डम्मर बुढा मगर, बागलुङ
बागलुङको जैमिनी नगरपालिका–५ बिनामारे स्थित पर्यटकीय क्षेत्र रिठेडाँडामा पर्यटन पूर्वधार निर्माण भइरहेका छन् । अनकन्टार भिरको शिरमा रहेको रिठेडाँडामा नगरपालिका र गण्डकी प्रदेश सरकारले वि.सं. २०७४ सालदेखि यहाँ पूर्वधार निर्माण गर्दै आएका हुन् । आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्नका लागि पर्यटन पूर्वधार निर्माण गरि रहेको जैमिनी नगरपालिका–५ का अध्यक्ष ठगबहादुर थापाले बताउनुभयो ।
अग्लो डाँडाको शिरमा समथर भू–भाग रहेको हुँदा आन्तरिक पर्यटक घुम्न आउने हुँदा यसलाई उकृष्ट गन्तव्य बनाउनका लागि संरचना थप्दै गएको उहाँको भनाइ छ । हालसम्म ४५ लाख बढि लगानी गरि सकेको अध्यक्ष थापा बताउनुहुन्छ । रिठेडाँडामा शौचालय, खानेपानी, चौतारा, मन्दिर घेराबार लगाएका संरचना बनि सकेका छन् । यहाँ आउने पर्यटकलाई समथर मैनाको बीचमा रहेको पोखरी, सिरसिर चलि रहने बतास र रिठेडाँडादेखि देखिने दृश्यले लोभ्याउने गरेको छ ।
गर्मी याममा त अझ शितला खोज्दै आउनेको लर्कोनै लाग्ने गरेको छ । नगरपालिकाले आगन्तुकका लागि रुख मुनी बसेर शितल ताप्नका लागि चौपारी बनाइ दिएको छ । त्योसँगै विश्रमस्थल पनि निर्माण भएको छ । पछिल्लो समय पर्यटक बढ्दै गएपछि घाम पानी छेक्नका लागि विश्रमस्थल बनाएको अध्यक्ष थापाको भनाइ छ ।
“रिठेडाँडा जैमिनीको मात्रै नभई सिंगो बागलुङको पर्यटकीय क्षेत्र हो, यो ठाउँ वर्षौँदेखि ओझेलमा परेको थियो, नगरपालिका स्थापना भएपछि हामीहरुले यहाँ लगानी गर्दै आएका छौँ, हालसम्म नगरपालिका र प्रदेश सरकारको गरि पचाश लाख बढी लगानी भएको छ” उहाँले भन्नुभयो – “यस वर्ष पनि प्रदेश र नगरपालिकाको १० लाख बजेटले सार्वजनिक शौचालय र खानेपानी व्यवस्थापनको काम हुँदै छ, पहिलेको तुलनामा अहिले निकै परिवर्तन भएको छ, पर्यटकहरुले पनि रुचाउँदै गएका छन् ।”
यहाँ पर्यटन पूर्वधार निर्माणसँगै प्रचारप्रसार हुन थालेपछि पर्यटक बढ्दै गएको जैमिनी नगरपालिका–५ का स्थानीय हर्कबहादुर थापा मगरले जानकारी दिनुभयो । पहिले गाउँलेले गाईभैँसी चरन क्षेत्रका रुपमा प्रयोग गर्ने रिठेडाँडा अहिले पर्यटक रमाउने स्थलका रुपमा विकास भएको उहाँको भनाइ छ ।
अझ सबैभन्दा बढी त माघ, फागुनको समयमा आउने भन्दै नयाँ वर्ष र अन्य विभिन्न चाडपर्वमा आन्तरिक पर्यटकको भिड लाग्ने थापा मगर बताउनुहुन्छ । पहिले यहाँ कुनै पनि संरचना नहुँदा आउने पर्यटकले घाम पानीको सामना गर्नु परेको भन्दै विश्रामस्थल बनेपछि सहज भएको उहाँको भनाइ छ ।
थापा मगरले भन्नुभयो – “अहिले यही गाउँका मान्छेहरु घुमघाम र बाख्रा, गाईवस्तु चराउनका लागि आउँथे, तर अहिले टाढा–टाढाबाट पनि पर्यटक घुम्न आउने गर्छन्, पुस मागको बेला त पर्यटक नआएको दिननै हुँदैन, अहिले पनि निरन्तर पर्यटक आइरहेको अवस्था छ, यहाँ अझै धेरै पूर्वधार बनाउन बाँकी छ, पूर्ण रुपमा संरचना बने भने विदेशी पर्यटक पनि आउने संभावना बढी छ ।
रिठेडाँडादेखि बागलुङको विभिन्न स्थानसहित पर्वत, स्याङ्जा र उच्च पहाडहरु नजिकबाट अवलोकन गर्न सकिन्छ । ग्रामीण जनजीवन बुझ्न र प्राङ्गारीक खानाको स्वादनका लागि पर्यटक रिठेडाँडा आउने गरेको पाइन्छ ।