जहाज पर्खी रहेको बलेवा विमानस्थल

डम्मर बुढा मगर, बागलुङ
वि.सं. २०४८ सालमा बागलुङ मोटरबाटोले जोडिएको थिएन । बागलुङसँगै म्याग्दी र मुस्ताङसहित धौलागिरी क्षेत्रका धेरै ठाउँमा यातायातको सुविधा थिएन । यातायातको सुविधा नभए पनि विमानको सुविधा भने थियो । बागलुङ नगरपालिका–१४ स्थित बलेवा विमानस्थलमार्फत जहाजमा यात्रा गर्न भने सहज थियो । बलेवा क्षेत्रका नागरिकले वि.सं. २०२२ सालमा श्रमदान गरि निर्माण गरेको विमानस्थल वि.सं. २०४८ सालसम्म संचालन भएको थियो । जब वि.सं. २०४८ मा बागलुङ सडकले जोडियो, त्यसपछि बलेवामा विमान चल्न छोड्यो । २६ वर्षदेखि बन्द विमानस्थललाई बागलुङ पालिकाले वि.सं. २०७४ चैत ९ गतेबाट पुन संचालन ग¥यो । नगरपालिकाले करिब नौ महिना विमान संचालन गरे पनि धावनमार्ग कच्ची हुँदा विमान संचालनमा समस्या आएपछि उडान रोकिएको थियो ।

साढे दुई दशक बन्द भएको विमानस्थल संचालनमा आउँदा खुसी भएका बलेवावासी जहाज चल्न छोडेपछि निराश बनेका छन् । धावनमार्ग गच्ची देखाएर विमान संचालन हुन छोडेपछि बागलुङ नगरपालिकाले विं.सं. २०७८ चैतमा धावनमार्ग कालोपत्रे गरिएको थियो । धावनमार्ग कालोपत्रेसँगै गरेको दुई वर्ष बढी भइ सक्दा पनि विमान कहिले चल्छ भन्ने निश्चित छैन । नागरिक उड्यन प्राधिकरणको सात करोड रुपैयाँ लागतमा दुई वर्ष अगाडि काष्ठमण्डप÷उमा एण्ड कम्पनी जेभी बल्खुले कालोपत्रे निर्माण गरेको थियो । कालोपत्रे भएको यतिका समयसम्म पनि विमानस्थलमा जहाज चल्न सकेको छैन । कालोपत्रे गरि दुलही झै रङरोघन गरेर सिङ्गारिएको विमानस्थल जहाज नचली जीर्ण बन्न थालेको छ ।

सरकारले करोडौँ लगानी गरे कालोपत्रे गरेको विमानमा जहाज चलाउन तर्फ कसैको ध्यान नगएको स्थानीयको गुनसो छ । जहाज नचल्ने विमानस्थलमा किन करोडौँ लागनी गरियो भनि प्रश्नसमेत उठ्न थालेका छन् । बागलुङ नगरपालिका–१४ का सुरेन्द्र थापाले विमानस्थल संचालनका लागि सरोकारवालाको ध्याननै नगएको बताउनुभयो । ५८ वर्ष अगाडि यहाँका हजारौँ स्थानीयले रगत पसिना बगाएर निर्माण गरेको विमानस्थल अहिले बेवारिसे अवस्थामा पुगेको भन्दै गुनासो पोख्नुभयो । यस क्षेत्रबाट दिनप्रति दिन बसाइँसराइ गरि गाउँ जोड्नेको लर्को लागेको सुनाउँदै विमानस्थल संचालनमा आउने भए धेरै यही ठाउँमै रोकिने उहाँले बताउनुभयो ।

थापाले भन्नुभयो – “हाम्रो बाउबाजेले विमानस्थल बनाउन जग्गा दिए, रगत पसिना बगाएर मेहनत गरे, उति बेलाको जमानामा पनि जहाज चलाए, तर अहिले सबै हिसाबले सहज हुँदै गए पनि विमान चल्न सकेकोन, विकास नहुने बेला चल्यो तर अहिले विकास भयो तर चलाउने हिम्मत कसैले गरेनन्, यहाँ विमान चल्थ्यो भने स्थानीय उत्पादनले बजार पाउँथ्यो, काठमाडौँबाट सामान ल्याउन सस्तो पथ्र्यो, गाउँ आत्मनिर्भर बन्न सक्थ्यो, कोही पनि आफ्नो गाउँलाई छोडेर बाहिर जाने थिएनन् ।”

राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोर छेउमै रहेको विमानस्थल संचालनमा ल्याउनका लागि सरोकारवाला निकायको ध्यानाकर्षण गराई रहेको बागलुङ नगरपालिका–१४ का अध्यक्ष चक्रबहादुर खत्रीले बताउनुभयो । उहाँले गाउँमा भएको सुविधा सम्पन्न विमानस्थल संचालनमा नआउँदा यहाँका धेरै युवा शक्तिलाई रोक्न नकसको बताउनुभयो । विमानस्थल संचालनमा आए धेरैले रोजगार पाउने अध्यक्ष खत्रीको भनाइ छ । उहाँले यस क्षेत्रका धार्मिक तथा पर्यटकीय क्षेत्रलाई पर्यटन र स्थानीयलाई आयआर्जनसँग जोड्न सकिने बताउनुभयो । नियमित विमान संचालनमा आए बलेवावासीको जीवनस्तरसमेत उकासिने अध्यक्ष खत्री बताउनुहुन्छ ।

“विमानस्थल संचालनमा आउँथ्यो भने गाउँमा रोजगारी सिर्जना हुने थियो, बारीमा फलेका हरेक उत्पादनले बजार पाउँथे, युवालाई विदेश जानबाट रोक्न सकिन्थ्यो, दशकौँ अगाडि हाम्रा अग्रजहरुले गैटी र कोदालोले खनेरै यति ठूलो विमानस्थल बनाए, विमान चलाए तर अहिले प्रविधिको विकास भइसक्दा पनि चलाउन सकिएन, अध्यक्ष खत्रीले भन्नुभयो– “पहिले यो विमानस्थलबाट काठमाण्डौ, पोखरा, भैरहवा र जोमसोमको उडान हुने गर्थे, अहिले राजधानीसम्म पनि चल्दैन ।”

कालीगण्डकी करिडोरसँग जोडिएको विमानस्थल पुग्न बागलुङ बजारदेखि १२ किलोमिटर सडक कच्ची छ । कालीगण्डकी करिडोर कालोपत्रे हुन सकेमा विमानस्थल सञ्चालनका लागि यात्रुको अभाव नहुने उहाँको भनाइ छ । विमानस्थल सञ्चालनमा आए बागलुङ, पर्वत र म्याग्दीका नागरिकलाई यातायातमा सहज पहुँच हुनुका साथै साविकको धौलागिरी क्षेत्रको पर्यटन र आर्थिक विकासमा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ ।

बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले विमानस्थ संचालनमा ल्याउनका लागि कालीगण्डकी करिडोर कालोपत्रे हुन पर्ने बताउनुभयो । कोरिडोर कच्ची हुँदा बागलुङ बजारदेखि विमानस्थलसम्म पुग्न धेरै समय लाग्ने र यात्रु कम हुँदा विमान संचालन गर्न नसकिएको उहाँको भनाइ छ । कच्ची सडकमा यात्रा गर्दा यात्रुले धेरै भाडा तिर्नु पर्ने हुँदा कोरिडोर आयोजनालाई तीव्र रुपमा काम गरेर सम्पन्न गर्न आग्रह गरेको उपप्रमुख खड्काले बताउनुभयो । काठमाडौँ र तराई क्षेत्रबाट संचालन गर्ने गरि योजनामा रहेको उहाँको भनाइ छ ।

उपप्रमुख खड्काले भन्नुभयो – “यो विमानस्थल धार्मिक पर्यटकका लागि बढी उपयोगी हुने देखिएको छ, पछिल्लो समय बागलुङ धार्मिक पर्यटकका लागि आकर्षक गन्तव्य बनेको छ, दैनिक हजरौँ भारतीय पर्यटक मुक्तिनाथसमेत पुग्छन्, अहिलेसम्म विमान संचालन गर्न नसक्नुको प्रमुख कारण कालीगण्डकी कोरिडोर कच्ची हुनु हो, यो सडक कालोपत्रे भयो भने भैरवाहबाट पनि विमान संचालन गर्नु पर्छ कि भन्ने सोच छ, बागलुङ नगरपालिका र रुपन्देहीको लुम्बिनी सांस्कृति नगरपालिका बीच भगिनी सम्बन्ध कायम भएको छ, उहाँहरुसँग पनि समन्वय गछौँ र केन्द्र सरकारले साथ दियो भने केही समयमा विमान संचालनमा आउने अपेक्षा छ, यदि कुनै कारण विमानस्थल संचालनमा आउन नसके अन्य कुनै प्रयोजनका लागि प्रयोग गछौँ ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *