डम्मर बुढा मगर, बागलुङ
निसीखोला गाउँपालिका–६ का भुमबहादुर बुढा मगरले ३३ वर्षदेखि चुयाबाट सामग्री बुन्दै आउनु भएको छ । घर नजिकैको जंगलमा प्रसस्त चोया पाइने हुँदा डोको, नाङ्लो र डालो बुन्न उहाँले सानैबाट सिक्नु भयो । बाउ बाजेले बुनेको देखेर सिक्नु भएको बुढा मगरले अहिले पनि यो कामलाई निरन्तरता दिनु भएको छ । हिँजोआज चोयाका सामग्री बिक्री हुन छोडेपछि उहाँमा त्यत्ति जाँगर छैन । एक दशक अगाडिसम्म चोयाका सामग्रीनै बेचेर परिवार चलाउँदै आउनु भएका भुमबहादुरलाई अहिले पेसा परिवर्तन गर्ने सोँचमा हुनुहुन्छ । बजारमा आएका प्लास्टिकका सामानले चोडाका सामग्री प्रयोग हुन छोडेपछि के पेसा अङ्गाल्ने होला भन्ने चिन्ता उहाँलाई छ ।
पहिले–पहिले गाउँमा किलोग्राममा किनबेच हुँदैनथ्यो । माना, पाथीका हिसाबले अन्नपात किनबेच गरिन्थ्यो । तर पछिल्लो समय माना पाथीको प्रचलन हराउँदै गएका छन् । बजारमा प्लास्टिकका डालो, नाङ्ला आउन थालेपछि धेरैको रोजाईमा चोयाका सामग्री पर्न छोडे । मेला महोत्सवका बेला टाढा पुगेर डाला नाङ्ला बच्ने गरे पनि अचेल व्यापार कम हुन हुँदा उहाँ धेरै टाढा पुग्नु हुन्न । गाउँ घरमा पनि बजारबाटै ल्याएका प्लास्टिकका सामान प्रयोग हुन थालेका छन् । जसले मौलिक सिप विस्थापित हुने स्थितीमा पुगेको छ ।
आधुनिक प्रबिधिको बढ्दो विकासका कारण पछिल्लो समय आफ्नो उत्पादनले बजार पाउन छोडेको बुढा मगरले बताउनुभयो । सात वर्ष अगाडीसम्म निकै बिक्री हुने डालोहरु पछिल्लो समय यसको लोकप्रियता कम हुँदै गएको उहाँहरुको भनाइ छ । बजारमा नयाँ–नयाँ प्रबिधिका नापतौलका सामग्रीहरु आएपछि आफूहरुले बुनेका डालो नाङ्लोले बजार पाउन छोडेको बुढा मगर बताउनुहुनछ । परम्परागत नापतौल गर्ने तुलको रुपमा प्रयोग हुने माना पाथी आजकल किलो र लिटरमा परिवर्तन भएको भन्दै गाउँकै मान्छेले डाला नाङ्ला कम प्रयो गर्ने उहाँको भनाइ छ ।
बुढा मगरले भन्नुभयो – “अहिले त के जमाना आयो यस्तो ?, सबै जित बजारमै आउन थाले, ढाला नाङ्लो पनि प्लास्टिकको आउन थाले, अब गाउँमा हाम्ले बनाएका चोयाका सामान के गर्ने, पहिले–पहिले बजारमा नुन, तेल र चामल आउँथ्यो, अहिले त सबै थोक आउन थाल्यो, यसले हामी गाउँका मान्छेहरुलाई समस्यामा पार्ने भयो, वर्षौँदेखि चोयाको काम गर्दै आइयो अहिले उत्पादनले बजार पाउँदैन, सरकारल प्लास्टिकलाई रोक लगाएर स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्नु पर्छ ।”
तमानखोलाका मीनबहादुर घर्तीले पनि आफ्नो सिपले बजार पाउन छोडेको गुनासो गर्नु भयो । एक दशक अगाडिसम्म चोयाका सामग्रीहरु धेरै बिक्री हुने गरेको भन्दै पछिल्लो समय महिनामा पाँच हजार पार्न पनि मुस्किल पर्ने उहाँ बताउनुहुन्छ । पहिले डोको, नाङ्लो र डालो बेचेर महिनामै ३० हजारभन्दा बढी कमाई गरेको सुनाउनुभयो । धेरै जसो मान्छेहरु बजार बस्न थालेपछि गाउँमा उत्पादन हुन सामान प्रयोग गर्न छोडेको बताउनुभयो । अहिले पर्याप्त मात्रामा चोयासमेत अभाव हुँदै गएको बताउनुभयो । वनमा निगालो मासिँदै गएपछि डालो नाङ्लो बुन्ने प्रचलनसमेत घट्दै गएको उहाँको भनाई छ ।
“पहिले–पहिले गाउँमा धेरै मान्छे हुन्थे, वन जंगल जाने, घाँस दाउरा गर्ने चलन थियो, बारीमा धान, गहुँ, मकै उत्पादन गर्ने ठूलो ठूलो डालो र भकारीमा राख्ने चलन थियो, अहिले त गाउँमा मान्छे कम छन्, घाँस दाउरा गर्न छोडे, खेतीपाती पनि कमले गर्छन् पहिलेको जस्तो डालो नाङ्लोको आवश्यक कम पर्छ” उहाँले भन्नुभयो – “पहिले यस्ता सामग्रीहरुको धेरै खाँचो हुन्थ्यो, धेरैले सिकेर बन्थे पनि तर अहिले त बुन्ने मान्छेहरु पनि कम हुँदै गए, हाम्रो समाजले आफ्नो मौलिकतालाई चिन्न छोड्यो ।”