ग्रामीण सडकलाई स्तरीय बनाउँदै गलकोट नगरपालिका

डम्मर बुढा मगर, बागलुङ
बागलुङको मध्य भागमा पर्छ गलकोट नगरपालिका । भौगोलिक हिसाबले समथर भू–भागदेखि उच्च पहाडसम्म फैलिएको गलकोटमा बस्ती–बस्तीसम्म सडक पुगेका छन् । तर ग्रामीण क्षेत्रबाट बसाइँसराइ गरे बजार झर्नेको संख्या ठूलो छ । दिनप्रति दिन बसाइँसराइले गाउँ रित्तिन थालेपछि ग्रामीण सडकमा गाडी गुड्न छोडेका छन् । नगरपालिका स्थपान हुन पूर्वनै गलकोटमा धेरै सडक निर्माण भएका थिए । वि.सं. २०७३ साल अगाडिनै ३३० किलोमिटर ग्रामीण सडक निर्माण भएका थिए । नगरपालिकाको स्थापनादेखि हालसम्म सात वर्षको अवधीमा १५७ किलोमिटर नयाँ सडक खुलेका छन् ।

नगरपालिकाभर नयाँ तथा पुराना गरि ४८७ किलोमिटर ग्रामीण सडक छन् । वर्षौँ अगाडि निर्माण भएका तथा नयाँ ट्रयाक खुलेका सडकलाई पालिकाले स्तरोन्नती गर्न थालेको छ । गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीका अनुसार ११ वटै वडाको सबै बस्तीमा सडक पु¥याइ सकेको हुँदा अब नयाँ ट्रयाक खोल्ने कार्य रोकिएको उहाँको भनाइ छ । यस वर्ष हटिया–हरिचौर–ताराखोला सडक, हटिया बजारदेखि कोटघर सडक र नरेठाँटी–दुदिलाभाटी सडक कालोपत्र गर्न थालिएको भण्डारीले बताउनुभयो । मल्म–पाण्डवखनी, रँगेनी–तोरीखोला–ठानामजुवा सडक र हरिचौर–टेउवा लगायत पालिकाभरका २० सडक चालु आर्थिक वर्षमा स्तरोन्नती भइरहेको उहाँको भनाइ छ ।

प्रवक्ता भण्डारीले भन्नुभयो – “गलकोट क्षेत्रमा धेरै वर्ष अगाडिदेखि नै सडक खुल्न थालेका थिए, नगरपालिका स्थापना भएर जनप्रतिनिधि आएपछि सुरुका वर्षदेखि सडकमा लगानी पनि गरिएको थियो, अब करिब–करिब धेरै बस्तीमा सडक पुगि सकेको हुँदा नयाँ ट्रयाक नखोल्ने योजना बनाएका छौँ, अति आवश्यक परेको ठाउँमा ट्रयाक खोल्नै परे खोलिने छ नत्र स्तरोन्नतीमा ध्यान दिने छौँ ।”

गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले ‘सडक गुरु योजना’ बनाएर काम गर्न थालेको बताउनुभयो । अघिल्लो वर्षदेखिनै पालिका भर रहेका सडकलाई बाह्रै महिना संचालन हुने गराएको भन्दै अब कालोपत्र र स्तरोन्नतीमा जोड दिने उहाँको भनाइ छ । प्रमुख गैरेका अनुसार वि.सं. २०७४ साल यता ११ किलोमिटर ढलान तथा कालोपत्रे, ६५ किलोमिटर ग्राभेल, पाँच वटा मोटरेवल पुल र दुई दर्जन कल्भर्ट निर्माण भएका छन् । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग गलकोटमा करिब ४५ किलोमिटर फैलिएको हुँदा यसलो यातायातमा ठूलो टेवा पु¥याएको गैरे बताउनुहुन्छ ।

“सडक सुधारका लागि नगर पालिकाको सडक गुरु योजना बनाएको, जनघनत्वको आधारमा सबै ठाउँमा सडक पु¥याएका छौँ, धेरै ठाउँमा अस्थायी नाली निर्माण, सडक फराकिलो काम गरेका छौँ, अब हाम्रो उद्देश्य सडक स्तरोन्नती गर्ने र बाह्रै महिना चलाउने बनाउनु हो,” प्रमुख गैरेले भन्नुभयो – “सकेसम्म सबै सडकलाई कालोपत्र गर्नु पर्छ भन्ने लागेको छ, नगरपालिकाको स्रोत साधानले भ्याउँदैन, त्यसले गर्दा माथिल्लो तहको सरकारसँग सहकार्य गरेर सडकलाई गुणस्तरीय बनाउँदै जाने छौँ ।”

नगरपालिकाले सडकलाई स्तारोन्नती गर्न थालेपछि यात्रा र सामान ढुवानीमा सहज हुँदै गएको गलकोट नगरपालिका–६ का विरबहादुर खत्रीले बताउनुभयो । अघिल्लो वर्षसम्म वर्षौँ अगाडि खुलेका थुप्रै सडक साँघुरा र अप्ठ्यारा हुँदा यात्रा गर्न निकै कठिन हुने गरेको भन्दै अहिले धेरै सजिलो भएको उहाँको भनाइ छ । सडक स्तरोन्तीपछि गाडीको भाडासमेत कम भएको भन्दै खत्रीले खुसी व्यक्त गर्नु भयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *