बागलुङमा छ करोड बढी लागतमा पर्यटन पूर्वाधार निर्माण हुँदै

डम्मर बुढा मगर, बागलुङ
बागलुङमा वर्षौँदेखि चर्चामा आएका र ओझेलमा रहेका दर्जनौँै धार्मिक पर्यटकीय क्षेत्रहरु छन् । जहाँ अहिलेसम्म पूर्वाधार बन्न सकेका छैनन् । गण्डकी प्रदेशले ति क्षेत्रमा भौतिक संरचना निर्माणमा जोड दिएको छ । गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले यस वर्ष बागलुङका ७६ स्थानमा पर्यटकीय संरचना बनाउन थालेको छ । जिल्लाका १० वटै पालिकामा पर्यटन पूर्वधार बनाउनका लागि छ करोड ४० लाख रुपैयाँ विनियोजन गरेको छ । पर्यटन तथा उद्योग कार्यालय बागलुङमार्फत योजना कार्यान्वयन हुन थालेका छन् ।

७६ वटा योजना मध्ये हालसम्म ५८ योजना सम्झौता भएर कार्यान्वनमा रहेका छन् भने १८ वटा योजना सम्झौताका चरणमा छन् जिल्लामा सबैभन्दा बढी योजना बागलुङ नगरपालिकामा परेका छन् । यस नगरपालिकामा २० ओटा योजना छन् । जसका लागि दुई करोड ३५ लाख रुपैयाँ विनियोजन भएको पर्यटन तथा उद्योग कार्यालय बागलुङका प्रमुख पारसिंह थापाले जानकारी दिनुभयो । जैमिनी नगरपालिकामा १३ वटा योजना परेका छन् । जसका लागि ९५ लाख रुपैयाँ विनियोजन भएको छ ।

काठेखोला गाउँपालिकामा १५ वटा योजनाका लागि ९० लाख रुपैयाँ, गलकोट नगरपालिकामा नौ योजनाका लागि ७० लाख रुपैयाँ बजेट विनियोजन भएको प्रमुख थापाको भनाइ छ । उहाँका अनुसार बडिगाड गाउँपालिकामा पाँच वटा योजना परेका छन् । जसका लागि ३० लाख रुपैयाँ विनियोजन भएको छ । निसीखोला गाउँपालिकामा तीन वटा योजना छन् भने तीस लाख बजेट विनियोजन भएको छ ।

ढोरपाटन नगरपालिकामा चार वटा योजनाका लागि २५ लाख रुपैयाँ, ताराखोलामा तीन वटा योजनाका ३० लाख, बरेङ गाउँपालिकामा तीन वटा योजनाका लागि २५ लाख, तमानखोलामा एउटा योजनाका लागि १० लाख बजेट विनयोजन भएका छन् । प्रमुख थापाले सबै योजना कार्यान्वनका लागि पालिकामै पुगेर उपभोक्ता समितिसँग सम्झौता गरेको भन्दै अझै केही बाँकी रहेकोमा केही समयमै सक्ने बताउनुभयो । केही योजना सम्पन्नसमेत भइसकेको उहाँको भनाइ छ ।

प्रमुख थापाले भन्नुभयो – “योजना कार्यान्वयनलाई प्रभावकारी बनाउँदै गएका छौँ, अधिकांश योजना सम्झौता भएर धमाधम काम भइरहेका छन्, यहि गतिमा काम हुँदै गए, असार मसान्त अगावै सबै योजना सकिने संभावना देखिन्छ, केही योजना त सम्पन्न पनि भइसके, १० वटै पालिकामा थोरै धेरै योजना छन्, हामीहरुले अनुगमन गर्ने र कामको गुणस्तर पनि हेरि रहेका छौँ ।”

गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापाले पर्यटनबाटै जिल्लामा समृद्धि हाँसिल गर्न सकिने हुँदा सबै ठाउँमा पर्यटन पूर्वाधार निर्माणमा जोड दिएको बताउनुभयो । यस वर्ष बागलुङ लगायत गण्डकीका ११ वटै जिल्लामा पदमार्गलाई मुख्य प्राथमिकता दिएको उहाँको भनाइ छ । सडकले गर्दा पर्यटकको बसाइँ छोटिने हुँदा पदमार्ग निर्माणमा जोड दिएको मन्त्री थापाले बताउनुभयो । पर्यटन मन्त्रालयले ओझेलमा रहेका गन्तव्यको पहिचान गरि प्रवद्र्धन र प्रचारप्रसार गर्न थालेको उहाँको भनाइ छ ।

“अझैसम्म धेरै पर्यटकीय ठाउँमा पुग्न समस्या छ, कतै सडक छैन, कतै पदमार्ग छैनन् त कतै अन्य संरचना बन्न सकेका छैनन्, ति गन्तव्यहरुमा भौतिक संरचना निर्माण गर्ने र प्रचारप्रसारलाई तीव्रता दिन मन्त्रालय लागि परेको छ, यस वर्ष बागलुङसहित ११ वटै जिल्लामा पदमार्गको अवधारण लिएर काम गरि रहेका छौँ, मोटरबाटोले पुराना संरचना ध्वस्त बनाएको छ, मौलिकता गुमाएको छ भने बाहिरबाट आउने पर्यटकलाई धेरै दिन रोक्न सकेको छैन, त्यसले गर्दा अब पदमार्गलाई मुख्य प्राथमिकतामा राख्नु पर्छ, त्यही हिसाबले हामीहरु काम गर्न लागि रहेका छौँ ।

बागलुङ जिल्लामा परेको ७६ योजना मध्ये करिब ९५ प्रतिशत पदमार्गका छन् भने केही पाटी पौवा र सत्तल छ । पदमार्गलाई व्यवस्थित र पक्की बनाइने पर्यटन तथा उद्योग कार्यालय बागलुङले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *