बरेङ–शान्तिपुर सडक : १६ वर्षसम्म पनि स्तरोन्नती भएन

डम्मर बुढा मगर, बागलुङ
दक्षिण बागलुङलाई मुख्य सहरी क्षेत्रसँग जोड्न वि.सं. २०६४ सालमा ट्रयाक खुल्यो । बागलुङको बरेङ गाउँपालिका र गुल्मीको शान्तिपुरलाई जोड्नका लागि निमार्ण भएको सडक १६ वर्ष बिती सक्दा पनि स्तरोन्नती हुन सकेको छैन । खाल्डाखुल्डी र अप्ठ्यारो सडक त्यसमाथि साँघुरो हुँदा यहाँका हजारौँ नागरिकले जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । बरेङदेखि शान्तिपुरसम्मको १३ किलोमिटर सडक डेढ दशकदेखि बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुन्छ । जसका कारण सडक छेउछाउका बस्ती विस्तापित हुन बाध्य छन् । बरेङ क्षेत्रको मेरुदण्डका रुपमा रहेको यस सडक स्तरोन्नतीतर्फ राज्यको ध्यान नगएको भन्दै वर्षौँदेखि स्थानीयले गुनासो गर्दै आएका छन् ।

जिल्लामा तीन वटा राष्ट्रिय गौरवका आयोजना अन्तरगतका राजमार्ग छन् । मध्यपहाडी लोकमार्ग, कालीगण्डकी कोरिडो र सालझण्डी–ढोरपाटन सकड कुनैले पनि बरेङ गाउँपालिकालाई छोएको छैन । यद्यपी गाउँपालिकाले कालीगण्डकी कोरिडोरसँग जोड्न सडक निर्माण गरि सकेको छ । तर बरेङ–शान्तिपुर सडक मुख्य नाका हो । दुई जिल्लालाई जोड्ने यो सडकले दक्षिण बागलुङ ‘व्यापारीक सडक’का रुपमा लिइन्छ । बरेङ क्षेत्रका लागि जिल्ला सदरमुकाम बागलुङ अपाइक पर्छ । प्रशासनिक कामबाहेक यहाँका अधिकांश स्थानीय बुटवल जाने गर्छन् । दैनिक हजारौँ यात्रु ओहोरदोहोर गर्ने सडकको दुरावस्था राज्यको नजरमा नपरेको स्थानीय गुनासो गर्छन् ।

गाउँपालिकाले बरेङडाँडादेखि पालिकाको कार्यालय सुँडालासम्म फराकिलो बनाउने, नाली निर्माण र ग्याविन उठाएको छ । सडक कालोपत्रे गर्ने बजेट नहुँदा अहिलेसम्म सडक धुलाम्मे रहेको बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले बताउनुभयो । कालोपत्रेका लागि धेरै बजेट लाग्ने तर पालिकाको बजेटले बजेटले नभ्याउने उहाँको भनाइ छ । गुल्मीको शान्तिपुर र बुुटवल व्यापार तथा अन्य कामका लागि नजिक भएको हुँदा आवतजावत बाक्लो हुने अध्यक्ष शर्मा बताउनुहुन्छ । डेढ दशक अगाडि निर्माण भएको सडकको अवस्था अहिले पनि उस्तै हुँदा धेरै नागरिकले सास्ती खेप्नु परेको उहाँको भनाइ छ ।

अध्यक्ष शर्माले भन्नुभयो – “यो सडक बाह्रै महिना संचालनमा हुन्छ, तर निकै साँघुरो र अप्ठ्यारो छ, यस्तो सडकमा दुर्घटना हुने जोखिम उच्च हुन्छ, सडकलाई व्यवस्थित गरि कालोपत्रे गर्नका लागि केन्द्र र प्रदेश सरकारसँग माग गर्दै आएका छौँ, पालिकाको बजेटले पुग्दैन, तर पनि हामीहरुले समय–समयमा साँघुरो सडकलाई फराकिलो बनाएर सवारी साधान संचालन गर्ने गरेका छौँ, करिब दुई÷तीन किलोमिटर त कालोपत्रेका लागि तयार पनि गरेका छौँ, बजेट अभावले काम हुन सकेको छैन ।”

स्थानीय प्रेमबहादुर थापाले सडक अप्ठ्यारो हुँदा यात्रु मर्कामा पर्नु परेको बताउनुभयो । सडक कालोपत्रे भए बरेङदेखि बुटवल तीन घण्टामै पुग्न सकिने भन्दै भाडा पनि घट्ने उहाँको भनाइ छ । अहिले बुटवल पुग्न करिब पाँच घण्टा लाग्छ । धुलो र हिलोका कारण सडक छेउका धेरैले बस्तीहरु बसाइँसराइ गर्न बाध्य भएको भन्दै आफूहरुले धेरै पटक सरकारसँग माग गरे पनि सुनुवाई नभएको गुनासो पोख्नुभयो । यो सडक वर्षौँदेखि उपेक्षामा परेको थापाको भनाइ छ ।

“यो सडक पिच हुन्थ्यो भने समय बचत हुन्थ्यो, भाडा घट्ने थियो, अहिले यात्रा ग¥यो समय बढी लाग्छ, भाडा बढी लाग्छ, त्यसमाथि साँघुरो र अप्ठ्यारो बाटोमा जोखिम मालेर यात्रा गर्नु परेको छ” थापाले भन्नुभयो – “यहाँबाट बागलुङ जान पर्दैन, बागलुङ जाने सडकको हालत पनि उस्तै छ, हाम्रो मुख्य बजार बुटवल हो, सदरमुकाम त उल्टो पर्छ, प्रशासनिक कामले मात्रै जाने हो, नेताहरुलाई धेरै पटक सडक कालोपत्रेका लागि माग ग¥यौँ तर सुनेनन् ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *