एमाले बागलुङको नेतृत्वका लागि तीन जनाको रस्साकस्सी


खेमराज गौतम, बागलुङ
नेकपा एमाले बागलुङको आगामी नेतृत्वका लागि नेताहरुको दौडदुप शुरु भएको छ । नेतृत्वका लागि मुख्य तीन जनाको बढी चर्चा रहेको छ ।

वर्तमानका अध्यक्ष हिरा बहादुर केसी, पूर्व अध्यक्ष जनक पौडेल र सचिव विष्णु प्रसाद भुषालले नेतृत्वका लागि दावेदारी प्रस्तुत गर्नु भएको छ । अध्यक्ष केसी वर्तमान कार्यकाल छोटो भएकाले आफुले शुरु गरेका काम सम्पन्न गर्नका लागि नेतृत्व दोहो¥याउने पक्षमा हुनुहुन्छ । नेकपा एमालेका पूर्व जिल्ला अध्यक्ष जनकराज पौडेल कार्यकर्ताको रोजाइमा परेको भन्दै पुन नेतृत्वको दाबेदारीमा आउनुभएको छ । अहिलेका पार्टी सचिव विष्णु भुषाल सांगठनको नियमित प्रकृयामै आफू अध्यक्ष हुनु पर्ने भन्दै अध्यक्षको दावेदारी गर्नु भएको छ । पार्टीको संगठन विभाग हाकेर आएको बताउदै भूषालले आफू सर्वसम्मत अध्यक्ष चुनिने दाबी गर्नुभएको छ ।

नेतृत्व दोहो¥याउनका लागि नेकपा एमालेका अध्यक्ष हिरा बहादुर केसी लबिङमा लाग्नुभएको मात्रै छैन एमालेको सचिवालय बैठकको निर्णय सार्वजनिक कार्यक्रममा पत्रकारहरु समक्ष आफ्नो कार्यकाल पुरा नभएको बताउदै पुन दोहोरिन सक्ने संकेत दिनुभएको थियो । पत्रकार सम्मेलनमा अहिलेको मुख्य चर्चामा आएका तीन जना मध्ये जनकराज पौडेल अनुपस्थित रहनु भएको थियो । एमाले अध्यक्ष केसीले नेतृत्वको दाबीदारीमा आउनुभएका जनक पौडेललाई लक्षित गर्दै भन्नुभयो “बाहिर कस्को के चर्चा छ मलाई जानकारी छैन, पत्रकारलाई थाहा होला अबको एमाले पार्टी नेतृत्व यही हलमा बसेका नेताहरुबाटै हुन्छ, बाहिर ध्यान नदिनुहोला ।”

केसीले आवश्यक परे निर्वाचनमा होमिन समेत पछि नपर्ने जिकिर गर्नुभएको छ । “अध्यक्ष पदमा निर्वाचित भएको २ वर्ष मात्रै भयो, एक पटक पार्टी नेतृत्व गर्नु स्वभाविक हो, अहिले केन्द्रिय नीति सर्वसम्मतकै छ, सर्वसम्मत नेतृत्व चुनिने बढी संभावना छ, त्यसो भन्दैमा निर्वाचनमा जानै डराउने भन्ने हैन, भाले–भाले परे भिडन्तै गरौला” अध्यक्ष केसीले भन्नुभयो “म संगै निर्वाचन हारेका कृष्ण काका सांसद भइसक्नुभयो, झण्डा हल्लाएर आउन बेर छैन, म अझै एक पटक पार्टीको झोला बोक्छु भन्दा कार्यकर्ताले कसो नपताउलान र ?”

केन्द्रीय नेताहरुको झुकाव र छनोट भएर आएका प्रतिनिधिको नारी छामेपछि केसी नेतृत्वका लागि थप कस्सिने देखिएको छ । उहाँले आफू मध्यकालमै रहेको बाताउदै संगठन सुदृढीकरण गर्न र चार वर्षको अवधीमा गर्ने कामको योजना पुरा गर्नका लागि दोहो¥याउन चाहेको आशय व्यक्त गर्नुभएको छ ।

यस्तै नेकपा एमालेका पूर्व अध्यक्ष तथा बागलुङ नगरपालिकाका निर्वतमान नगरप्रमुख जनकराज पौडेलले एमाले बागलुङको गति सहि नभएको धारणा व्यक्त गर्नुभएको छ । उहाँले पार्टी अहिले सही ढंगबाट चल्न नसक्दा नेता तथा कार्यकर्तामा थप निराशा प्रकट भएको बताउदै पुन एक पटक पार्टी नेतृत्व गर्ने बताउनुभएको छ ।

आफ्नो कार्यकाल बागलुङको पार्टी यो अवस्थामा ल्याउन सबैभन्दा बढी सफल भएको सुनाउदै एक पटक अनुभव खर्चनका लागि पुन निर्वाचनमा जाने तयारीमा लागेको बताउनुभयो । उहाँले आफ्नो नेतृत्वमा जानका लागि अधिकांश तलबाट कार्यकर्ताहरुले अगाडि बढ्न प्रेरित गरेको खुलाउनुभएको छ । “पार्टी भित्र गुट बनाउने, गुटको संरक्षण गर्ने कार्यले नेतृत्व हुँदैन, युवा भनेका नेताहरुबाट समेत पार्टी सहि ढंगले नचलेको स्पष्ट भइसक्यो” पौडेलले भन्नुभयो “पार्टी कसरी चल्छ भन्ने कुरा मेरै कार्यकालले पुष्टी गरेको थियो, थप काम गर्न नेतृत्वमा पुनः आउन थालेको छु, यो मेरो रहर नभएर आम कार्यकर्ता र सुभेच्छुकको माग हो ।”

गत प्रदेश अधिवेसनमा देखिएकोे गुटका कारण नराम्रो हार व्यहोर्नु भएका पौडेलले जिल्ला नेतृत्वमा बदला लिने कतिपय कार्यकर्ताहरु बताउछन् ।

पश्चिम बागलुङको सिंगो प्रतिनिधित्व गर्दै यसपटक आफै नेतृत्वमा पुग्ने गरी लागेका सचिव विष्णु भुषालले सर्वसम्मतका लागि समेत आफु उपयुक्त पात्र भएको दावी गनु भयो । भुगोल, पार्टीमा गरेको योगदान, निरन्तरको क्रियाशिलताका कारण यतिबेला आफ्ना अगाडि अध्यक्षमा दावी गर्नुको विकल्प नभएको बताउनुभयो ।

तेस्रो जिल्ला अधिवेशनबाट जिल्ला कमिटि सदस्य, पाचौबाट सचिवालय सदस्य, आठौमा उपसचिव र नवौमा सचिव बनेका भुषाल जिल्ला कमिटिका सबै भन्दा सिनियर नेता हुनुहुन्छ, अरु सबै जिल्ला कमिटि भन्दा बाहिर गइसकेर फेरी आउनु खोज्दै हुनुुहुन्छ, म निरन्तर यही कमिटिमा छु, जिल्लाको अध्यक्ष भइसकेका सबै नेताहरु र तल्लो कमिटिका साथीहरुले आफुलाई अध्यक्षका लागि अगाडि बढ्न सुझाव दिएको भुषालको दावी छ ।

“पार्टीका लागि गरेको सर्मपण नेता कार्यकर्ताले बुझिसकेका छन्, कुनै हालतमा पछि हड्दिन, सर्वसम्मत नभए निर्वाचनमा गए पनि नेतृत्वमै आउछु” भुषालले भन्नुभयो “अहिलेको ध्यान सर्वम्मतमा छ हामीले जनताको कामका लागि चुनिने हो, पार्टीले यस पटक मुल्याङ्कन गर्छ, केन्द्रिय स्तरका नेताहरु मेरो पक्षमा उभिएका छन् ।”

एमाले बागलुङ नेतृत्वका लागि दुई पत्रकारहरुले समेत आफ्नो दाबेदारी रहेको चर्चा बाहिर आएको छ । नेपाल पत्रकार महासंघ बागलुङका पूर्व अध्यक्ष हरिनारायण गौतम र पूर्व अध्यक्ष राम बहादुर जिसीको समेत चर्चा बाहिर आएको हो । जिसीले गत एमालेको निर्वाचनमा उपाध्यक्षमा उम्मेदवारी दिनु भएको थियो ।

पश्चिम बागलुङको प्रतिनिधित्व कम भएको भन्दै लक्ष्मण पुनलाई अगाडि बढाएपछि जिसीले उमेदवारी फिर्ता लिएर उपाध्यक्षमा पुनलाई सर्वसम्मत गराउन सहयोग गर्नु भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *