कानुन विपरित विद्यालयमा राजनीतिक दलको कार्यक्रम : विद्यार्थीलाई स्वागतका लागि प्रयोग

आदर्श अनलाइन, बागलुङ
राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल युवक संघको बरेङ—निसीखोला मोटरसाईकल मार्चको टोली बिहीबार काठेखोला गाउँपालिका-४ तंग्राममा पुगेको थियो । तंग्राम स्थित धारा माध्यमिक विद्यालय परिसरमा पुगेको टोलीलाई स्वागत गर्न जनमोर्चाले विद्यार्थी प्रयोग गरेको पाइएको छ ।

विभिन्न सामाजिक सञ्जालमा भाइरल बनेका तस्विरमा धारामा माविको गेटमा विद्यार्थीलाई विद्यालय पोशाकमै मोटरसाइकल मार्चका टोली सदस्यलाई फूलमाला लगाउँदै गरेका तस्बिर सार्वजनिक भएका छन् । स्थानीय टेक पुनले सामाजिक सञ्जाल फेसबुकमा राखेको तस्बिर मा विद्यार्थीले युवक संघका मोटरसाईकल मार्चमा सहभागीलाई स्वागत गर्दै गरेको तस्विर राख्दै नेताले विद्यार्थी पढाउन लागेको उल्लेख गरेका छन् ।

विद्यालय क्षेत्रलाई सरकारले शान्ति क्षेत्र घोषणा गरेको वर्षौँ बिति सक्दा पनि काठेखोलामा राजनीतिक दलका नेताहरुले विद्यार्थी र विद्यालयलाई कार्यक्रममा प्रयोग गर्ने गरेका छन् । कानुनतः विद्यालयमा कुनै पनि राजनीतिक गतिविधि गर्न पाइँदैन र बालबालिकालाई राजनीतिक कार्यक्रममा प्रयोग गर्न पनि पाइँदैन ।

यो थाहा हुँदाहुँदै पनि दलहरुले बालबालिकाको प्रयोग राजनीतिक स्वार्थका लागि प्रयोग गर्ने क्रममा कमी आएको देखिन्न । धारा माध्यमिक विद्यालयका प्रधानाध्यापक कमला थापाले विद्यार्थीलाई कार्यक्रममा प्रयोग गरियो भनि गलत प्रचार गरेको दाबी गर्नु भयो । उहाँले विद्यार्थीहरु बाहिर निस्किने बेलामा ठूलो भिड भएको र त्यस बेलामा फोटो लिने व्यक्तिले विद्यार्थीलाई समावेस गरेर लिएको बताउनु भयो ।

प्रधानाध्याकप थापाले भन्नुभयो – “हाम्रो उद्देश्य थिएन, फोटोहरुमा जे देखेको छ, त्यो असत्य हो, विद्यार्थीहरु बाहिर निस्किदा भिड थियो, विद्यार्थी नै प्रयोग गरिएको भने होइन्, सामाजिक सञ्जालमा आएको फोटोमा देखिएको गलत हो, विद्यार्थीहरु बाहिर निस्किदा फोटोमा समाबेस भएछन्, कार्यक्रममा प्रयोग गरिएको छैन, कार्यक्रममा नेताहरुनै हुनुहुन्थ्यो, विद्यार्थी प्रयोग गर्नु पर्ने अवस्थानै थिएन ।”

काठेखोला गाउँपालिका उपाध्यक्ष समेत रहेका राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष तेजबहादुर थापा (तिलक)ले युवक संघको टोलीलाई स्वागतका लागि विद्यार्थी प्रयोग नगरिएको दाबी गर्नुभयो ।

‘टोली तंग्राम पुग्दा विद्यालय छुट्टी भैसकेको थियो, स्वागत त स्थानीय कार्यकर्ताबाट गरिएको हो, विद्यार्थीबाट होईन, केही होस्टेलमा बस्ने विद्यार्थीहरु त्यहाँ आएको हुन सक्छन्, राजनीतिक कार्यक्रममा विद्यार्थी प्रयोग गर्ने भन्ने हुँदै होईन, गरेको छैन’ अध्यक्ष थापाले भन्नुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहनु भएका जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर थापाले कार्यक्रममा विद्यार्थीलाई प्रयोग नगरेको दाबी गर्नु भयो । युवक संघको कार्यक्रम चार बजेपछि मात्रै भएको भन्दै होस्टेलमा भएका विद्यार्थीले माला दिएर सहयोग मात्र गरेको उहाँको भनाई छ ।

थापाले भन्नुभयो – “त्यो कार्यक्रम विद्यालयमा भएको होइन, गेट बाहिर भएको हो, कार्यक्रम हुने बेला चार बजी सकेको थियो, एसईई दिनका लागि होस्टेलमा बस्ने विद्यार्थीले माला दिएर सहयोग गरेका होला, त्यसरी कार्यक्रममा सहभागी गराएको होइन ।” थापाले होईन भने पनि विद्यार्थी हातमा टीका र फूलमाला लिएर युवक संघको मार्च टोलीलाई स्वागत गरिरहेको तस्विर छरपष्टै देखिएका छन् ।

काठेखोला गाउँपालिकाका शिक्षा शाखा प्रमुख रमा उचैले आफूलाई जानकारी नभएको भन्दै यस विषयमा सोधपुछ गरेर विद्यालयका प्रधानाध्यापकलाई स्पष्टिकरण सोध्ने र सचेत बनाउने बताउनुभयो ।

केही दिन अगाडि काठेखोला गाउँपालिका–२ स्थित जनकल्याण माध्यमिक विद्यालयमा सोही विद्यालयमा बढाउने स्वएंसेवक शिक्षक कमल पौडेलले कक्षाकोठा भित्रै नेकपा एमाले निकट अनेरास्ववियूको संगठन विस्तार गरेका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *