ताराखेल संरक्षणमा तमानखोला गाउँपालिका


खेमराज गौतम, बागलुङ
बागलुङ जिल्लाको तमानखोला गाउँपालिकाले ताराखेल (धनुषवाण) संरक्षणमा चासो दिएको छ ।
आदिवासी जनजाती समुदायका लागि निकै लोकप्रिय ताराखेल पछिल्लो पुस्तामा हस्तान्तरण नहुँदा लोप हुँने खतरा बढेपछि गाउँपालिकाले तीन वर्षदेखि ताराखेल प्रर्बद्धनात्मक कार्यक्रम गर्दै आएको छ ।

तमानखोला गाउँपालिकाले ताराखेलको संरक्षण गर्दै नयाँ पुस्ताका खेलाडी उत्पादनका लागि परम्परागत र आधुनिक गरी दुई प्रकारको तारा खेल संरक्षण गर्न थालिएको जनाएको छ ।
ताराखेल खासगरी मगर, छन्त्याल र थकाली लगायतका आदिवासी जनजातीहरुमा प्रचलित खेल हो ।

आदिवासी जनजातीहरुको बाहुल्यता रहेको तमानखोला गाउँपालिकाले ताराखेलको संरक्षण गर्दै नयाँ खेलाडी उत्पादनका लागि ताराखेल प्रतियोगिता आयोजना गर्दै आइरहेको तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले जानकारी दिनुभयो । गाउँपालिकाले तारा खेल प्रतियोगिता गरेर खेलाडी उत्पादनमा जोड दिन थालिएको छ ।

“खासगरी बागलुङको पश्चिम क्षेत्रमा आदिवासी जनजाती समुदायको बाक्लो बस्ती छ, उनिहरुको परम्परागत खेललाई संरक्षण गर्दै गाउँपालिकाले विगतका वर्षमा जस्तै यस पटक समेत ‘तमानखोला ताराखेल’ च्याम्पियन आयोजना गरिसकेको छ” गाउँपालिका अध्यक्ष बुढाले भन्नुभयो “परम्परागत र अन्तराष्ट्रिय मापदण्ड गरी दुई धारमा खेल खेलाइदै आइएको छ, चालु आर्थिक वर्षमा तमानखोला गाउँपालिकाले ताराखेल संरक्षणमा रु. दुई लाख बजेट बिनियोजन गरेको थियो, उक्त कार्यक्रममा ५९ जना तारा खेलका खेलाडी समावेश थिए ।” यस वर्षको ताराखेलको परम्परागत बिधामा १७ जना र आधुनिक विद्यामा ४२ जना खेलाडी सहभागी भएको अध्यक्ष बुढाले जानकारी दिनुभयो ।

यस वर्ष तमानखोला गाउँपालिका ताराखेल आधुनिक तर्फ दिलिप छन्त्याल र परम्परागत तर्फ टाइगर बुढाथोकी च्याम्पियन बनेको तमानखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत इश्वरलाल शाक्यले जानकारी दिनुभयो ।

परम्परागत र आधुनिक दुवै प्रकारको ताराखेलमा च्याम्पियनले नगद रु.१५ हजार ट्रफी मेडल र प्रमाणपत्र, द्वितीयले नगद १० हजार मेडल र प्रमाणपत्र तथा तृतीय हुनेले नगद ५ हजार मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । उत्कृष्ट पाँच जना भित्र पर्नेलाई पनि नगद दुई हजार प्रदान गरिएको छ ।

“धनुषवाण खेल जनजाति समुदायको परम्परा र संस्कारसंग जोडिएको विषय हो, हामीले व्यक्तिगत रुपमा खेल खेलिरहेकै हुन्छौं उक्त खेलमा तमानखोला गाउँपालिकाले समेत सहयोग गर्दै आएको छ, हामी जस्ता खेलाडीलाई हौषला बढेको छ” यस वर्षका ताराखेल प्रतियोगिताका च्याम्पियन दिलिप बुढाथोकीले भन्नुभयो “ताराखेलको संरक्षण प्रवद्र्धन र विकासका लागि गाउँपालिकाले बजेट विनीयोन गरेर प्रतियोगिताको आयोजना गरेको हो ।”

आर्चरी प्रतियोगिताको नामबाट अन्तर्राष्ट्रिय रुपमै प्रतिस्पर्धा हुन थालेकाले गाउँ गाउँमा खेलाडी उत्पादनका लागि प्रतियोगिताले सहयोग पुग्ने अर्का खेलाडी टाइगर बुढाथोकीले जानकारी दिनुभयो ।
“हाम्रो तमानखोलामा धनुषवाण प्रतियोगिताको प्रदेश र राष्ट्रियस्तरको खेलमा उत्कृष्टता प्राप्त गर्न सफल खेलाडीहरु हुनुहुन्छ” उहाँले भन्नुभयो “यहाँका नवप्रतिभाहरुलाई प्रोत्साहित गरेर अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा खेल्ने खेलाडी उत्पादन गर्न सकियोस् भन्ने पनि हो ।”
धनुषवाण अर्थात ताराखेल सिकारी युग सकिएर मानव जीवन कृषि युगमा प्रवेश गरेसंगै सुरुवात भएको विश्वास गरिन्छ । परापूर्व कालमा जंगलको छेउछाउमा बसोबास गर्ने आदिवासी जनजातिहरुले सिकार खेल्नका लागि प्रयोग गर्ने धनुषवाण पछि गएर तारा खेलको रुपमा विकास भएको ताराखेलका खेलाडी तमानखोला निवासी खिमबहादुर पुन बताउनुभयो ।

जनजातीहरुले सिकारका लागि प्रयोग गरेको धनुषवाण पछि मनोरञ्जनका लागि खेलमा रुपान्तरण भएको र अहिले नेपालले अन्तर्राष्ट्रिय रुपमा पदक समेत जित्ने गरेको उहाँले बताउनुभयो । ताराखेलका लागि धुनषवाण, तिर र निशानाको आवश्यकता पर्छ । पछिल्ला दिनहरुमा धुनषवाण र तीर बनाउने व्यक्तिहरुको संख्या निकै घट्दो क्रममा छ । नेपाली मौलिक खेलका सामग्रीहरु अहिले विदेशबाट आयात गर्नुपर्ने अवस्था रहेको खेलाडी पुनले बताउनुभयो ।

यो पनि पढ्नुहोस्