करिडोरको बलेवा–हर्मिचौर खण्डमा ५० प्रतिशत प्रगति


खेमराज गौतम, बागलुङ

कालीगण्डकी करिडोरको बलेवा–हर्मिचौर खण्डमा कालोपत्रका लागि पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको कालीगण्डकी करिडोरको बलेवा–हर्मिचौर खण्डको ४४ किलोमिटर सडकमा भौतिक प्रगती ५० प्रतिशत पुगेको छ ।

उत्तर दक्षिण जोड्ने कालीगण्डकी करिडोरको बलेवा–हर्मिचौर खण्डको ४४ किलोमिटरमा कालोपत्रको पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेको छ भने मालढुङ्गा–बलेवा खण्डको १० किमी सडकमा पूर्वाधारको कामले तिब्रता पाएको हो ।

बागलुङ खण्डको ५४ किलोमिटर सडकमा कालोपत्रेका लागि आवश्यक पूर्वाधार जस्तै सडक चौडा पार्ने, मेसिनरी पर्खाल, कल्र्भट र ग्याबिन जाली लगायतका पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेका छन् भने बेस बिच्छाउने कार्यले तिब्रता पाएको कालीगण्डकी करिडोर आयोजना कार्यालयका पाल्पाका सूचना अधिकारी अरुण खत्रीले बताउनुभयो ।

दुई वटा खण्ड मध्ये बलेवा–हर्मिचौर खण्डमा ५० प्रतिशत भौतिक प्रगती र ३६ प्रतिशत वित्तिय प्रगती भएको खत्रीको भनाई । “भुक्तानी दिन सकेमा चालु आर्थिक वर्षमै बलेवा–हर्मिचौर खण्ड कालोपत्र भइसक्ने थियो, प्रगती अनुसार रकम भुक्तानी गर्न नसकदा कालोपत्रमा ढिलाई भएको छ, तर निर्माण कार्यले तिब्रता पाएको छ, प्रगतीको १४ प्रतिशत रकम भुक्तानी गर्न सकेका छैनौं” खत्रीले भन्नुभयो “आर्थिक वर्ष २०८२/८३मा सक्नुपर्ने ठेक्का हो यही प्रगती भएमा आगमी आर्थिक वर्षमा कालोपत्र सकिन्छ ।”

शुरुबाटै बलेवा–हर्मिचौर खण्डमा तिब्र गतिमा काम भएपनि बलेवा–मालढुङ्गा खण्डको १० किमि सडकमा काम सुस्त भएपनि पछिल्लो समय कामले गति दिन थालेको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताउनुभयो । निर्माण व्यवसायीलाई आर्थिक दायित्व भुक्तानी गर्न नसक्दा निर्माण व्यवसायीले भनेजस्तोे काममा तिब्रता पाउन नसकेको उहाँको भनाई छ । वलेवा देखि हर्मिचौर खण्डमा मात्रै सयौँको संख्यामा मज्दुर र स्काभेटर लगायतका आधुनिक औजारहरु प्रयोगले सडक निर्माणले परिणाम लिएको शर्माको भनाई छ । करिडोरले जैमिनी सहित सिंगो बागलुङ जिल्लालाई फाइदा पुग्ने हरिहर शर्माले जानकारी दिनुभयो ।

विभिन्न ठाउँमा पर्खाल लगाउने, नाली बनाउने, सडक चौडा बनाउने कार्य अन्तिम चरणमा पुगेको छ । मालढुङ्गा–बलेवा खण्डको कामको जिम्मेवारीे खड्का–कृष्ण बिएन जेभीले लिएको छ । १० किलोमिटर दूरी रहेको यो खण्डका लागि रु.५५ करोडमा निर्माण कम्पनीले ठेक्का लिएको हो । सम्झौता अनुसार २ वर्षमा मालढुङ्गा–बलेवा खण्ड कालोपत्र गरिसक्नु पर्ने छ ।

यस्तै बलेवा विमानस्थलबाट हर्मिचौरसम्मको सडकखण्ड कालोपत्रका लागि कालिका कन्स्ट्रक्सनले जिम्मेवारी लिएको छ । रु.३ अर्ब ३० करोड लागतमा ३ वर्षभित्र काम सक्ने गरी ठेक्का सम्झौता भएको छ । करिडोरमा विभिन्न स्थानमा गरी १४८ वटा घाट छन् । कालीगण्डकीमा मात्र पाइने शालिग्राम दर्शनका लागि समेत धार्मिक पर्यटक आउनसक्ने सम्भावना उत्तिकै छ । कालीगण्डकी कोरिडोर (गैँडाकोट–राम्दी–मालढुङ्गा) सडक आयोजना कार्यालय पाल्पाले बागलुङको मालढुङ्गाबाट गुल्मीको हर्मिचौरसम्मको ५४ किलोमिटर सडक एकैपटक कालोपत्र सम्पन्न गर्नेगरी काम भइरहेको छ ।

करिडोर नेपालको आर्थिक, सामाजिक विकासको मेरुदण्ड हुने ठानिएको छ । करिडोर कुल चार सय ३५ किलोमिटर लम्बाइ रहेको छ । कालीगण्डकी करिडोरअन्तर्गत कालोपत्र हुन लागेका दुई खण्ड हुँदै गुल्मी र बागलुङ जिल्लाका विभिन्न स्थानबाट बुटवल, बागलुङ, पोखरासम्म नियमित यातायात सञ्चालन गर्न सहज हुनेछ । करिडोर निर्माणपछि छिमेकी राष्ट्र चीन र भारतबीचमा आर्थिक, सामाजिक, सांस्कृतिक सम्बन्धलाई सुदृढ बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ । नेपालको उत्तरी सिमा चीनको कोरला र दक्षिणी सिमा भारतको सुनौली जोड्ने सबैभन्दा छोटो मार्गका रूपमा कालीगण्डकी करिडोरलाई लिइएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *