पर्यटकले गुलजार बन्यो बागलुङको बेलढुङ्गा

डम्मर बुढा मगर, बागलुङ
चिसो मौसम सकिन थालेसँगै बागलुङको बेलढुङ्गामा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । बर्खादेखि सुनसान बनेको बेल ढुङ्गामा दैनिक पर्यटक आउन थालेपछि चहलपहल बढेको हो । बागलुङको काठेखोला गाउँपालिका–३ ओखले र म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लको शिरमा अवस्थित बेलढुङ्गा पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बनेको छ । सडक सञ्जाल र पदमार्गको सहज पहुँच पुगेपछि बेल ढुङ्गामा पर्यटक आगमनमा वृद्धि भएको छ ।

समुन्द्रि सतहदेखि २६ सय मिटरको उचाइमा रहेको बेलढुङ्गालाई पर्यटकीय गन्तव्य बनाउनका लागि गण्डकी प्रदेश र काठेखोला गाउँपालिकाले वर्षेनी लगानी गर्दै आएको छ । उच्च पहाडी क्षेत्रमा रहेको हुँदा यहाँबाट धौलागिरीसहित दर्जनौँ हिमश्रृङ्खला आँखै अगाडि देख्न सकिन्छ । सूर्योदय हेर्नका लागि पनि पर्यटक बेलढुङ्गा पुग्ने गरेका हुन् । बेलढुङ्गा नजिकै खाना बस्न र स्थानीय कला संस्कृतिसँग रम्नका लागि सामुदायिक घरबास (होम–स्टे) रहेको हुँदा विदेशी पर्यटक पनि समय–समयमा यहाँ आउने गरेको पाइन्छ । बागलुङ र म्याग्दी दुवै तर्फदेखि गाडी तथा पैदल यात्रामार्फत यहाँ पुग्न सकिन्छ ।

दसैँ र तिहारको बीचमा दैनिक करिब पाँच सयको हाराहारीमा पर्यटक आएपछि माघ पहिलो सातासम्म बेलढुङ्गा सुनसान रहेको बेलढुङ्गा सामुदायिक घरबासका अध्यक्ष गोपाल श्रीसले बताउनुभयो । घामपछि यता झण्डै १२ सय पर्यटक बेलढुङ्गा आएको उहाँको भनाइ छ । अधिकांश पर्यटक दिउसो आएर साँझ फर्कने गरेको सुनाउँदै घरबासमा बास बस्ने गरि आउने निकै कम भएको उहाँको भनाइ छ । आधा दशक अगाडिसम्म सुनसान जस्तै रहेको बेलढुङ्गा केही वर्ष यता पर्यटकले भरिभराउ हुँदै गएको अध्यक्ष श्रीसले बताउनुभयो ।

सरकारले पनि यस क्षेत्रको विकासका लागि चासो देखाएको उहाँ बताउनुहुन्छ । गत वर्ष काठेखोला गाउँपालिकाले विनियोजन दुई लाख ५९ हजार र गण्डकी प्रदेश सरकारको २० लाख बजेट विनियोजन गरेको भन्दै यस वर्ष पनि गाउँपालिकाबाट पाँ लाख रुपैयाँ विनियोजन भएको श्रीसको भनाइ छ । पोहोर साल देउराली डाँडादेखि बेलढुङ्गासम्म जोड्ने २६० मिटर पदमार्गकास्लेट ढुङ्गा बिच्छ्याको रबागलुङ नगरपालिका–६ पञ्चकोट तर्फ २५० मिटर साइकल ल्याण्ड बनाएको भन्दै यस वर्ष ‘भ्यू पोइन्ट’ व्यवस्थापन गर्न थालिएको उहाँले बताउनुभयो ।

“पहिलेको तुलनामा अहिले बेलढुङ्गाको स्वरुपनै फेरिएको छ, धेरै व्यवस्थित पनि बनेको छ, प्रचारप्रसार पनि उत्तिकै भएर होला पर्यटक आगमनमा निकै उत्साह देखिएको छ, यस्तो ठाउँमा यसरी पर्यटकको ओइरो लाग्ला भन्ने हामीहरुले सोचेका थिएनौँ तर विकासले गति लिँदै गएपछि आन्तरिक तथा बाह्य पर्यटकको संख्या निकै बढेको छ, हामीहरुलाई निकै उत्साहित बनाएको छ,” श्रीसले भन्नुभयो – “यहाँ अझै थप संरचना बनाउनु पर्ने छ, ति संरचना बने भने यस क्षेत्रको मुहार फेरिने अपेक्षा गरेका छौँ ।”

पछिल्लो समय बिदाको दिन विभिन्न संघ संस्था तथा विद्यालयबाट विद्यार्थीहरु घुम्न र उच्च पहाडी हावापानीसँग रम्नका लागि आउने गरेका छन् । बागलुङ बजारबाट गाडीमा साढे एक घण्टा र म्याग्दीको बेनीबाट एक घण्टामा बेल्ढुङ्गा पुग्न सकिन्छ । बेलढुङ्गा नजिकै म्याग्दीको भकिम्लेमा प्रसिद्ध धार्मिकस्थल स्वर्गाश्रम रहेको छ । यहाँ पूजाआजा गर्न आउने भक्तजनहरु पनि बेलढुङ्गा चढ्न आउने गरेका छन् । दुई वर्ष अगाडिसम्म बेलढुङ्गामा जोखिम मोलेर चढ्नु पथ्र्यो भने अहिले पदमार्ग मार्फत सहज रुपमा टुप्पोमा पुग्न सकिन्छ । लामो समय बुटवल बसेर बिदामा जन्म घर पर्वत आउनु भएका विशाल घिमिरेले आफूहरु १२ जनाको टोली मोटरसाइकलमै बेलढुङ्गा घुम्न आएको बताउनुभयो ।

यसभन्दा अगाडि एक पटक पारिवारीक घुमफिरमा आएको सुनाउँदै त्यस बेलाको घुमाईले धित नमरेपछि यस पटक साथीहरुसँग आएको उहाँको भनाइ छ । घिमिरेले बेलढुङ्गामा घण्टौ बसेर योगा गर्दा मनमा शक्ति पैदा हुने भन्दै करिब पाँच घण्टा यस क्षेत्रमा बिताएको सुनाउनुभयो । बेलढु्गालाई रमाइलो गर्ने स्थलका साथै योगा आश्रमका रुपमा विकास गर्न सुझाउनुभयो ।

उहाँले भन्नुभयो – “जल, जंगल, जमिन, हिमाल, पहाड लगायत अनगिन्ती दृश्य देखिने यो ठाउँ निकै उत्कृष्ट छ, यसलाई राज्यले ध्यान केन्द्रका रुपमा विकास गर्नु पर्छ, मलाई यो ठाउँ प्राकृतिक उपचार केन्द्र जस्तो लाग्यो, पहिलो पटक आउँदा धेरै घुम्न पाएको थिएन, तर यस पटक धेरै समय बसियो, यहाँको प्रकृतिसँग रमाइयो, फेरि फेरि पनि आउने छौँ ।”

कास्की नयाँ पुलबाट घुम्न आउनु भएका वीरेन्द्र जोशीले सामाजिक सञ्जालहरुमा भिडियो र तस्बिर देखेर घुम्न आएको सुनाउनुभयो । छ जनाको टोली गलकोटको मूर्तिकलासम्म घुम्ने गरि यात्रामा निस्किएको भन्दै पहिलो दिन बागलुङको वञ्जी जम्प, दोस्रो दिन बेलढुङ्गा र तेस्रो दिन गलकोट नगरपालिका–५ टेवा स्थित मूर्तिकलामा पुगेर फर्किएको बताउनुभयो । बेलढुङ्गाबाट देखिने दृश्यले आफूलाई मोहित बनाएको जोशीको भनाइ छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *