रत्यौली संरक्षणमा सक्रिय सिगानाको आमा समूह


–खेमराज गौतम, बागलुङ

‘हे……खुसी हुँदै जाउ है बाबु दुलही लिएर आए
बाबा आमा दिदि बहिनि कहिलै नरुवाए
आमाको पियारो छोरो, अब माया बाँडियो दोहोरो…..।
हे…बिहे गरे छोरा विदेश शहरमा बुहारी
घरमा भने बाउ आमा र बाँझो खेतबारी
आफ्नै देश केही गरी खानु वृद्धाश्रम बा–आमा नलानु
आमाको पियारो छोरो, अब माया बाँडियो दोहोरो…..।

बागलुङ नगरपालिका–८ सिगाना सायकोटको सृजनशिल आमा समूहले तयार पारेको रत्यौली गीतको एक टुक्का हो यो ।

विवाह संस्कारमा गाइने गीत मध्यको एउटा गीत रत्यौली अहिले लोप हुने अवस्थामा आएपछि यहाँका आमा समूह मिलेर संरक्षणमा जुटेका छन् ।

वैवाहिक सम्बन्धको विषय वरपर रहेर गाइने गीतलाई रातमा रमाइलो गरेर गाइने भएकाले रत्यौली नामाकरण गरिएको थियो । लोक गीतका विभिन्न भेद मध्यको संस्कार गीतमा पर्ने रत्यौली विस्तारै लोप हुने खतरामा रहेपछि यहाँका आमा समूहले रत्यौली समूह निर्माण गरेर मेला पर्वमा समेत रत्यौली गाउँन र नाच्न थालिएको छ ।
मौलिक गीतका रुपमा रहेको रत्यौली पछिल्लो समय लोप भएको र आधुनिकतासंगै हराउन थालेकाले संरक्षणमा जुटेको सृजनशिल आमा समूह सिगाना सायकोट, बागलुङका आमाहरुले बताएका छन् ।

वैवाहिक सम्बन्ध, परिवारको सम्बन्धको विगत र भविष्यको सेरोफेरोमा घुमेका यस्तै गम्भीर र थुप्रै ठट्यौली अनि रमाइला खालका गीत गाउँदै परम्परागत रुपमा गाइने रत्यौली बिस्तारै घट्दै गएपछि संरक्षणमा जुटेको सृजनशिल आमा समूहका अध्यक्ष डिल कुमारी कार्कीले बताउनुभयो ।
पार्टी प्यालेसबाट विवाह गर्ने, भागी विवाह गर्ने र रत्यौली परम्परा पुस्तान्तरण हुन नसक्दा लोप हुनथालेपछि विवाह समारोह संगै मेला पर्वमा समेत रत्यौली प्रर्दशन गर्न थालिएको कार्कीको भनाई छ ।

“रत्यौलीका लागि लाहुरे, लुठो, मादले, खैजाडु, श्रीमान श्रीमतीको जोडी सहितको रत्यौली समूह तयार पारेका छौं, सचेतनामूलक शन्देस दिनेगरी सामाजिक र सांस्कृतिक कार्यक्रममा समेत शन्देशमुलक शब्द सहितको रत्यौली प्रर्दशन गर्दै आएका छौं” कार्कीले भन्नुभयो “विद्यालयको वार्षिकोत्सव, क्लबको मेलामा समेत शन्देशमुलक रुपमा रत्यौली गाउँन थालिएको छ, जस्ले मनोरञ्जनसंगै सन्देश समेत दिन खोजेको छ ।” कार्कीका अनुसार बालमैत्री अभियान, दाइजो प्रथा लगायतका विषयमा समेत रत्यौली गीतको शब्द संकलन गरेर गाइदै आइएको छ ।

रत्यौलीका लागि आवश्यक सामाग्री मादल, खैजाडी, नवविवाहितको जोडी देखि पण्डीतको भेष सम्मको कपडा समेत आमा समूहलेनै व्यवस्था मिलाएको छ ।

“उहिल्यै–उहिल्यै आमा, दिदी–बहिनीहरू दुलाहा–दुलही र घरपरिवारलाई आशिक दिन्थे, पारिवारिक अवस्थाको चित्रण गर्दै बह पोख्थे अनि खुलेरै रमाइलो गर्थे, उत्ताउलो पारामा नाचगान समेत गर्थे, अहिले विवाह दिनमा हुन थाल्यो तर गीतको नाम रत्यौलीनै छ” आमा समूहका सदस्य गंगा खड्काले भन्नुभयो “अहिले शन्देशमुलक गीत जोडेर मेला पर्व, विद्यालयको वार्षिकोत्सवमा समेत रत्यौली गाउँन थालेका छौं, रत्यौली संरक्षणका लागि आमा समूह सक्रिय बनेपछि धेरैले रत्यौलीको परम्परालाई संस्थागत गर्न तर्फ लागेका छौं ।”

हे…. सुन्नुहोला माइतीले हाम्लाई लोभ छैन, असल संस्कार छोरी दिनुहोस दाइजो पर्दैन
आमाको पियारो छोरो, अब माया बाँडियो दोहोरो…..।
हे….कर्म गरौं आफनै भर परौं दाइजो पर्था हटाउने काम गरौं । आमाको पियारो छोरो ………….।

उत्पातै रमाइलो हुने भएकाले नामै रत्यौली भएको भन्दै खड्काले अब रमाइलो संगै शन्देशमुलक रत्यौली गाउँदै संरक्षणमा जुटेको उहाँको भनाई छ ।
बिहे घरमा अचेल पहिला जस्तो रमाइलो रत्यौली हुन छोडेपछि आमा समूह कस्सिएका हुन् ।

उहिल्यै रत्यौलीमा सुनिने रमाइला, ठट्यौली र मानवीय जीवनका दैनिकी समेटिएका यथार्थपरक गीतहरू आजकल सुनिन छोडेका छन् ।

छोराको बिहेमा दुलाहा अन्माएर लगेपछि बिहेघरको आगनमा भेला भएर महिलाहरू मादल र झ््याली बजाउँदै मुजुराको तालमा कम्मर मर्काइ–मर्काइ नाच्थे कार्य अहिले तडक भडमा मात्रै सिमित हुन थालेपछि आमा समूह चिन्तित बनेको आमा समूहको रत्यौली समूहको लुठो गंगा गौतमले बताउनुभयो ।

विगतमा जस्तो मौलिक स्वाद र शैलीका रत्यौली अहिले नरहेपनि जीवित राख्नका लागि विवाह बाहेक अन्य सभा समारोहमा समेत रत्यौली देखाउन थालिएको बताउनुभयो । “विवाहमा पहिला दिनरात रत्यौली हुन्थ्यो अहिले दिभरमात्रै हुन्छ” गौतमले भन्नुभयो “सभा तथा समारोहमा विवाहको मण्डप सहित दुला दुलही सहितको रत्यौली समूहले छोटो प्रस्तुती दिन थालिएको छ ।”

उहिल्यै दुई दिने सम्म चल्ले विवाहमा रमाइला गीतहरू गाउँदै गर्दा महिलाहरू पुरुषको भेषमा रत्यौलीमा प्रवेश गर्छन् र नबोलिकन हाउभाउ गर्दै नाच्दै र हास्यस्पद ढंगले रमाइलो गर्नेकार्य अहिले हटिसकेको छ । पहिला रातभरि निकै रमाइला गीत गाएर रात छिचोल्ने भएकाले रत्यौली भन्दै आएपनि अहिले रत्यौली दिउँसोमा मात्रै गाइन थालिएको छ ।

जब रात ढल्दै क्षितिजमा प्रभातकालीन रश्मी देखिन थाल्छ अनि विभिन्न देवी देवता पुकार्दै दुलाहाका आमाबाबु, परिवारजन र आफन्तजनलाई आशिष दिने र दान संकलन गर्ने गरिन्थ्यो ।
बिहानीपख रत्यौली सकेर महिलाहरू आ–आफ्नो घरतिर लाग्ने र बेलुकी दुलही भित्राउने बेलामा फेरि तिनै महिलाहरू भेला भएर दुलहीको स्वागत गर्ने, आशीर्वाद दिने र रत्यौलीको समापन गर्ने चलन थियोे । तर हिजोआज एकदिने विवाह हुन्छ, रातिमा रत्यौली खेल्ने चलन लोप नै भइसकेको छ । दिउँसोमा नाचगान गर्ने गरिन्छ त्यसमा रत्यौलीको स्वादै व्यग्लै हुन थालेको स्वयं आमा समूहका सदस्य बताउछन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *