रुद्रमान गुरुङको शालिक सहितको उद्यान निर्माण

आदर्श अनलाइन, बागलुङ
बागलुङ नगरपालिका–१० पर्यटकीय गाउँ भकुण्डेमा ग्रामिण पर्यटनका अगुवाको सम्झानामा शालिक शालिक सहित उद्यान बनाइएको छ । चार वर्षदेखि थालिएको उद्यान सहितको शालिक निर्माणले अहिले पूर्णता पाएको छ ।

बागलुङ जिल्लाको पहिलो घरबास सञ्चालनमा आएको अतिथि सत्कार घरबास सञ्चालन भएको भकुण्डे गाउँमा १० रोपनी जग्गामा ग्रामिण पर्यटनका अगुवा क्याप्टेन रुद्रमान गुरुङको संझनामा उहाँको अर्धकदको शलिक शहिद उद्यान बनाइएको छ ।

उक्त पार्कमा निर्माण गरिएको रुद्रमान गुरुङको संझानामा निर्मित क्याप्टेन रुद्रमान गुरुङ स्मृति पार्कको मंगलबार प्रदेश सरकारका उद्योग, पर्यटन वन तथा बातावण मन्त्री दिपेन्द्र थापाले उद्घाटन गर्नुभएको थियो । थापाले उद्यानमा राखिएको स्वर्गिय क्याप्टेन रुद्रमान गुरुङको शालिक समेत अनवारण गर्नुभएको थियो । उद्यान उद्घाटन र शालिक अनावरणपछि पर्यटनमन्त्री थापाले शहरको रकम गाउँ भित्राउने माध्यम बनिरहेको घरबाससंग जोडेर बनाइएको एदानले घरबास पर्यटनलाई थप प्रर्बद्धन गर्ने बताउनुभयो ।

“अर्गानिक खाना खुवाउदा गाउँमा भित्रिएको रकम बाहिर पठाउन पर्दैन, समृद्ध गाउँको कल्पना घरबास पर्यटनबाट संभव छ, ग्रामिण प्रर्यटन तथा घरबासका परिकल्पनाकारको संझनामा निर्माण गरिएको शालिक सहिदको उद्यानले उहाँकाले कल्पना गरेको ग्रामिण पर्यटनको कल्पनालाई सार्थकता दिलाएको छ” पर्यटनमन्त्री थापाले भन्नुभयो “क्याप्टेन रुद्रमान गुरुङ स्मृति पार्कमा थप पूर्वाधार बनाउन आगमी वर्ष पर्यटन मन्त्रालयबाट बजेट बिनियोजन गर्ने छु, भकुण्डेबासीको आर्थिक विकासकोे माध्यम भएको घरबासलाई थप पूर्वाधार गर्नका लागि प्रदेश सरकार संगै रहेको छ ।”

बागलुङ जिल्लाको पर्यटकीय गाउँ भकुण्डेमा घरबास पर्यटन शुरु भएको एक दशक हुन लाग्यो ।
जिल्लाकै पहिलो सामुदायिक घरबासको रुपमा स्थापित अतिथि सत्कार घरबासको प्रर्बद्धनमा अहिले ग्रामीण पर्यटनका पिता भनेर चिनिने क्याप्टेन रुद्रमान गुरुङको स्मृतिमा निर्माण भएको उद्यान सहयोगी बन्दै आएको छ ।

घरबास प्रर्बद्धनका लागि चार वर्ष अघि देखि निर्माण थालिएको रुद्रमान गुरुङ स्मृति पार्कमा अहिले सम्म रु. ३९ लाखको पूर्वाधार निर्माण भइसकेको छ । घरबास प्रर्बद्धनका लागि मुलाबारी भ्यूटावर, संग्रहालय संगै पार्क निर्माण गरेपछि घरबासमा आउने पर्यटकहरु समेत वृद्धि भएका छन् ।

घरबासको खानाका परिकारले मात्रै पाहुनाहरु आर्कषित नहुँने भन्दै पर्यटकहरु रमाउने र घरबासका परिकल्पनाकारको सम्मान समेत हुने भन्दै रुद्रमान गुरुङ स्मृति पार्क निर्माण थालिएको र अहिले आधारभूत पूर्वाधारहरु निर्माण भएको क्याप्टेन रुद्रमान गुरुङ स्मृति पार्क निर्माण समितिका सल्लाहकार तथा भकुण्डेको पर्यटन प्रर्बद्धनका अगुवा खिम बहादुर थापाले जानकारी दिनुभयो ।

“गण्डकी प्रदेश सरकारले चार वर्ष अघि प्रदेशका सामुदायिक घरबासहरुलाई रु. १० लाखका दरले पूर्वाधार निर्माणमा अनुदान दिने भन्यो, हामीले त्यही अनुदानबाट पार्क बनाउन शुरुवात ग¥यौ” थापाले भन्नुभयो “घरबासलाई दीर्घकालिन रुपमा फाइदा पु¥याउन पार्कले महत्वपूर्ण भूमिका खेल्नेछ, पार्क नामाकरण समेत ग्रामिण पर्यटन संग जोडिने गरी राख्ने विषयमा नेपालमा घरबास सञ्चालनको परिकल्पनाकार रुद्रमान गुरुङको नाममा पार्क निर्माण गर्ने भनेर १० रोपनी सार्वजनिक जग्गालाई व्यवस्थित बनाउन थालिएको थियो, अहिले पार्कको आकार र अत्यावश्यक पूर्वाधार निर्माण भइसकेर उद्घाटन भएको छ ।”

थापाका अनुसार १० रोपनी जग्गामा फैलिएको उद्यानको तारबार, दुई तर्फ प्रवेशद्वार, सार्वजनिक भवन, खानेपानी शौचालय सहित क्याप्टेन रुद्रमान गुरुङको शालिक स्थापना भइसकेको छ ।

पार्क निर्माणमा चार वर्ष अघि पर्यटन मन्त्रालयको घरबास प्रर्बद्धन कार्यक्रम अन्र्तगत रु.१० लाख, दुई आर्थिक वर्षमा सामाजिक विकास मन्त्रालय अन्र्तगत रु.२० लाख र बागलुङ नगरपालिकाको रु.४ लाख गरी रु. ३४ लाख खर्च भइसकेको छ । यस्तै स्थानीय, सरोकारवाला निकाय र पर्यटन व्यवसायीहरुले पार्क निर्माणमा झण्डै पाँच लाख चन्दा सहयोग गरेको रकम सहित पार्क निर्माणमा रु.३९ लाख खर्च भइसकेको छ । पार्क निर्माणमा स्थानीयहरुले समेत समय–समयमा श्रमदान समेत गर्दै आउनुभएको थापाको भनाई छ ।

विस्तृत अध्ययन प्रतिवेदन अनुसार पार्कले पूर्णता पाउन रु. तीन करोड लाग्ने जनाइएको भएपनि पार्क सञ्चालनका लागि आधारभूत पूर्वाधार निर्माणमा अझै रु.५० लाख खर्च गर्न आवश्यक रहेको निर्माण समितिका सल्लाहकार थापाको भनाई छ ।

१० रोपनी जग्गामा फैलिएको पार्कको चार रोपनी जग्गामा फलफूल बगैचा, एक रोपनी जग्गामा फूल बगैचा र दुई रोपनी जग्गामा चिल्ड्रेन पार्क निर्माण गर्ने लक्ष्य लिइएको बागलुङ जिल्लाको पहिलो घरबास अतिथि सत्कार सामुदायिक घरबासका अध्यक्ष मुना थापाले बताउनुभयो । थापाले पार्क सञ्चालन खर्च पार्कबाटै उठाउने गरी फलफूललाई समेत आम्दानीको स्रोत बनाउने लक्ष्य राखिएको जानकारी दिनुभयो ।

बागलुङ नगरपालिका–१० भकुण्डेमा रहेको अतिथि सत्कार घरबासले चार वर्ष अघिदेखि उद्यान निर्माण शुरुआत गरिएकोे थियो । घरबासका अध्यक्ष मुना थापाका अनुसार गुरुङको शालिकसहितको उद्यान निर्माणले ग्रामिण पर्यटन फष्टाउदै घरबासमा आउने पर्यटकहरुको बसाई लम्बाउन सकिने बताउनुभयो ।

बागलुङ नगरपालिकाले पर्यटकीय गाउँका रुपमा भकुण्डे गाउँलाई विकास गर्न लागेको बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उद्यानमा पर्यटनसँग सम्बन्धित खोज र अनुसान्धानका सामग्री समेत रहने छ । अहिले घरबासमा आन्तरिक संगै विदेशी पर्यटकहरु समेत आउन थालिसकेका छन् । अष्ट्रेलियन नागरिक टमी र भूतपूर्व गोरखा सेनाका अवकाशप्राप्त लाहुरे क्या रुद्रमान गुरुङको प्रयासमा विसं २०५४ असोजदेखि स्याङ्जाको सिरुबारी नेपालको पहिलो ग्रामीण पर्यटन गाउँ भएको थियो । उहाँकै अवधारणमा नेपालमा घरबास पर्यटन थालिएको भन्दै जिल्लाकै पहिलो घरबास नजिकै उहाँकै सम्झनामा वृहत पार्क निर्माण भइरहदा पर्यटकहरु घरबासको विषयमा बुझ्न लालायित हुनेछन् ।

जिल्लाकै पहिलो घरबासका रुपमा स्थापना भएको अतिथि सत्कार घरबास अहिले भकुण्डे गाउँको ८ घरमा सञ्चालित छ । घरबासमा एकै रात ५० जना पहुँना राख्न सकिने छ भने घरबासमा पछिल्लो पटक पहुँनाको रोजाई अनुसारको सेवा सुविधा दिइदै आएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *