लामो झोलुङ्गे पुल सञ्चालनमा : डेढ घण्टाको यात्रा १० मिनेटमा

आदर्श अनलाइन, बागलुङ

बागलुङ र पर्वत जिल्ला जोड्ने गरी कालीगण्डकी नदीमा निर्माण भएको झोलुङ्गे पुल सञ्चालनमा आएको छ । लामा र अग्ला झोलुङ्गे पुलहरुको जिल्लाको रुपमा परिचित बागलुङ र पर्वत जिल्ला जोड्ने गरी कालीगण्डकी नदीमाथी पुन अर्को ५२३ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको हो । यस अघि बागलुङ र पर्वत जिल्ला जोड्नेगरी कालीगण्डकी नदीमाथीनै ५६७ मिटर लामो झोलुङ्गे पुल निर्माण भइसकेको छ ।

जिल्लाको बागलुङ नगरपालिका–४ उपल्लाचौरको गौरीधामबाट पर्वत जिल्लाको जलजला गाउँपालिका–८ ओडारे जोड्ने गरी रु. सात करोड लागतमा ५२३ मिटर लामो झोलुङ्गे पुल निर्माण सम्पन्न भएर सञ्चालनमा आएको बागलुङ नगरपालिका–४ का वडा अध्यक्ष कुमार विक्रम क्षत्रीले जानकारी दिनुभयो ।

“पुल वारपार गर्न थालेको चार दिन भयो, अहिले निर्माण सम्पन्न भएपनि औपचारिक उद्घाटन भएको छैन” क्षत्रीले भन्नुभयो “पुल बनेपछि बागलुङ बजारको समृद्धिसंग पर्वत जिल्लाको जलजलासंग जोडिएको छ, त्यहाँका नागरिकहरु प्रशासनिक काम बाहेक अन्य कामका लागि एक÷डेढ घण्टासम्म हिडेर आउजाउ हुँने स्थानमा अब १० मिनेटमै पुग्न सकिने भयो ।”

दुई वर्षमा निर्माण सक्ने गरी गत साउनबाट निर्माण शुरु भएको पुल डेढ वषमै सकिएको छ । पुल सम्पन्न गरेर हस्तान्तरण गर्ने तयारीमा रहेको निर्माण पक्ष हिम शिखर कन्ट्रक्सनले जनाएको छ । पुल निर्माणका लागि बजेट व्यवस्थापन भने सस्पेन्सन ब्रिज डिभिजन कार्यालय काठमाण्डौले गरेको हो ।

बागलुङको गौरिधामदेखि पर्वत जिल्लाको जलजला स्थित ओडारे जोड्ने गरी कालीगण्डकी नदीमाथी निर्माण गर्न थालिएको पुल निर्माण गर्न थालेको डेढ वर्षमै पुल निर्माण सकिएको हिम शिखर कन्ट्रक्सनका प्रतिनिधि नरहरी खड्काले जानकारी दिनुभयो ।

बागलुङ बजारलाई पर्वत जिल्लाको जलजला गाउँपालिका संग जोड्दा बागलुङ बजारको व्यापार व्यवसाय बढ्ने र जलजला बासीहरु घण्टौ लगाएर बागलुङ बजार आउनुपर्ने अवस्थाको अन्त्य भएको छ ।
जलजलाबाट बागलुङ बजारको विद्यामन्दिरको कक्षा १२ मा अध्ययनरत विद्यार्थी अभिषेक जिसीले आफूलाई जलजलाबाट हिडेर बागलुङ अध्ययन गर्न आउदा डेढ घण्टा लाग्ने बताउनुभयो । उहाँले चार दिनदेखि पुलबाट आवातजावत गर्न थालेको भन्दै पुल निर्माणसंगै कोठा लिएर बागलुङ बजार बस्नुपर्ने अवस्थाको अन्त्य भएको बताउनुभयो ।

“कोठा लिएर ११ कक्षा पढेको थिए, पुल बन्नथालेपछि कोठा छोडेर घरबाटै आउन जान थालेको थिए, चार दिन यता पुल सञ्चालनमा आएसंगै १० मिनेटमै बागलुङ आउन सकिने भैयो” छ बजे बागलुङ बजारको विद्यालयमा आउन बिहान साढे चार बजेनै घरबाट हिड्नुपर्ने बाध्यताको अन्त्य भएको छ ।”

जलजलाका नागरिकहरु प्रशासनीक कामका लागि सदरमुकाम कुस्मा गएपनि व्यापारिक कामका लागि बागलुङ आउने भएकाले पुल निर्माणले सहज बनाएको छ । पुल निर्माणका लागि २०७९ जेठमा निर्माण कम्पनीसंग सम्झौता भएको थियो । सम्झौता अगावै पुल निर्माण सकिएर सर्वसाधारणका लागि खुला गरिएको छ ।

पुल निर्माणले उपल्लाचौरको गौरिधाम मन्दिरको महिमालाई बढाएको स्थानीय राजेन्द्र बहादुर जिसीले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *