पर्यटकीय गन्तव्य बन्दै बडिगाडको थामचौर

डम्मर बुढा मगर, बागलुङ
बागलुङको बडिगाड गाउँपालिका– ७ थामचौर पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै गएको छ । समुन्द्रि सतहदेखि २१ सय मिटरको उचाईमा रहेको यस क्षेत्रको विकासका लागि गाउँपालिकाले निरन्तर लगानी गर्दै आएको छ । पछिल्लो समय घुम्ने संस्कृति बढेसँगै थामचौर क्षेत्रमा आन्तरिक पर्यटक पुग्न थालेका छन् । उच्च पहाडी क्षेत्रमा रहेको थामचौरमा स्वच्छ हावापानी, मनोरम वातावरण र यहाँबाट देखिने मनोरम दृश्यावलोकनका लागि पर्यटक पुग्ने गरेका हुन् ।

गाउँपालिकाले पूर्वाधार निर्माणसँगै प्रचारप्रसारलाई तीव्रता दिएपछि पर्यटकको सख्या बढ्न थालेको हो । थामचौरमा गाउँपालिकाले मन्दिर र शौचालय निर्माण गरेको छ भने खानेपानी व्यवस्थापन र पिकनिक स्टप बनाउन थालेको छ । पहिले पैदल यात्रामार्फत पुग्ने पर्यटक हिजोआज मोटरगाडीमा सहजै पुग्न सक्ने बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारीले बताउनुभयो । मध्यपहाडी लोकमार्गमा पर्ने भिमगिठे बजारदेखि १३ किलोमिटर उत्तर पट्टी रहेको थामचौरको विकासका लागि हालसम्म करिब ४० लाख बढी लगानी भइसकेको उहाँको भनाइ छ ।

मोटरबाटोले जोडिएपछि पछिल्लो समय बस र ट्याक्सीसमेत थामचौरमा पुग्न सक्ने अध्यक्ष अधिकारीले बताउनुभयो । भिमगिठे बजारबाटबाट गाडीमा ४० मिनेट लाग्ने हुँदा बिदाको समय र विभिन्न चाडपर्वमा बाहिरी जिल्लाबाट समेत पर्यटक आउने गरेको उहाँ बताउनुहुन्छ । आगन्तुकको सहजताका लागि ठाउँ ठाउँमा बस्ने चौतारा व्यवस्थापन गर्ने र वन्यजन्तुका लागि त्यस वरपर पोखरीसमेत निर्माण भएको अधिकारीले बताउनुभयो ।

“थामचौर बडिगाड गाउँपालिकाको मुख्य पर्यटकीय क्षेत्र हो, यसको विकासका लागि हामीहरु निरन्तर लागि रहेका छौँ, हरेक वर्ष बजेट व्यवस्थापन गरेर पर्यटकीय संरचना बनाउने र प्रचारप्रसारलाई तीव्रता दिएका छौँ” अध्यक्ष अधिकारीले भन्नुभयो – “यहाँ धेरै मानिसहरु वनभोजका लागि आउने हुँदा खानेपानीको अलि समस्या छ, त्यसको व्यवस्थानका लागि यस वर्ष काम भइरहेको छ, पिकनिक स्पट निर्माण गर्ने योजना छ, सडक पनि राम्रो बनेको हुँदा पर्यटकलाई यहाँ पुग्न समस्या छैन ।”

यस वर्ष गाउँपालिकाले यहाँ पुग्ने सडकलाई थप व्यवस्थित बनाउनका लागि २० लाख रुपैयाँ विनियोजन गरेको छ । बडिगाड गाउँपालिका–७ का पूर्व अध्यक्ष कृष्ण गुरुङले पिकनिक सिजन बागलुङसहित अन्य जिल्लाबाट आउनेको भिड हुने बताउनुभयो । खास गरि नयाँ वर्ष, होली पूर्णिमाका बेला पर्यटकले थामचौर भरिभराउ हुने उहाँको भनाइ छ । थामचौरबाट बागलुङको विभिन्न स्थानसहित गुल्मीको रेसुङ्गा, तम्घास बजार, प्यठान लगायतका ठाउँहरु एकै पटक देख्न सकिने गुरुङले बताउनुभयो । धौलागिरीसहित दर्जन हिमाल नजिकैबाट अवलोकन गर्न सकिने हुँदा धेरै पर्यटक आकर्षित हुँदै गएको उहाँको भनाइ छ ।

गुरुङले भन्नुभयो – “थामचौरमा पालिकाबाट निरन्तर लगानी भएको छ, यहाँको पहिलो समस्या सडकको थियो, तर अहिले सडक पनि राम्रो बनेको छ, सडक राम्रो भएपछि पर्यटक बढेको पाएका छौँ, अग्लो स्थानमा यति सुन्दर ठाउँ छ, जहाँ पुग्यो भने धेरै पर्यटक आनन्तित हुन्छन्, पहिलेसंरचना बनेको थिएन, केही वर्ष यता पूर्वधारहरु पनि थपिने क्रममा छन्, अहिले बिदा भयो कि घुम्न आउनेको संख्या धेरै हुन्छ, अन्य समयमा फाट्टफुट्ट आउने गर्छन् ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *