दुई महिनामा दुई हजार १७४ हेक्टर वनमा क्षति


खेमराज गौतम, बागलुङ
दुई महिनाको अवधीमा बागलुङमा २ हजार १७४ हेक्टर वनमा क्षति भएको छ । सुख्खायामका कारण वन डढेलो बढेपछि बागलुङमा वन क्षेत्रमा ठूलो क्षति भएको छ । फागुन ११ गते बरेङको सल्लेरी सामुदायिक वनबाट शुरु भएको आगलागी वैशाखको १९ गते सम्म ६८ वनमा फैलिएको भएको डिभिजन वन कार्यालय बागलुङले जनाएको छ ।

फागुन ११ गते देखि शुरु भएको आगलागी वैशाखको १९ गते सम्म ६८ वनमा लागेको थियो । नियन्त्रण बाहिर रहेको आगलागी वैशाखको २० गतेबाट पानी पर्न थालेपछि आफै नियन्त्रणमा आएको थियो ।

दुई महिनाको भन्दा बढी अवधीमा ६६ सामुदायिक वन तथा २ राष्ट्रिय वनमा आगलागी भएको डिभिजन वन कार्यालय बागलुङका डिभिजन वन अधिकृत सरोज पन्थीले जानकारी दिनुभयो । पन्थीका अनुसार बागलुङका राष्ट्रिय तथा सामुदायक वनमा आगलागीका कारण ठूलो क्षति भएको बताउनुभयो । उहाँले बागलुङमा २ हजार १७४ हेक्टर वनमा देखिने क्षति भएपनि अप्रत्यक्ष रुपमा वन्यजन्तु र पर्यावरणमा ठूलो क्षति भएको बताउनुभयो । आगलागीका कारण खानेपानीका मुहानहरुमा समेत असर पर्ने देखिएको छ ।

मानवीय लापरबाहीका कारण बस्ती नजिकैका सामुदायिक तथा निजी आवादी वन क्षेत्र र सामुदायिक तथा राष्ट्रिय वनमा आगलागी भएको हो । सामुदायिक वनमा लागेको आगलागीका कारण एक जनाको मृत्यु, दुई जना घाइते, पाँच घर र ९ गोठ जलेर नष्ट भएको छ । तमानखोला गाउँपालिका–२ स्थित रानीवन सामुदायिक वनमा वैशाख १३ गते लागेको आगोले १ जना को मृत्यु, २ जना घाइते, १ पसल, १ गोठ जलेको थियो भने १ बाख्रा र १ कुकुरको मृत्यु भएको छ । यस्तै बागलुङ नगरपालिका–१२ अमलाचौर हिलेजुके सामुदायिक वनमा वैशाखको १९ गते लागेको आगलागीका कारण १ घर, ३ गोठ जलेको थियो भने २ भैसी, ३ गाई, ५ बाख्रा जलका थिए । यस्तै ताराखोला गाउँपालिका–१ स्थित राष्ट्रिय वनमा लागेको आगलागीबाट ३ घर, ५ गोठ, ६ बाख्रा, २ भैसी, १ राँगो जलेर नष्ट भएको थियो ।

“जानीजानी वा दुर्घटनावश बागलुङका वनमा डढेलो लागेको छ, जसमध्ये मानवीय लापरबाहीको कारण मुख्य रहेको छ” पन्थीले भन्नुभयो “जंगली जनवारमामा समेत ठूलो क्षति भएको, केही जनावार बस्तीमा छिरेको पाएका छौं, तर जनावारको क्षतिको यति नै भनेर तथ्याङ्क संकलन गर्न सकिएको छैन ।”

जिल्लामा एक लाख पाँच हजार पाँच सय एक हेक्टर जमिनमा वन फैलिएको छ । जिल्लाभर पाँच सय २७ सामुदायिक वन ३३ हजार नौ सय नौ हेक्टरमा फैलिएका छन् भने, आठ दर्ता भएका निजी र बाँकी राष्ट्रिय वन क्षेत्र रहेको डिभिजन वन कार्यालयको तथ्याङ्कमा उल्लेख छ । वनको प्रयोगमा कमी आउनुको कारण डढेलोका घटनामा वृद्धि भएको पाइएको छ । डढेलोको सम्भावित जोखिम भएका ठाउँमा सचेतनामूलक कार्यक्रम गर्ने, अग्निरेखा बनाउने तालिम, आगलागी भइहालेमा रोकथाम र नियन्त्रणका लागि सुरक्षा निकायलाई उपकरण उपलब्ध गराउनेलगायतका काम गरिएपनि आगलागीका घटना यस वर्ष बढेको पाइएको छ ।

वनमा आगो लगाउनेलाई बिगो असुल, तीन वर्ष कैद सजाय र नगद जरिवाना हुने कानुनी व्यवस्था भएपनि तर वनमा आगो लागउनेको पहिचान गर्न कठिन भएको छ । जङ्गली जनावरबाट बच्न, वर्षायाममा मल हुने लोभलगायतका कारणबाट वनमा आगो लगाउने गरेको पाइन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *