छ महिनामै उप्कियो लोकमार्गको कालोपत्रे

डम्मर बुढा मगर, बागलुङ
राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङको घोडाबाँधे–गलकोट खण्डमा कालोपत्रे गरेको छ महिना नबित्दै उप्किएको छ । कालोपत्रे उप्किएपछि सडकमा खाल्डाखुल्डी परेर दुर्घटनाको जोखिम बढेको छ । झण्डै एक दशक अगाडि कालोपत्र भएको घोडाबाँधे–गलकोट खण्ड जीर्ण बनेपछि मर्मत गरिएको थियो । निर्माण कम्पनीले गत असोजमा कालोपत्रे गरेको सडक एक महिना दिन नपुग्दै उप्किन थालेको थियो । अहिले लोकमार्गको बीच भागमा ठूला–ठूला खाल्डा परेका छन् भने कालोपत्रे उप्किएर हिलाम्मे र धुलाम्मे बनेको छ ।

छ महिना नबित्दै कालोपत्रे उप्किन थालेको भन्दै स्थानीयले निर्माण कम्पनी र सरोकारवाला निकायले लापरबाही गरेको आरोप लगाएका छन् । वि.सं.२०७९ असार २२ मा लोकमार्ग कार्यालयसँग सम्झौता गरी जोशी निर्माण कम्पनी काठमाडौँले काम थालेको थियो । निर्माण कम्पनीले कालोपत्र गरेको लोकमार्गको घोडाबाँधे भ्यूटावर, काफलठूटा, झाँक्रीस्थान नरठाँटी लगायत दर्जनौँ ठाउँमा उप्किए छ । सडकको मुख्य भागमा कालोपत्रे उप्किएर खाल्डाखुल्डी बनेपछि यात्रा गर्न असहज भएको गाडी चालक बलबहादुर सुनारले बताउनुभयो । करोडौँ खर्च गरेर कालोपत्रे गरे पनि उप्किएर पहिलेकै अवस्थामा पुगेको उहाँको भनाइ छ ।

सुनारले भन्नुभयो – “ठेकेदारले सुरुमा राम्रो काम गरि रहेको थियो, तर कालोपत्रे गर्ने बेलामा कमसल सामान प्रयोग गरेछ, अहिले एक पनि सररर गाडी कुदाउने खालको सडक छैन, जताततै खाल्डाखुल्डी र हिलोधुलो छ, दिनदिनै सयौँ गाडी हिँड्छन्, दिनदिनै यो सडक उप्केको उप्के छ, यो हिसाबले त एक÷दुई महिनामा त कालोपत्रे गरेको केही रहँदैन, यसको जिम्मेवारी कसले लिने ?, गुणस्तरहीन काम भएको छ, सरकारले यसरी ठगेर राज्यको करोडौँ रकम झ्वाम पार्नेलाई कारबाही गर्नुपर्छ ।”

गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले लोकमार्ग अन्तरगत गलकोट खण्डको धेरै ठाउँमा समस्या भएको बताउनुभयो । नरेठाँटीदेखि भ्यूटावरसम्मको सडक कतै कालोपत्रे उप्किएको, कतै नाली पुरिएको त कतै सडकको ‘लेवल’नै नमिलेको उहाँको भनाइ छ । सडक मर्मत गर्ने बेलामै निर्माण कम्पनीलाई गुणस्तरीय काम गर्नका लागि नगरपालिका सचेत बनाउँदै आएको भन्दै पाँच महिनामै सडक यात्रा गर्न निकै गाह्रो हुने गरि बिग्रिएको भण्डारीले बताउनुभयो ।

लोकमार्ग मर्मतका लागि निर्माण कम्पनीले रू १३ करोड ९९ लाखमा आगामी असोज २१ गतेसम्म सडक मर्मत सक्ने गरी ठेक्का लिएको थियो । मध्यपहाडी लोकमार्गक कार्यालय पर्वतका सूचना अधिकारी इञ्जिनियर पवन सुवेदीले निर्माण कम्पनीले समयमै काम सके पनि गुणस्तरीय नभएको बताउनुभयो । इन्जिनियर सुवेदीले कालोपत्रे भएको एक महिना नबित्दै उप्किएको सडकलाई पुनः मर्मत गरेको भन्दै निर्माण कम्पनीलाई बिग्रिएको ठाउँमा काम गर्न आग्रह गरेको बताउनुभयो ।

“निर्माण कम्पनीले जिम्मा लिएको जति पनि स्थानमा सडक भत्किएको छ, कालोपत्रे उप्किएको छ, त्यो सबै उसैले बनाउनु पर्छ, यसको जिम्मेवार कार्यालय हुँदैन, हामी समयमै सडक बिग्रियो, काम गर्नु प¥यो भनेर भनि रहेका छौँ,” सुवेदीले भन्नुभयो – “काम गर्दै गर्दा पनि कालोपत्रे उप्किएको गुनासो आएको थियो, त्यसलाई मर्मत गर्न लगाएका थियौँ, अहिले फेरि धेरै ठाउँमा उप्किएछ, त्यो निर्माण कम्पनीले जिम्मेवार भएर काम गर्नु पर्छ ।”

लोकमार्ग बागलुङमा करिब एक सय ४२ किलोमिटर पर्छ । त्यस मध्ये बिउँ खण्डको १२ किलोमिटर बाहेक अधिकांश सडक कालोपत्र भइसकेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *