खेमराज गौतम, बागलुङ
वैधानिक रुपमा सिकार खेल्न पाइने नेपालकै एक मात्र सिकार आरक्ष ढोरपानटन सिकार आरक्षमा दोस्रो यामममा १० नाउर र ७ झारलको सिकार भएको छ ।
दोस्रो सिकार याममा ढोरपाटन आरक्षले सिकार ब्लकमा वन्यजन्तु विभागको अनुमतीमा ११ नाउर, ७ झारल र ४ वनेलको सिकार गर्न अनुमती दिएको थियो । जसमध्ये विदेशी सिकारीले १० नाउर र ७ झारलको मात्रै सिकार गर्न सफल भएका छन् । अनुमती पाएको तीन वनेलको सिकारीले सिकार गर्न नसकेको र एक नाउर र एक वनेलका लागि अनुमती प्राप्त गरी राजश्व बुझाएका रसिय सिकारी सिकार खेल्नै नआएको ढोरपाटन सिकार आरक्ष कार्यालयका सूचना अधिकारी पशुपती अधिकारीले जानकारी दिनुभयो ।
क्षेत्रमा धमाधम सिकार भइरहेको छ । यो याममा ११ नाउर, ७ झारल र ४ वनेलको सिकार हुँदै छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले दोस्रो सिकार याम फागुन–चैत–वैशाखका लागि ११ नाउर र ७ झारल र ४ वनेलको सिकार गर्न अनुमति दिएको थियो ।
ढोरपाटन सिकार आरक्ष कार्यालयका सूचना अधिकारी पशुपती अधिकारीका अनुसार विदेशी सिकारीले दोस्रो याममा अधिकतम एक नाउरका लागि रु. २१ लाख राजश्व प्रतिस्प्रर्धाका आधारमा बुझाएको र एक झारला लागि अधिकतम रु. १८ लाख सम्म राजश्व बुझाएको जानकारी दिनुभयो ।
खर्चिलो सिकार भएका कारण नेपाली सिकारीले हाल सम्म सिकार खेल्न सकेका छैनन् । “यस वर्षको दोस्रो याममा ११ नाउर ७ झारल र ४ वनेल सिकार खेल्न विभागले फागुन पहिलो साता अनुमती दिइएको थियो, जसमध्ये एउटा रसिय सिकारी राजश्व बुझाएर समेत सिकारमा आउनुभएन त्यसैले १० नाउनर र ७ झारलको मात्रै सिकार भयो कुनै वदेलको सिकार भएन” अधिकारीले भन्नुभयो “दोस्रो वर्ष आरक्षमा सुचिकृत कम्पनी मध्ये ५ कम्पनी मार्फत अमेरिका, रसिया, स्पेन, उज्बेकिस्तान, मेक्सिको र बुल्गेरियाका सिकारीहरु सिकार खेल्न अनुमती पाएका थिए, जसमध्ये रसियाका सिकारी सिकार खेल्न आउनुभएन ।”
यसवर्ष प्रतिस्प्रर्धामा स्पेनका तीन सिकारी, अमेरिकाका दुई सिकारी, बुल्गेरियाका दुई, रसियाका दुई, मेक्सिकोका एक र उज्बेकिस्तानका एक सिकारी सिकारका लागि छनौट भएका थिए । जसमध्ये एक नाउर र एक वनेलका लागि अनुमती प्राप्त रसियन सिकारी सयम सिमा भित्र सिकार आरक्ष आउन सक्नुभएन ।
सिकारीले बन्दोबस्तीका सामाग्री सहित फागुन १८ गते देखि सिकार खेल्न थालेका थिए । सिकार खेल्न नेपाली सहयोगी सहित आरक्षका कर्मचारीहरु समेत विदेशी सिकारीको साथमा खटिनुभएको ढोरपाटन सिकार आरक्षका प्रमुख विरेन्द्र कंडेलले जानकारी दिनुभयो ।
सिकारीका लागि आवश्यक बन्दोबस्ती र मार्ग निर्देशनका लागि ढोरपाटन सिकार आरक्ष कार्यालय आफ्ना कर्मचारी र सिकारीका भरिया सम्बन्धित ब्लकमा तैनाथ गरेर दोस्रो यामको सिकार सकिएको थियो । विभागले हरेक वर्ष नाउर र झारलका लागि कोटा निर्धारण गर्ने गरेका हुन्छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले यो वर्षको पहिलो सिकार याम असोज–मंसिरको लागि आठ नाउर, चार झारल र ८ वनेलको सिकार गरिएको थियो ।
विभागले बोलपत्र मार्फत विश्वका धनाढ्य सिकारीहरुबीच प्रतिस्प्रधा गराएर सिकार खेल्न अनुमती दिदै आएकोमा सबैभन्दा बढी राजश्व बुझाउन तयार सिकारीले सिकारका लागि छानोट हुँने गर्दछ ।
सिकारको लागि आरक्षको क्षेत्रलाई सेङ्ग, बार्से, दोगाडी, घुस्तुङ, सुर्तिवाङ, सुनदह र फागुने सात ब्लकमा विभाजन गरिएको छ । ढोरपाटन क्षेत्रमा बर्सेनी (असोज–मङ्सिर) पहिलो याम र (फागुन–वैशाख) मा दोस्रो याम गरी दुई चरणमा सिकार हुँदै आएको छ । आरक्षमा यस पटक नेपाल वाइल्डलाईफ एडेभेन्चर, हिमालय सफारिज, ग्लोबल सफारिज, नेपाल ट्राभल एक्पेडिसन र ओपन नेपाल वाइल्ड लाईफ सफारिज मार्फत सिकारी सिकार खेल्न अनुमती पाएका थिए ।
यस पटकको सबैभन्दा बढी सिकार घुस्तुङ, दोगाडी र सेङ्ग ब्लकमा सिकार भएको छ । विदेशी सिकारीसहितको समूहले १५ दिन भित्र सिकार तोकिएको ब्लकमा सिकार खेलिसक्नुपर्ने हुन्छ । जंगलमै बास बसाउने सिकारीले आरक्ष प्रवेश गरेको १५ दिन भित्र सिकार खेल्न नसके रित्तोहात फर्कर्नुपर्ने नियम रहेको छ । साहसिक यात्रा र रोमाञ्चक सिकार अनुभवका लागि ढोरपाटन विदेशीको आकर्षक गन्तव्य बनेको छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले हरेक सिकार याममा विद्युतीय बोलपत्र आह्वान गरेर सिकारको कोटा र राजस्व दर निर्धारण गर्छ । नाउर झारलको मूल्य, ब्लक रिजर्भ, लाइसेन्स, हेलिकप्टर सबै बन्दोबस्तीको सामग्री तयार गर्दा एक जना सिकारीले करिब ३० देखि ३५ लाख सम्म खर्च गर्ने गरेको ढोरपाटन सिकार आरक्ष कार्यालयले जनाएको छ ।
वि.स.२०४४ सालमा स्थापना भएको सिकार आरक्ष पूर्वी रुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको भएपनि आरक्षको मुख्य कार्यालय भने बागलुङको ढोरपाटन उपत्यकामा पर्ने गर्दछ । सिकार आरक्षको सुरक्षाका लागि २०७३ सालदेखि नेपाली सेनाको गुल्म समेत बस्दै आएको छ । सेनाले आरक्षको सुरक्षा दिन थालेपछि चोरी सिकारीमा समेत कमि आएको छ ।