खेतीयोग्य जग्गाको रुख हटाएर सुन्तलाखेती


खेमराज गौतम, बागलुङ
२० वर्ष वैदेशिक रोजगारीमा बिताउनुभएका बागलुङ नगरपालिका–८ सिगाना सायकोटका इन्द्रबहादुर कार्कीले गाउँ फर्केर सुन्तला खेती थाल्नुभएको छ ।

गाउँमा खाद्यबाली लगाउने परिपाटी घट्दैगएपछि बाँझिन थालेको आफ्नो ५ रोपनी बारीमा सुन्तला खेती थाल्नुभएका कार्की अहिले खेतीयोग्य जग्गाको रुख हटाउने अभियानमा हुनुहुन्छ ।

लामो समय आफै वैदेशिक रोजगमारीमा गएको र फर्केर गाउँ आउदा युवा पलायनका कारण अधिकांश खेतियोग्य जग्गामा झाडी पालाएको भन्दै रुख हटाएर सुन्तलाखेती विस्तार गर्न थालेको उहाँ बताउनुहुन्छ । पहिलो चरणमा गत वर्ष ८० सुन्तलाका बिरुवा, ४० कागतीका बिरुवा रोप्नुभएको कार्कीले सुन्तलाखेतीलाई बिस्तार गरी १५ रोपनी पु¥याउने लक्ष्य रहेको सुनाउनुभयो ।

कार्कीको नेतृत्वमामा उहाँको जग्गा मात्रै हैन सायकोटका अन्य स्थानीयको जग्गामा समेत रेहका रुख हटाउने कार्यले तिब्रता पाएको छ ।

अहिले सिगाना सायकोट क्षेत्रको ५०० रोपनी भन्दा बढी खेतीयोग्य जग्गामा रहेका रुख तथा झाडी हटाउने काम भइरहेको छ । “केही वर्ष भारतमा बिताए, १५ वर्ष साउदीमा रोजगारीमा बिताए, अहिले गाउँ फर्केर आउदा उराठ लाग्दो अवस्था रहेछ, गाउँमा रुख बिरुवाले खेतीयोग्य जग्गा ढपक्कै ढाकेको छ, खेती गर्ने कोही छैनन्” कार्कीले भन्नुभयो “गत वर्ष सुन्तला र कागती बारीमा लगाए तर बिरुवा बढ्नै पाएनन् काराण थियो रुख बिरुवाले खेतियोग्य जग्गा ढाकेको थियो, अहिले वडा कार्यालयको प्राविधिक सहयोगमा रुख फडानी गर्ने कार्य भइरहेको छ, अधिकांश झाडीले भरिएको जग्गामा सुन्तलाखेती गर्न थालिएको छ ।”

कार्कीले आफ्नो १५ रोपनी खेत तथा बारीमा सुन्तला र कागती खेती विस्तार गर्नका लागि सबै रुख तथा बिरुवा हटाएर खाली गरेको जानकारी दिनुभयो । सुन्तलागाउँका रुपमा चिनिएको सिगान भित्रको सायकोट गाउँमा भने व्यवसायिक सुन्तला खेती हुन सकेको थिएन । सुन्तलाबाटै वार्षिक तीन करोड भित्राउने सिगानको बेसी, ढोकानफाँट, बाँस्बोट र कोरीखोला लगायतको गाउँमा व्यवसायिक सुन्तलाखेती उत्पादन हुँदै आएका छन् ।

“सिगाना सुन्तला गाउँका रुपमा चिनिएपनि हाम्रो सायकोटमा व्यवसायिक सुन्तलाखेती छैन, यहाँ गत वर्षबाट मात्रै सुन्तला लगाउन थालिएको हो, सुन्तला खेती फष्टाउन बाँझो जग्गाको झाडी फडानी गर्ने, कुकाठ हटाउने कार्यले सुन्तलाखेती विस्तारमा टेवा पुग्नेछ” स्थानीय सुर्य कार्कीले भन्नुभयो “गाउँ–गाउँमा ग्यासको प्रयोग गर्दा दाउराको प्रयोग कम भएपछि वन जंगल बढेर घरसम्मै आउन थालेपछि रुख फडानी गरेर सुन्तला लगाउन अभियान थालिएको हो ।”

बागलुङ नगरपालिका–८ सिगाना वडा कार्यालयले रुख फडानीमा सघाएर किसानलाई सुन्तला खेती विस्तार गर्ने योजनामा सघाउन चालु आर्थिक वर्षमा रु. एक लाख ५० हजार बजेट बिनियोजन गरेको छ । उक्त रकमले एक हजार रोपनी जग्गाका रुख बिरुवा हटाउन सक्ने भन्दै हाल सम्म ५०० रोपनी खेतीयोग्य जग्गाका रुख बिरुवा हटाइसकेको बागलुङ नगरपालिका –८ सिागानका वडा अध्यक्ष छम बहादुर कार्कीले जानकारी दिनुभयो । उहाँले कटान गरेका रुख व्यवस्थापन भने स्वंय जग्गाधनीले गर्दै आएकाले थोरै रकमले धेरै काम गर्न सकिएको बताउनुभयो । खेतीयोग्य जग्गामा ढाकिएको उत्तिस, चिलाउने, मल्लात्तो र बाँसघारी लगायतका रुख हटाएर सुन्तला खेती गर्ने अभियान अहिले बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाले समेत चलाएको छ ।
खेतीयोग्य जग्गा बाँझिदै गएपछि उम्रिएका रुख बिरुवाले फलफुल तथा नगदेबाली गर्न समेत कठिनाई भएपछि अहिले खेतबारीमा रहेका रुख हटाउने अभियानले व्यापकता पाएको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *