आदर्श अनलाइन, बागलुङ
नेकपा एमालेले निसीखोला गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेको छ । प्रमुख प्रशासकीय अधिकृत हाजिर भएको छ दिनमै सरुवा भएको पत्र आएपछि नेकपा एमाले निसीखोला गाउँ कमिटिले कार्यालयमा तालाबन्दी गरेको हो ।
वैशाख १२ गते प्रमुख प्रशासकीय अधिकृत जीवन पुन निसीखोलामा हाजिर हुनु भएको थियो । एक साता नबित्दै सरुवा भएपछि एमाले निसीले आन्दोलन गर्दै तालाबन्दी गरेको हो । यसअघि दुई जना प्रमुख प्रशासकिय अधिकृतलाई गाउँपालिकाले हाजिर नगराई फिर्ता पठाएको थियो । एक साता अगाडि निसीखोला आउनु भएका पुनको वैशाख १८ गते भूमि व्यवस्था सहकारी तथा गरिबी मन्त्रालयमा सरुवा भएको पत्र आएको थियो ।

गाउँपालिकाले यसभन्दा अगाडि प्रमुख प्रशासकीय अधिकृतको रुपमा आउनु भएका ध्रुब रिजाल र चुर्ण बहादुर कार्कीलाई हाजिर नै नगराई फिर्ता पठाई निमित्तको भरमा पालिका चलिरहेको थियो । निमित्तको रुपमा दिलीपकुमार चन्दले काम गर्दै आउनु भएको थियो । एमाले निसीखालाले पटक पटक प्रमुख प्रशासकीय अधिकृतको सरुवा गराईनुले स्थानीय सरकारको बदमासी र अपराधको हद प्रकट गरेको जनाएको छ ।
निमित्तको भरमा पालिका चलाउने सिमित जनप्रतिनिधि र केही कर्मचारीको मिलेमतोमा गरिएको क्रियाकलापको भण्डाफोर गर्न तालाबन्दीसँगै धर्ना कार्यक्रम आयोजना गरिएको एमाले निसीखोलाका अध्यक्ष भूमिराज घर्तीले बताउनुभयो ।
यस्तो छ–अध्यक्ष घर्तीले जारी गरिएको प्रेस विज्ञप्ती
बागलुङ जिल्लाको सुदुर पश्चिममा अवस्थित यस निसीखोला गाउँपालिका सङ्घीय समचना अनुसार एक स्वायत सरकारको रुपमा काम गरिरहेको स्थानीय जनताको दैनिकीसङ्ग जोडिएको घरदैलोको सरकार हो। यसका हरेक गतिविधीले स्थानीय जनताका दैनिक जनजिविकाका सवालमा काम गर्नका लागि हाम्रो पार्टी नेकपा एमाले निरन्तर खवरदारी गर्दै आइरहेकोछ । यसै सन्दर्भमा यस पालिकाभित्र हुने हरेक गतिविधीमा हाम्रो निरन्तर चिन्ता र चासो रहेको कुरा आम जनसमुदायलाई अवगत नै छ । स्थानीय सरकार सञ्चालनको मुख्य अख्तियारी प्राप्त व्यक्तिको रुपमा सङ्घीय सरकारबाट खटाइ पठाएका प्रमुख प्रशासकीय अधिकृतलाइ पटकपटक फिर्ता गरिनु र निमितको भरमा पालिका सञ्चालन गर्नु कानुनी राज्यको बर्चीलाप मात्र होइन जघन्य अपराध पनि हो ।
विगतमा हाम्रो पार्टी नेकपा एमालेले यस पालिकाभित्र हुने गरेका हरेक वेथितिका विरुद्धमा जनताको आवाज बुलन्द गर्दै आइरहेको सन्दर्भमा निसीखोला गाउँपालिकाका सिमित जनप्रतिनिधी र केही बहालवाला कर्मचारीको मिलिभगतमा यसभन्दा पहिले पनि २ जना प्रमुख प्रशासकीय अधिकृत फिर्ता पठाइ पालिकाको बदनाम गरेकोमा पछिल्लो पटक प्रमुख प्रशासकीय अधिकृतको रुपमा नियुक्ती लिई मिति २०८१।०१।१२ मा यस पालिकामा हाजिर हुनुभएका जीवन पुन मगरलाई एक हप्ता नवित्दै सरुवा गराईनुले स्थानीय सरकारको बदमासी र अपराधको हद प्रस्ट भएकोछ ।
हाम्रो पार्टीको तर्फबाट विगतका समयमा गराईएका ध्यानाकर्षण र खवरदारी साथै सुचनाको हकलाई समेत वेवास्ता गर्दै चालिएको यो गतल कदमको भण्डाफोर गर्दै प्रमुख प्रशासकीय अधिकृत सरुवा गरी निमितको भरमा पालिका चलाउने दुस्साहसका विरुद्ध नेकपा एमाले निसीखोला गाउँ कमिटी कडा आन्दोलनको घोषणा गर्दै आम जनसमुदायमा सहयोगको अपिल गर्दछ ।
साथै पालिकाको गलत कदमका विरुद्ध ससक्त आन्दोलन घोषणा गर्दै प्रमुख प्रशासकीय अधिकृतलाई फिर्ता पठाउने गलत कदम सच्याउन र स्थानीय सरकार मर्यादित रुपमा सञ्चालन गर्न गराउन दवावस्वरुप आजको पालिका धर्नाको कार्यक्रम आयोजना गरिएको जानकारी यस प्रेश विज्ञप्ती मार्फत जानकारी गराइन्छ ।