‘पहिचानले राष्ट्रिय एकता बलियो बनाउँछ’

आदर्श अनलाइन, बागलुङ
पहिचानले राष्ट्रिय एकता बलियो बनाउने बागलुङमा आयोजित एक कार्यक्रममा सहभागीले बताएका छन् । नेपालका प्रथम सहिद क्याप्टेन लखन थापामगरको १४७ औं स्मृति दिवसको सन्दर्भ पारेर नेपाल मगर संघ जिल्ला समन्वय समिति बागलुङले आयोजना गरेको पहिचान र समानुपातिक समावेशीताको सवाल विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीले सबैको पहिचान र अस्तीत्वको रक्षा हुनेगरी पहिचान स्थापित हुँदा मात्रै देश बलियो हुने धारणा राखे ।

‘संविधान र ऐन कानुनहरुमा जे जस्तो लेखिए पनि अहिलेको सन्दर्भमा राज्य र सरकार कता कता एकाङ्की बनेर अगाडि बढेको देखिन्छ,’कार्यक्रममा सहभागीले भने,‘नेपालको जनगणना अनुसार अहिले १४२ प्रकारका जातिहरु सूचित भएका छन् । तर ती सबै जाति समुदायले समान अस्तीत्व र अपनत्वको महसुस गर्न सकिरहेका छैनन् ।’ पहिचान र समानुपातिक समावेशीताको आवाजहरु मत्थर हुँदै जाँदा प्रतिगामीहरुले टाउको उठाउने प्रयास गरिरहेको समेत उनीहरुको भनाई थियो ।

‘हिजोको दिनमा निश्चित वर्ग र जाति समुदाय भित्रका व्यक्तिहरुको हाली मुहालीमा देश रहँदा अरु जाति र समुदाय र वर्गका व्यक्तिहरु पाखा पारिए,’कार्यक्रममा सहभागीले भने,‘देशको राष्ट्रिय एकतालाई बलियो बनाउनका लागि सबैलाई समान अधिकार दिनुपर्छ भनेर भन्दा हामीलाई साम्प्रदायिक सद्भाव भड्काउने भनेर पनि भनियो । सबैको समान अधिकार र सहअस्तीत्व कायम हुँदा मात्रै समाज बलियो हुन्छ र देश बलियो हुन्छ । मगर समुदायले आफ्नो जातिय पहिचान माग्दै गर्दा यहाँको ब्राह्मण, क्षेत्री वा अरु कुनै जातिको खोस्नुपर्छ भनेको होईन ।’

राजनीतिक नेतृत्वले राष्ट्रियता कमजोर भन्दै विभिन्न बहानामा पछाडि पारिएका वर्ग र समुदायलाई अधिकार दिनबाट बञ्चित गरेको पनि बताए । ‘संविधानको मस्यौदामा छलफल गराउँदा नेपाल बहुजातिय राज्य हो भनेर लेखिएको थियो,’उनीहरु भन्छन्,‘तर संविधान जारी भएर आउँदा त्यो शब्द काटिएर आयो । निर्णायक तहमा सबै जाति समुदायको हस्तक्षेपकारी प्रतिनिधित्व हुन नसक्दा पछाडि पारिएको वर्ग र समुदायलाई फेरि पछाडि पार्ने काम गरिएको छ ।’ कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सभा सदस्य एवं नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक कुशुम बुढामगरले पहिचानको आन्दोलनको समीक्षा गर्दै अगाडि बढ्नुपर्ने बताईन् ।

‘म पनि लामो समय मगर अभियानमा लागेको व्यक्ति हुँ, अहिलेप प्रदेश सभामा गएपछि यहाँको स्थानीय जाति समुदायको पहिचान जोगाउने गरी स्थानीय मदिरा र भाङ्गोलाई कानुनी वैधता दिने कानुन निर्माणमा लागेका छौं,’उनले भनिन्,‘भाङ्गो कतै पनि सूचिकृत नै नभएको कारण गाँजा भनेरै भए पनि वैधता दिनुपर्छ भनेर काम अगाडि बढेको छ । हाम्रा पहिचानका आन्दोलनहरु समीक्षा गर्दै अगाडि बढ्नुपर्छ ।’ उनले गण्डकी प्रदेशमा बाहुल्य रहेको मगर तथा गुरुङ समुदायको भाषालाई कामकाजी भाषा बनाउनका लागि प्रदेशसभामा आवाज उठाउने समेत बताईन् ।

‘मैले यो विषयमा अध्ययन गरिरहेको छु, प्रदेशसभामा यो विषयलाई गम्भीरता पूर्वक उठाउँछु,’उनले भनिन्,‘मैल अहिले नै बनाउँछु भन्न त सक्दिन तर प्रयास गर्छु । मगर गुरुङ भाषालाई पनि काजकाजी भाषा बनाउनका लागि पहल हुनेछ ।’ उनले नेपालमा लोकतन्त्रको स्थापनाका लागि सबैभन्दा पहिले आवाज उठाउँदा ज्यानको बलिदानी दिएका प्रथम सहिद क्याप्टेन लखन थापामगरलाई राज्यले उचित सम्मान दिन नसकेको समेत बताईन् ।

कार्यक्रममा अवधारणापत्र प्रस्तुत गर्दै नेपाल मगर संघका पूर्व केन्द्रीय सदस्य तेजेन्द्र थापामगरले पहिचान र समानुपातिक प्रतिनिधित्वका सवाललाई नेपालमा गलत व्याख्या गरिएको टिप्पणी गरे । ‘पहिचान र समानुपातिक प्रतिनिधित्वको सवाललाई गलत ढङ्गबाट व्याख्या गर्ने काम भएको छ । पहिचान दिँदा देश नै अप्ठ्यारोमा जान्छ भन्ने गलत तर्क गरेर हाली मुहाली गर्ने परिपाटी अझै चलिरहेको छ,’उनले भने । उनले समानुपातिक प्रतिनिधित्वको नाममा दलका शिर्ष नेताले आफ्ना एसम्यानहरुलाई लैजाने र आफ्नो मनपरी गर्ने कार्य गरिरहेको समेत उल्लेख गरे ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रकी नेतृत्व टिकाकुमारी विश्वकर्मा, नेकपा एकीकृत समाजवादी पार्टीका जिल्ला अध्यक्ष लालबहादुर थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि रामप्रसाद अधिकारी, क्षेत्री समाज बागलुङकी उपाध्यक्ष शिवकला थापा, नेपाल पत्रकार महासंघका सचिव विजय राना, मगर बौद्ध सेवा समाजका अध्यक्ष सुवेदार श्यामबहादुर राना, मगर अभियन्ता कुमार काउचा लगायतले पहिचान र समानुपातिक प्रतिनिधित्वको विषयमा आफ्ना भनाई राखेका थिए ।

कार्यक्रममा नेपाली काँग्रेस र नेकपा एमालेले प्रतिनिधि समेत पठाएनन् । नेपाल मगर संघ जिल्ला समन्वय समिति बागलुङका अध्यक्ष श्यामबहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन जिल्ला कार्यसमिति सदस्य संगम घर्तीमगरले गरेका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *