सय वर्ष पुरानो तमानखोलाको तामाखानी अध्ययन अनुमती


खेमराज गौतम, बागलुङ
बागलुङ जिल्लाको तमानखोला गाउँपालिकामा रहेको तामाखानीको खोजतलासका लागि खानी तथा भूगर्भ विभागले अनुमती दिएको छ । एक सय वर्ष अघि सम्म सञ्चालनमा आएको तामाखानी अध्ययनका लागि सरकारले अनुमती दिएको छ ।

तमानखोला गाउँपालिका–६ नर्जाखानी सहित तमानखोलाका अन्य स्थानका तामाखानी उत्खननको पर्खाइमा छन् । परम्परागत रुपमा खनिदै आएका तामाखानी एक सय वर्ष देखि बन्द भएपछि अहिले शुरुङ मात्रै देख्न सकिन्छ । तमानखोलाको नर्जाखानी, भित्रिवन र पात्ले गाउँ नजिक अहिले पनि तामाखानीका सुरुङ र अवशेष बाँकी छन् ।

तिनै तामाखानी अध्ययन गर्नका लागि खानी तथा भूगर्भ विभागले श्रेया जलान लगानीकर्ता सहितको समूहलाई खोजतलासका लागि अनुमती प्रदान गरेको तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले जानकारी दिनुभयो ।

२०८० असोज १५ देखि २०८४ असोज १४ गते सम्म चार वर्षका लागि खानी तथा भूगर्भ विभागले अध्ययन तथा अनुसन्धानका लागि अनुमती दिएको खानी तथा भूगर्भ विभागका जियोलोजिष्ट रवि आचार्यले बताउनुभयो । तमानखोला गाउँपालिकाको ११ वर्ग किमि क्षेत्रफलमा तामाखानी खोजतलासका लागि अनुमती दिइएको आचार्यले बताउनुभयो । तामाखानीको खोज तलाशको अनुमती पाएको समूहले तामाखानीको अवस्था पत्ता लगाउने छ । तामा उत्खनन् गर्न सकिने अवस्था रहेमा तथा भूगर्भ विभागले उत्खनन्का लागि पुन अनुमती दिने छ ।

तामाखानीको अध्ययनका लागि तमानखोला गाउँपालिकाले पटक–पटक प्रयास गर्दै आएपछि अहिले तामाखानी अध्ययनका लागि अनुमती सहितको पत्र गाउँपालिकामा आएको तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले बताउनुभयो । “तामा खानी छ त्यो लुक्ने विषय भएन तर कति तामा छ, कति वर्ष सम्म उत्खनन् गर्न सकिन्छ भन्ने अध्यययन हुँन आवश्यक छ, तामाखानीबाटै तमानखोला गाउँपालिका समृद्धि बन्न सक्नेछ, अहिलेको प्रविधिका कारण तामा उत्खनन्मा समस्या हुँदैन” बुढाले भन्नुभयो “पहिलोपटक अध्ययनका लागि चार वर्षलाई अनुमती दिएको पत्र हामीकहाँ आएको छ, अध्ययनका लागि आउने विज्ञ समूहलाई सहयोग गछौं ।” यहाँका तामाखानी सय वर्ष अघि सरकारले कर उठाउन थालेपछि कर तिर्न नसकेपछि बन्द भएको थियो ।

विसं १९८१ मा बन्द भएका तमानखोलाका तामाखानी त्यस यता सञ्चालनमा आउन सकेका छैनन् । तत्कालीन सरकारले कर उठाउने चल्ती बसालेपछि स्थानीयवासीले तामा निकाल्न छोडेका थिए । रैथाने छन्त्याल जातिले घरेलु प्रविधिबाट तामा निकाल्ने गरेको बुढाको भनाई छ ।
श्री ३ चन्द्र शम्शेरको पालाबाट खानी खन्न बन्द भएको बुढापाकाले बताउदै आएको अध्यक्ष बुढाको भनाई छ । उहाँका अनुसार त्यस ताका छन्त्यालको मुख्य पेशा नै खानी खन्ने थियो ।

खोज, अनुसन्धान र उत्खनन गर्ने हो भने उहाँ तामाखानीको प्रचुर सम्भावना रहेको तामाखानीलाई सरकारले प्राथमिकतामा राखेर काम गर्नुपर्ने बुढाको भनाई छ । तामाखानीमा संघीय सरकारनै अग्रसर हुँन आवश्यक रहेको उहाँको भनाई छ ।

करबापत तामा नै सरकारलाई बुझाउने प्रावधान आएपछि पुरानो पुस्ताले खानी खन्न छोडेको बताइन्छ । खानीबाट निकालिएको तामा महँगा भाँडावर्तन र सिक्का बनाउन प्रयोग गर्ने गरिन्थ्यो ।

तामाखानीको अध्ययन गर्नका लागि अनुमती पाएपछि स्वीडेन र अस्टे«लियाका जियोलोजिष्ट झिकाएर अध्ययन गर्न तमानखोला जाने श्रेया जलानका प्रतिनिधि जोयोलोजिष्ट बलराम कार्कीले बताउनुभयो । उहाँले नेपालका भन्दा विदेशी जियोलोजिष्टहरुले तामाखानीको राम्रो अध्ययन गर्न सक्ने भएकाले विदेशी जियालोजिष्ट सहित तमानखोलाको तामाखानी अध्ययन गरिने जानकारी दिनुभयो । “तमानखोलामा तामा छ तर कति वर्ष सम्म उत्खनन् गर्न सकिन्छ, उत्खनन् गर्दा आउने तामाको बजार मुल्य संग तुलना गरेपछि बल्ल तामाखानी उत्खनन्मा लागिन्छ” कार्कीले भन्नुभयो “अध्ययन अनुसार तामाखानी राम्रो भएमा उत्खनन्को अनुमती लिइन्छ ।”

नर्जाखानीमा तामा खनेको एक किलोमिटर भन्दा लामा सुरुङ रहेको छ । तामाखानी उत्खनन गरेर सञ्चालनमा ल्याउन सके रोजगारी सिर्जनाका साथै ठूलो आर्थिक लाभ लिन तमानखोला सक्ने स्थानीयको बुझाई छ ।

यो पनि पढ्नुहोस्