स्रोत सुनिश्चित नहुँदा ढोरपाटन नगर अस्पताल अलपत्र

डम्मर बुढा मगर, बागलुङ
ढोरपाटन सिकार आरक्ष क्षेत्रमा निमार्णाधिन नगर अस्पताल अलपत्र परेको छ । ढोरपाटन नगरपालिका–९ पाखाथरमा १९ महिना अगाडि सुरु भएको नगर अस्पताल अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चितता नहुँदा अलपत्र परेको हो । निर्माण कम्पनीले ५० प्रतिशत काम सम्पन्न गरि सकेको छ । आधा काम गरि सक्दा पनि भुक्तानी नपाएपछि अहिले अस्पतालको काम ठप्प भएको हो । माघ महिनासम्म दर्जनौँको संख्यामा कामदार लगाएर काम गरि रहेको निर्माण कम्पनीले अहिले काम छोडेको छ ।

ढोरपाटन क्षेत्रका नागरिकलाई लक्षित गरि निर्माण सुरु भएको १५ शैयाको नगर अस्पतालको काम रोकिएपछि सरकारले बजेट व्यवस्थापन गरेर अस्पताललाई पूर्णता दिनु पर्ने स्थानीयको माग छ । वि.सं. २०८२ असार २३ सम्ममा सक्ने गरि सम्झौता भएको थियो । काम सुरु गर्दा नगरपालिकाले पेश्की स्वरुप दुई करोड ४६ लाख उपलब्ध पनि त्यस यता काम गरेको भुक्तानी नपाएको एसी कन्ट्रक्सन प्रालिका प्रमुख दीपक अदैले बताउनुभयो । उहाँले भदौ महिनासम्म ६ करोड ६१ लाखको काम सम्पन्न गरि नगरपालिकामा बिल बुझाए पनि अहिलेसम्म रकम नपाएको गुनासो पोख्नु भयो ।

हालसम्म अस्पतालको आधाभन्दा बढी काम सकेको भन्दै साढे आठ करोड भुक्तानी हुन बाँकी रहेको अदैले बताउनुभयो । करोडौँ रकम भुक्तानी नहुँदा काम गर्न निकै गाह्रो भएको उहाँको भनाइ छ । अस्पातलको भवन निर्माणका लागि १७ करोड ५० लाखमा सम्झौता भए पनि सरकारले स्रोत सुनिश्चितता नगर्दा भुक्तानी पाउन नसकेको हो । ढोरपाटनमा निर्माण सामग्री ढुवानी गर्न र कामदार लगाउन निकै खर्चिलो भएको र आफूले जसोतसो व्यवस्थापन गर्दै आए पनि अहिले निकै गाह्रो भएको उहाँको भनाइ छ ।

“हामीहरु इमान्दार भएर काम ग¥यौँ तर अहिले भुक्तानी पाएनौँ, भुक्तानी पाउन नसक्दा, काम छोड्न बाध्य भयौँ, सबै व्ययभारहरु मिलाउन गाह्रो भएको छ, भदौसम्मको छ करोड बढी बिले पेस गरेको महिनौँ भयो, अहिलेसम्म एक रुपैयाँ पनि पाएका छैनौँ, त्यसपछि पनि माघसम्म पैसा आउने आशमा काम गरियो आएन र काम गर्न सकिएन” अदैले भन्नुभयो – “अहिलेसम्म आठ करोडभन्दा बढी रकम पाउन छ, स्रोत सुनिश्चित नहुँदै ठेक्का लगाइएको रहेछ, यसमा हाम्रो के दोष ?, अहिले हामीहरु निकै समस्यामा परेका छौँ, काम गरेको करोडौँ रुकम नपाउँदा व्ययभारले तनाव बनाएको छ ।”

उपत्यका क्षेत्रमा ढोरपाटन नगरपालिका वडा नम्बर ६, ७, ८ र ९ का करिब पाँच हजार बढी स्थानीय यहाँ बसोबास गर्दै आएका छन् । हिउँदको समयमा अधिकारीचौर, बोबाङ लगायतका ठाउँमा झर्ने र बर्खाको समयमा ढोरपाटन बस्ने गर्दछन् । अस्पताल निर्माणपछि ढोरपाटनसँगै निसेलढोर र पूर्वी रुकुमको तकसेरा, हुकाम मैकोट, म्याग्दीको जलजलाका नागरिकलाई उपचारमा सहज हुने अपेक्षा लिइएको छ ।

ढोरपाटनमा अहिलेसम्म अस्पातल बन्न सकेको थिएन । नगरपालिकाले सहरी सामुदायिक स्वास्थ्य इकाई संचालनमा ल्याएर सेवा प्रवाह भइ रहेको छ । बुर्तिबाङ बजारदेखि ३२ किलोमिटरको दूरीमा रहेको ढोरपाटनमा बाहिरबाट आउने पर्यटकसमेत बिरामी हुँदा उपाचारमा समस्या हुने गरेको छ । उच्च स्थानमा हुँदा पर्यटकलाई लेक लाग्ने समस्या बढी हुने गरेको पाइन्छ । निर्माणधिन अस्पतालका लागि स्रोत सुनिश्चित नहुँदा अर्थ मन्त्रालयले भुक्तानी गर्न नसक्ने जनाएको छ । ढोरपाटन नगर अस्पतालसहित देशभरका ९८ वटा पालिकास्तरीय अस्पताललाई ३७ अर्ब ११ करोड ८४ लाख ५ हजार भुक्तान गर्न बाँकी रहेको हुँदा तत्काल नसकिने जनाएको छ ।

ढोरपाटन नगरपालिकाका प्रमुख प्रशाकीय अधिकृत विष्णुप्रसाद ज्ञवालीले निर्माण कम्पनीले माघ महिनासम्म तीव्र गतिमा काम गरेको भन्दै संघीय सरकारले रकम नपठाउँमा भुक्तानी गर्न नसकिएको बताउनुभयो । सात महिना अगाडिनै निर्माण कम्पनीले नगरपालिमा बिल पेस गरेको भन्दै केन्द्रमा पटक–पटक माग गर्दा पनि रकम नपठाएको उहाँको भनाइ छ । नगरपालिकाको स्रोत नहुँदा पालिकाबाट भुक्तानी गर्न सक्ने स्थिती नरहेको ज्ञवाली बताउनुहुन्छ ।

उहाँले भन्नुभयो – “ठूलो रमक निर्माण कम्पनीलाई भुक्तानी गर्न बाँकी छ, स्वास्थ्य मन्त्रालयमा दुई पटकसम्म रकम पठाउनका लागि पत्र पठायौँ तर अहिलेसम्म आएन, उहाँहरुले धेरै काम गर्नु भएको छ, भुक्तानी नगरपालिकाले पनि सक्दैन, नगरपालिकाको आम्दानी हुन्थ्यो भने रिक्स लिएर भुक्तानी दिन सकिन्थ्यो, हाम्रो केही स्रोत छैन, अब माथिबाट नआएसम्म अरु विकल्प छैन, संघीय कार्यक्रम भएको हुँदा अप्ठ्यारो भयो, यसले निर्माण कम्पनी निकै मर्कामा पर्नु भएको छ ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *