डम्मर बुढा मगर, बागलुङ
बागलुङको सबैभन्दा दूरको गाउँ हो रमुवा । उच्च पहाडी क्षेत्रमा पर्ने रमुवा गाउँ आलु खेतीका लागि प्रख्यात मानिन्छ । गलकोट नगरपालिका–१० मा पर्ने यस गाउँमा आलु र भाँगो बाहेक अन्य खाद्यबाली निकै कम उत्पादन हुन्छ । मकै, जौँ बाली कम फल्ने भएपछि सिंगो गाउँनै आलु खेतीमा आबद्ध छ । आलु खेतीबाट नै यहाँका स्थानीयले जीविकोपार्जन गर्दै आएका छन् । भौगोलिक विकटताका कारण समय–समयमा आलु बजारमा पु¥याउन समस्या छ । उत्पादन भएको आलुलाई बजारीकरण गर्न सडक स्तरोन्नती हुनु पर्ने स्थानीयको माग छ । लेकाली हावापानीमा उत्पादन हुने आलु स्वादिष्ट हुने हुँदा पछिल्लो समय सहज बजारदेखि पनि माग आउन थालेको छ ।
आलु र भाँग एकै ठाउँमा उत्पादन गर्न सकिने हुँदा किसानले बढी लाभ लिएका छन् । दुर्गम गाउँ भए पनि रमुवामा वि.सं. २०६५ मा स्थानीयको लगानीमा सडक निर्माण भएको थियो । उक्त सडक हालसम्म पनि स्तरोन्नती हुन सकेको छैन । बजारी क्षेत्रमा रसायनिक मल प्रयोग गरि उन्नत जातका आलुको उत्पादन हुने गरे पनि रमुवाका किसानले रैथाने जातका आलु खेतीमा प्राङ्गारीक मल हाल्ने गर्छन् । पशुपालन र आलु खेती यहाँका स्थानीयको मुख्य पेसा हो । लेकाली हावापानी र प्राङ्गारीक मलका कारण एकै परिवारले वार्षिक तीन हजारदेखि पाँच हजार क्युन्टलसम्म आलु उत्पादन गर्छन् ।
सिंगो गाउँमा हरेक वर्ष ४० देखि ५० हजार क्युन्टल आलु उत्पादन हुने गरेको छ । रमुवा गाउँमा हाल करिब १३० घर परिवार स्थायी रुपमा बसोबास गर्दै आएका छन् । त्यस मध्ये अधिकांशले भेडाबाख्रा र गाईभैँसीसमेत पालन गर्ने हुँदा मलको कुनै समस्या छैन । गाउँमा खाद्यबाली उत्पादन कम हुँदा वर्षभरी खान पुग्दैन । त्यसले गर्दा भाँगो र आलुसँग चामल साटेर गुजारा चलाउनु पर्ने स्थिती छ । पालिकाको केन्द्र गलकोटसम्म पुग्ने सडक स्तरोन्नती भए आलु बजारीकरणमा कुनै पनि समस्या नहुने गलकोट नगरपालिका–१० रमुवाका स्थानीयसमेत रहनु भएका पूर्व अध्यक्ष तिलक घर्ती मगरले बताउनुभयो ।
घर्ती मगरले भन्नुभयो – “यहाँको उत्पादनलाई बजार पु¥याउन समस्या छ, सडकको दुरावस्थाले गर्दा माग बढी आए पनि समयमा बजार पु¥याउन गाह्रो छ, यद्यपी रमुवामा उत्पादन भएको आलुले बजार नपाएको भने छैन, यहाँ खास गरि रैथाने जातको आलु उत्पादन हुन्छ र स्थानीयले गाईभैँसीको गोबरको मल प्रयोग गर्ने हुँदा बाहिरबाट आएको आलु जस्तो हुँदैन, अर्गानी आलु भएको हुँदा धेरै ठाउँबाट माग आउँछ, यहाँको आलु धेरैको रोजाईमा पर्दा हामीहरु पनि खुसी छौँ, उत्पादन बढाउन लागि रहेका छौँ ।
रमुवामा उत्पादन हुने आलु गलकोट, बागलुङ, पोखरा, काठमाडौँ, चितवन लगायतका ठाउँमा पुग्ने गर्छ । वर्षौँ पहिलेदेखि नै यहाँका नागरिक आलु खेतीमा लाग्दै आएका हुन् । समुन्द्री सतहदेखि दुई हजार २०० मिटरभन्दा माथिको उचाईमा रहेको रमुवामा धान, गहुँ भने उत्पादन हुँदैन । प्रबिधिको विकास भए पनि आफूहरुले परम्परागत रुपमा प्राङ्गारीक आलु उत्पादन गर्ने स्थानीय दिव्या रानाले बताउनुभयो । हरेक वर्ष एकै परिवार ५० देखि १०० मुरीसम्म आलु फलाउने उहाँको भनाइ छ । आलु फल्ने समयमा कुनै पनि रोगको प्रकोप नदेखिए हरेक वर्ष उत्पादन वृद्धि हुने राना बताउनुहुन्छ । आलु खेतीबाटै परिवारको लालनपाल, पढाईलेखाईदेखि जीविका चालउने गरेको उहाँले सुनाउनुभयो ।
“बेसीमा जस्तो धान खेती हुँदैन, गहुँ खेती हुँदैन, मकै पनि एकदमै थोरै मात्रामा उत्पादन हुने हुँदा हामीहरुले आलु बजार लैजाने र बजारबाट चामल, पिठ लगायतका खाद्यन्न लिएर उपभोग गर्ने गर्छौँ, पहिलेदेखिनै यसरीनै जीविका चल्दै आएका छ,” रानाले भन्नुभयो – “परम्परादेखिनै चल्दै आएको यो पेसा अहिलेसम्म पनि निरन्तर चलि रहेको छ, आधुनिक प्रबिधिको विकास भए पनि गाउँमा रसायनिक मल प्रयोग गरिदैन, आधुनिक उपकरण बिस्तारै आउँदैछन् ।”
गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले रमुवालाई आलु पकेट क्षेत्र घोषणा गरेर उत्पादन वृद्धिमा लागेको बताउनुभयो । यहाँका किसानलाई आलु खेती तर्फ थप प्रोहोत्सान गर्नका लागि कृषि सम्बन्धि तालिम, आवश्यक प्राबिधिक सहयोग गर्दै आएको उहाँको भनाइ छ । अब नगरपालिकाले उत्पादनका आधारमा किसानलाई अनुदानसमेत दिने नीति ल्याएको प्रवक्ता भण्डारी बताउनुहुन्छ । अहिले कच्ची सडकमा भए पनि किसानले आलु बजारीकरण गर्न समस्या नभएको बजार नपाए पालिकालेनै जिम्मा लिने उहाँको भनाइ छ । किसानलाई प्रबिधिसँग जोडेर उत्पादन बढाउन तर्फ लाग्ने भण्डारीले बताउनुभयो । आउलाई ब्राण्डिङसमेत गर्ने योजना रहेको उहाँ बताउनुहुन्छ ।
प्रवक्ता भण्डारीले भन्नुभयो – “रमुवा बागलुङमा आलु उत्पादनका लागि निकै उर्वर भूमि हो, पछिल्लो समय विषादी प्रयोग गरेको आलु बजारमा आइ रहेको बेला यहाँका किसानले कुनै पनि बारी मलको प्रयोग नगरि गोठे मलको प्रयोग गरेर आलु उत्पादन गर्छन्, अर्गानीक आलुको बजार पनि निकै राम्रो छ, कुनै पनि किसानले बजार पाएन भनेर कुनासो गर्नु भएको छैन, उहाँहरुले उत्पादन गरेको आलु विक्री नभए नगरपालिकाले त्यसको जिम्मा लिन्छ र किसानलाई उचित मूल्यको व्यवस्था गर्छ, सिंगो गाउँनै आलु खेतीमा लाग्दा उत्पादन हरेक वर्ष बढेको पाइन्छ, नगरपालिकाले समय–समयमा किसानलाई प्राबिधिकसहित विभिन्न किसिमका सहयोगहरु गर्दै आएको छ ।”