धार्मिक पर्यटक आकर्षण गर्न पञ्चकोट पाँच हजार ५५५ किलोको महाघण्ट

डम्मर बुढा मगर, बागलुङ
बागलुङको सर्वसिद्धिधाम पञ्चकोटमा पाँच हजार पाँच सय ५५ किलोको मुक्तिनाथ महाघण्ट राखिएको छ । बागलुङ नगरपालिका–५ स्थित पञ्चकोटलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नका लागि यहाँ महाघण्टा राखिएको हो । वि.सं.२०७२ सालदेखि पञ्चकोटमा धार्मिक संरचना बनाउन सुरु गरिएको थियो । गत साता मात्रै महाघण्टलाई पञ्चकोटमा ल्याइएको थियो ।

पञ्चकोटमा अहिलेसम्म सिस महल, गण्डकीमाताको मन्दिर, यज्ञशाला, हनुमानको विशाल मूर्ति लगायतका जर्दनौँ धार्मिक संरचना बनि सकेका छन् । विभिन्न दाताहरुको सहयोग, महायज्ञबाट संकलन भएको रकम र सरकारबाट भएको करोडौँको लागनीले अहिले पञ्चकोट देशव्यापी रुपमा चर्चित बनेको छ । पञ्चकोटलाई धार्मिक पर्यटकीय स्थलका रूपमा विकास गर्ने योजना अनुसार उक्त महाघण्ट राखिएको मुक्तिनाथ पिठाधीश्वर स्वामी कमलनयनाचार्यले बताउनुभयो ।

पञ्चकोटमा फागुन ९ गतेदेखि आयोजना हुने अनन्त श्री ब्रह्माण्डीय महायज्ञका अवसरमा महाघण्टको विधिपूर्वक स्थापना गरिने उहाँले बताउनुभयो । मुक्तिनाथ महाघण्ट पञ्चधातु सुन, चाँदी, तामा, पित्तल र फलाम मिसाएर बनाइएकोले यो घण्टीलाई ‘महाघण्टी’ नाम दिइएको स्वामी कमलनयनाचार्य बताउनुहुन्छ । महाघण्टी बनाउन ८ वर्ष लागेको थियो । पञ्चकोटमा निर्माण गर्न लागिएको १ सय ८ फिट अग्लो गण्डकी विश्वशान्ति कलशको नजिकै महाघण्टी राखिएको राखिने उहाँले बताउनुभयो ।

महाघण्टबाट निस्किएको ध्वनि साबिक धौलागिरिका बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका अधिकांश बस्तीहरूमा सुन्न सकिने दाबी गरिएको छ । महाघण्ट बनाउन करिब दुई करोड रुपैयाँ खर्च लागेको अनुमान गरेको कमलनयनाचार्यले बताउनुभयो ।

उहाँले भन्नुभयो –‘‘पञ्चकोटमा महाघण्ट राखिएको छ, यसले शान्तिको ध्वनी निल्नेछ, हामीहरुले अबको केही दिनमा अनन्तश्री ब्रह्माण्डीय महायज्ञका आयोजना गरेका छौँ, त्यस अवसरमा घण्टाको विधिवत् रूपमा प्राणप्रतिस्ठाको कार्य गरिने छ, धेरै समय खर्चिएर घण्टा बनेको छ, यसलाई यहाँ बन्दै गरेको गण्डकी कलशको आडमा राखिने छ ।”

समुन्द्रि सतहदेखि एक जाहर ७५० मिटरको उचाइमा रहेको पञ्चकोटमा धार्मिक संरचना निर्माणका लागि आठ वर्ष अगाडि तत्कालीन प्रधानमन्त्री तत्कालीन प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति सुशिल कोइरालाले शिलान्यस गर्नु भएको थियो । पछिल्लो समय मुस्ताङको मुक्तिनाथ, म्याग्दीको गलेश्वर लगायतका ठाउँमा पुग्ने धार्मिक पर्यटक यहाँ आउन थालेपछि चहलपहल बढेको पाइन्छ । हालसम्म पञ्चकोटमा ५० करोड लगानी भइसकेको सर्वसिद्धिधाम पञ्चकोट विकास परिषद्का अध्यक्ष दामोदर शास्त्री दाहालले जानकारी दिनुभयो ।

पर्यटक आकर्षण र धार्मिक संस्कृतिको संरक्षणका लागि थुप्रै संरचना बन्ने चरणमा छन् । पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकले पञ्चकोटमा घुइँचो बढु्न थालेको दाहालको भनाइ छ । दैनिक ३०० देखि ४०० सम्म पर्यटक आउने उहाँले बताउनुहुन्छ । बिदा तथा विभिन्न चाडपर्वका बेला करिब १२ सय बढी पर्यटक आउने गरेको दाहालले बताउनुभयो । महाघण्टले पर्यटकलाई थप आकर्षित गर्ने उहाँको भनाइ छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *