बागलुङमा चौतारी संरक्षण अभियान

आदर्श अनलाइन, बागलुङ

पछिल्लो वर पिपल र चौतारी मासिदै आएका छन् । परम्परागत तरिकाले निर्माण गरिएका उक्त सम्पदाहरु मासिन थालेपछि बागलुङमा संरक्षण गर्न थालिएको छ । सडक विस्तारका क्रममा मासिएका चौतारीलाई यहाँ संरक्षण गर्न थालिएको हो । मासिदै आएका वर, पिपल र चौतारीहरुले मौलिक सम्पदा गुमेको भन्दै ै चौतारी संरक्षण अभियान थालिएको छ ।

सडक विस्तारका क्रममा सार्वजनिक स्थलमा रहेका चौतारी र वर पिपलहरु मासिन थालेपछि नयाँ चौतारी निर्माण गर्ने र भइरहेका चौतारीलाई मर्मत संभार गर्ने अभियान थालिएको छ । बागलुङ नगरपालिका–३ देउरालीचोक नजिकैको हनुमानपौवाको चौतारी पुन निर्माण गरिएको छ ।

सडक विस्तार र पहिरोका कारण चौतारी भत्किएर बस्नै नमिल्ने भएपछि स्थानीय तीर्थ प्रसाद श्रेष्ठको सहयोगमा चौतारी संरक्षण गर्न थालिएको बागलुङ नगरपालिका–३ का वडा अध्यक्ष सनी केसीले जानकारी दिनुभयो ।

“हनुमान पौवामा पाँच वर्ष पहिला सम्म परम्परागत धारोमा पानी आउथ्यो, चिटिक्क परेको चौतारी थियो तर सडक विस्तार र पहिरोका कारण जमनि भासिदा सार्वजनिक शौचालय सहित चौतारो भत्किएको थियो” वडा अध्यक्ष केसीले भन्नुभयो “बागलुङ बजारको प्रवेशद्वारमै चौतारो भत्किएको थियो, त्यसैले स्थानीय तीर्थ श्रेष्ठको आर्थिक सहयोगमा अहिले चौतारी, शौचालय र खानेपानीको काम भएको छ ।”

पछिल्लो समय बागलुङ बजार भित्र रहेका वर पिपल र चौतारी मासिने क्रम बढेकाले संरक्षण गर्नका लागि दाताको सहयोग पाएको वडा अध्यक्ष केसीको भनाई छ । हनुमानपौवामा सुन्धाराको जस्तै खानेपानीको धारा रहेकोमा पछिल्ला वर्षमा संरक्षण अभावमा भत्किएकाले पुन श्रेष्ठकै सहयोगमा खानेपानीको धारा पुननिर्माण गरिएको हो । बागलुङ नगरपालिका–१ रामरेखा स्थित शहिद पार्क अघि हालै नयाँ चौतारी निर्माण गरिएको छ । वर पिपल र चौतारी मासिने सन्र्दभमा यहाँ भने नयाँ चौतारी बन्नु सुखद् रहेको पाइएको छ ।

यस्तै बागलुङ नगरपालिका–८ सिगाना थापाथर नजिकै फागुन महिनामै श्रमदानबाट नयाँ चौतारी निर्माण गरिएको छ । घर नजिकै रहेको चौतारी पहिरोले पुरेपछि स्थानीयको पहलमा सडक छेउको घुम्तीमा चौतारी निर्माण गरिएको स्थानीय युवा राजिन खड्काले बताउनुभयो । खड्काले गाउँमा युवाहरु जुटेको समयमा श्रमदान गरेर सडक छेउमा चौतारी निर्माण गरेको बताउनुभयो ।

“सार्वजनिक सम्पतीको रुपमा रहेको चौतारी मासिनेक्रम बढेकाले थापाथर जाने सडकको घुम्तीमा यहाँका युवाको सक्रियतामा चौतारी चिनिएको छ, आर्थिक सहयोग जुटाएर प्लाष्टर सहित रङ्ग रोगन गरेर चिटिक्क पार्ने हाम्रो योजना छ” खड्काले भन्नुभयो “रोजगारीका लागि विभिन्न देशमा गएका युवाहरु घर फर्केको समयमा श्रमदान गरेर बनाइएको चौतारीमा वर पिपल भने सार्न बाँकी छ ।”

सडक विस्तारका क्रममा सयौ वर पिपल र चौतारी मासिएको सन्र्दभमा बागलुङमा चौतारी संरक्षण गर्नका लागि स्थानीयहरु अग्रसर भएका हुन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *