाँसको ििसन्का उत्पादन गरौँ भनेर लागेका छौँ, संरचना थपिँदै जान्छन्, अन्य उद्योगहरु पनि विस्तारै संचालनमा ल्याउँदै जाने छौँ ।”

गाउँपालिकाका इन्जिनियर विनोद लामिछानेले संघीय सरकार आउनु पर्ने तीन करोड मध्ये आर्थिक वर्ष २०७७÷७८ मा पहिलो किस्तामा ९२ लाख, २०७९÷८० मा ८० लाख आएको र चालु आर्थिक वर्षमा पनि ८० लाख आउने बताउनुभयो । यस वर्ष गण्डकी प्रदेशबाट पनि २० लाख रुपैयाँ विनियोजन भएको भन्दै कार्यान्वयनको चरणमा रहेको उहाँको भनाइ छ । औद्योगिक ग्रामसम्म जाने सडक स्तरोन्नती भएको भन्दै सीमित उद्योग संचालनका लागि संरचना उपयोगी रहेको इनिज्नियर लामिछाने बताउनुहुन्छ ।

काठेखोला गाउँपालिकाका प्रवक्ता टिकासंगम विकले औद्योगिक ग्रामले स्थानीयलाई स्वरोजगार बनाउनुका साथै उत्पादनलाई बजारीकरण गर्नका लागि टेवा पुग्ने बताउनुभयो । औद्योगिक ग्राम निर्माण पश्चात यहाँ साना, मझौला र ठूला सबै उद्योग यहाँ संचालन हुने भन्दै उद्योग गर्न चाहाने स्थानीयले यो ठाउँ गाउँपालिकाले उपलब्ध गराउने विकको भनाइ छ । गाउँपालिकामा रहेका युवा शक्तिलाई उद्योग, धन्दा, व्यापार व्यवसाय गर्न प्रेरितसमेत गाउँपालिकाले गर्ने उहाँ बताउनुहुन्छ ।

यो पनि पढ्नुहोस्