बागलुङ कालिकामा सात महिनामा एक करोड ७१ लाख भेटी संकलन

आदर्श अनलाइन, बागलुङ
प्रसिद्ध धार्मिक स्थल बागलुङ कालिका मन्दिरमा सात महिनामा एक करोड ७१ लाख रुपैयाँ भेटी सकलन भएको छ । मन्दिर व्यवस्थापन समितिले सार्वजनिक गरेको आय व्यायमा १ करोड २८ लाख रुपैयाँ भने खर्च गरेको छ । यो समयमा मन्दिरले ४२ लाख रुपैयाँ बचत गरेको पाइएको छ । मन्दिर व्यवस्थापन समितिले भौतिक संरचनासमेत निर्माण गरेको छ ।

मन्दिरमा माघ महिनामा मात्रै १९ लाख ७२ हजार भेटी संकलन भएको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिनुभयो । मन्दिरको खर्चतर्फ हरेक महिना तलबमा ३ लाख ५७ हजार खर्च हुने गरेको हो । बडा दशैं र चैते दशैँमा भने करारका थप कर्मचारी राख्नु पर्दा खर्च पनि बढ्ने अध्यक्ष खड्काको भनाइ छ ।

बडा दसैँ र चैते दसैँ भक्तजन बढी आउने भएकोले भेटी पनि अन्य महिनामा भन्दा बढी संकलन हुने उहाँले बताउनुभयो । मन्दिरमा चढाइने भेटीको दैनिक आम्दानी सार्वजनिक गरिदै आइएको छ । व्यवस्थापन समितिले पछिल्लो दुइ वर्षमा चढाइएका सुन लगायतका गरहना पनि सार्वजनिक गरेको छ । यस अवधिमा ३ तोला ४५ लाल सुन र ३ सय तोला ११ लाल चाँदी चढेको अध्यक्ष खड्का बताउनुहुन्छ । कालिका भगवती गुठी व्यवस्थापन समितिले मन्दिरमा चढेको गहना गालेर उक्त सुन र चाँदी तयार पारेको छ ।

खड्का अध्यक्ष भएपछि उक्त गहनासमेत सार्वजनिक भएको हो । खड्का २०७८ कात्तिक ८ गते अध्यक्ष नियुक्त हुनु भएको थियो । कालिका मन्दिरमा कतिपय भक्तजनले गरगहना बनाएर चढाउने गरेका छन् । नगद बाहेक चढाइने जिन्सीलाई नगदमा रुपान्तरण गर्न गहना गालेर एकमुष्ट बनाइएको अध्यक्ष खड्काले बताउनुहुन्छ ।

मन्दिर आसपासमा रहेका सटरबाट मन्दिरले मासिक तीन लाख १४ हजार भाडा असुल गर्दै आएको छ । त्यसबाहेक मन्दिरमा चढाइने अक्षेता, बोका तथा कुखुराको टाउकोबाट पनि कमाइ हुने गरेको छ । परेवा उडाउनेले तिर्ने शुल्क, बिबाह र ब्रतबन्ध शुल्क, मन्दिरमा आउने पंडितले बुझाउने दस्तुर समेतबाट आम्दानी बाध्ने गरिएको मन्दिर व्यवस्थापन समितिका सचिव निशान खड्काले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *