महिला समूहले खोल्यो दुनाटपरी उद्योग


खेमराज गौतम, बागलुङ
बागलुङ बजारमा पहिलोपटक दुनाटपरी उद्योग सञ्चालनमा ल्याइएको छ । उद्यमशिल मगर महिला समूह बागलुङ नगरपालिका–३ शान्तिटोलले मंगलबारबाट दुनाटपरी उत्पादन गर्न थालेको छ ।
साल तथा कटुसको पातलाई बासको सिन्काले उनेर परम्परागत तरिकाबाट बनाउने दुना तथा टपरीलाई आधुनिक ढंगले उत्पादन गर्न थालिएको हो । वनमा खेर गइरहेको सालको पातको सदुपयोग गर्दै दुना टपरी उद्योग सञ्चालनमा ल्याइएको मगर महिला समूहले जनाएको छ ।

रु. तीन लाख लागतमा सञ्चालनमा ल्याएको उद्योगको गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा बातावरणमन्त्री दिपेन्द्र बहादुर थापा र गण्डकी प्रदेश सांसद कुशुम बुढाले संयुक्तरुपमा उद्घाटन गर्नुभएको थियो ।

उद्घाटनपछि बोल्दै मन्त्री थापाले साना तथा घरेलु उद्योगलाई गण्डकी प्रदेश सरकारले प्रोत्साहन गर्ने बताउनुभयो । उहाँले महिला समूह मिलेर नेपाली समाजमा अत्यावश्यक रहेको दुनाटपरी उद्योग सञ्चालन ल्याएर आत्मनिर्भरको बाटोमा लागेकोमा खुसी व्यक्त गर्नुभयो ।



धार्मिक कार्यका लागि महत्वपूर्ण मानिदै आएको दुना टपरी पछिल्लो समय अन्य प्रायोजनमा समेत प्रयोगमा आउन थालेको छ । दुनाटपरीमा रेष्टुराँमा समेत प्रयोगमा आउन थालेको छ । २८ जनाको महिला समूहले बंगुरपालन व्यवसाय गर्दै आएकोमा गत वर्षको अफ्रिकन स्वाइन फिवरका कारण बंगुर मरेपछि दुना टपरी उद्योग सञ्चालनमा ल्याइएको उद्यमशिल मगर महिला समूहका अध्यक्ष बल कुमारी पुनले जानकारी दिनुभयो ।

काठमाण्डौबाट दुना टपरी बनाउने रु. एक लाख ९२ हजारको औजार खरिद गरेर भाडामा सटर लिएर दुना टपरी उद्योग सञ्चालनमा ल्याएको पुनको भनाई छ । अहिले महिला समूहले दुना टपरी बनाउनका लागि प्रशिक्षण लिइराखेको उहाँको भनाई छ ।

“झण्डै २२ लाखको लगानीमा खोलिएको बंगुरपालन व्यवसायबाट नोक्सानी भयो, महिला समूहले राम्रो आम्दानी गर्दै आएको बंगुरपालन व्यवसाय धरासायी भएपछि अहिले दुना टपरी उद्योग सञ्चालनमा ल्याएका छौं, विशेषगरी सालको पातलाई सुकाएर मेशिनमा राख्दा सोझै दुना टपरी बनेर निस्कन्छ” पुनले भन्नुभयो “बागलुङमा पोखरा बुटवलबाट दुना टपरी आयात भएको देखेपछि महिला समूहले सामुहिक रुपमा दुनाटपरी उद्योग सञ्चालनमा ल्याइएको हो, उक्त उपकरणले पाँच थरी साइजका दुना टपरी बनाउन सक्नेछ ।”

महिला समूहकै खर्चले उद्योग सञ्चालनमा ल्याएपनि स्थानीय सरकारले वनमा खेर गएको सालको पात टिप्नका लागि सहजीकरण गर्न आवश्यक रहेको पुनको भनाई छ ।

उद्यमशिल मगर महिला समूहले १५ लाख संघीय सरकारको अनुदान र महिला समूहको रु. सातलाख लगानीमा खाल्टेखेतमा बंगुरपालन गर्दै आउनुभएको थियो । गत वर्ष अफ्रिकन स्वाइन फिवर महामारीका कारण बंगुरफर्ममा रहेका ६०० बंगुर मरेपछि मगर महिला समूहले यस वर्ष दुना टपरी उद्योग सञ्चालनमा ल्याउनुभएको हो ।

बागलुङ बजार आसपासमा खेर गएका सालको पातलाई दुनाटपरी बनाएर बजारमा पठाउन थालिएको छ । पछिल्लो समय सालको पातका दुना तथा टपरीमा रेष्टुराँका परिकार समेत विक्रि गर्न थालिएपछि यसको माग उच्च रहेको र आयातित दुना टपरीलाई प्रतिस्थापन गर्न दुना टपरी उद्योग सञ्चालनमा ल्याइएको हो ।

दुना टपरी उद्योगले मगर महिला समूहले रोजगारी पाउने अपेक्षा समेत गरिएको छ ।
दुना टपरीलाई दुई रुपैया देखि ८ रुपैया सम्ममा बजारमा बिक्रि गर्न सकिनेछ ।
बागलुङको भिमगिठेमा यस अघिनै दुना टपरी उद्योग सञ्चालनमा आएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *