चर्चामा हाँडिकोट टापु


खेमराज गौतम, बागलुङ
बागलुङको जैमिनी नगरपालिकाको हाँडिकोट टापु अहिले चर्चामा छ । पूर्वाधार र प्रचारप्रसारका कारण ऐतिहासिक तथा पशुपालन किसानको चरिचरन स्थल हाँडिकोट टापु पुग्ने आन्तरिक पर्यटकहरु बढिरहेका छन् ।

हाँडिकोट पुग्नका लागि सडक मार्ग र पदमार्ग दुबै व्यवस्था मिलाइएको छ ।जैमिनी नगरपालिकाले नगरको पर्यटकीय गन्तव्यमा जैमिनी धाम पछि हाँडीकोट टापुलाई लिएर पूर्वाधार निर्माणमा तिब्रता दिएको छ । धार्मिक तथा ऐतिहासिक महत्वको रुपमा रहेको हाँडिकोटका थुपै्र विशेषता रहेका छन् जसमध्ये सूर्योदय र सूर्यास्त पर्यटकलाई लोभ्याउने माध्यम बनेको छ । बागलुङको जैमिनी नगरपालिकामा रहेको हाँडिकोट टापुबाट देखिने मनोरम दृश्यहरु आन्तरिक पर्यटकलाई साच्चिकै लोभ्याउने खालको छ ।

जैमिनी नगरपालिकामा रहेको हाँडिकोट टापुबाट देखिने केही दृश्य साँच्चिकै अद्भूत लाग्दछन् । जैमिनी नगरपालिकाको वडा नं १० राङखानी, वडा नं ७ जैदी र वडा नं ८ छिस्तीको शिर हो हाँडिकोट टापु ।

समुद्री सतहदेखि दुई हजार एक सय ९५ मिटर उचाइमा रहेको हाँडिकोट जैमिनी क्षेत्रकै अग्लो पहाड भएकाले जैमिनी सहित अन्य स्थानको रमणीय दृश्यहेर्नका लागि पर्यटकहरु यहाँ आउने गरेको राङ्खानीका स्थानीय लाल बहादुर पुनले बताउनुभयो ।

“पहिला बाख्रा भैसी चराउन हाँडिकोट टापुमा जान्थ्यौ, बाँको खोज्नका लागि समेत हाँडिकोटमा पुगिन्थ्यो, पछि हाँडिकोटलाई पर्यटकीय स्थलका रुपमा विकास गर्न स्थानीय सरकारले शुरु ग¥यो” पुनले भन्नुभयो “अन्दाजी ५० लाख भन्दा बढीको पूर्वाधार यहाँ बनिसक्यो, स्थानीयले समेत ठूलो लगानी गरेका छन् रु.२५ लाख त टापुमाथी दृश्यावलोकन स्तम्भ बनाउन खर्च भएको छ, टावरले अझै पूर्णता पाएका छैन, यहाँ आउने पर्यटकहरुलाई बस्नतका लागि सत्तल निर्माण गरेपनि खानेपानी सुविध दिन सकिएको छैन ।”

हाँडिकोट टापुबाट तल बादलले ढाकेका पहाडहरु देख्दा हाँडिकोटले त्यहाँ पु¥याउने पर्यटकहरुलाई लोभ्याउन थालेको हो । पुनका अनुसार व्याडथला र डाँडाखानीबाट पदमार्गमार्फत हाडीकोट पुग्नका लागि अघिल्लो दिननै पर्यटकहरु पुगनेर बास बसेर एका बिहानै सूर्योदय हेर्न हाँडिकोट टापु पुग्ने गरेका छन् ।

बाइसे चौबिसे राजाका पालामा रहेको दरबार भने अहिले मेटिन थालेको छ । समथर भुभाग, राजदरबारका भग्नावशेष, मन्दिर, कुटी, पोखरी र शीला सुसज्जित हाँडिकोट पुगेर सूर्योदय हेर्ने र तस्बिर खिचाउन बागलुङ बजार, पर्वत, म्याग्दी र पोखराबाट समेत पर्यटकहरु आउने गरेका छन् ।
हाँडिकोट पुग्नलाई सडक मार्ग, दुई तर्फबाट पदमार्ग, विश्रमास्थल, सत्तल, दृश्यावलोकन स्तम्भ, शिव मन्दिर, कुटी, मञ्च, खेल मैदान, टल्कने शिला संरक्षण लगायतका थुप्रै पर्यटकीय पूर्वाधारहरु निर्माण भइसकेको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले जानकारी दिनुभयो । उहाँले थोरै लगानी गण्डकी प्रदेश सरकारले गरेपनि हाँडिकोटको अधिकांश जैमिनी नगरपालिकाले बनाएको र प्रचार प्रसारमा समेत योगदान गर्दै आएको बताउनुभयो ।

हाँडिकोटको प्रचार प्रसारका लागि हाँडिकोट महोत्सव समेत गरिदै आइएको छ । “हाँडिकोटलाई जैमिनीको प्रमुख पर्यटकीय गन्तव्य र जैमिनीधामलाई धार्मिक गन्तव्य बनाउनका लागि नगरपालिकाले पूर्वाधारमा लगानी बढाएको छ, त्यहाँ पुग्ने पदमार्ग, सडकमार्गको पहुँच पु¥याउने, त्यहाँ पुगेका पर्यटकहरुलाई बस्न मिल्ने सत्तल बनाउने र मुख्य लगानी दृश्यावलोकन स्तम्भलाई गरेका छौं” उपप्रमुख शर्माले भन्नुभयो “हाँडिकोटको पूर्वाधार र प्रचारप्रसाका कारण आन्तरिक पर्यटकहरु आउन थालेका छन्, हाँडिकोटमा हाइकिङमार्फत पुगेर दृश्यावलोकन गर्ने गरी पर्यटकहरु त्यहाँ पुगेका छन्, पूर्वाधारलाई थप गर्ने, सडकमार्गलाई सुधार गर्ने लगायतका काममा नगरपालिकाले अझै लगानी बढाउछ ।”

हाँडिकोटमा २०७७ साल यता पूर्वाधार निर्माणले तिब्रता पाएका हुन् । हाँडिकोट बाइसे चौबिसे राज्यका पालामा भुरेटाकुरे राजा रजौटाहरुले राज्य गरेको समेत स्थान हो । भुरेटाकुरे राजारजौटाले प्रयोग गरेका जाँतो, ओखल लगायतका सामाग्री अहिले समेत जिवित रहेका छन् । हाँडिकोट टापु पुग्नका लागि सदरमुकाम बागलुङ बजारदेखि तीन घण्टाको मोटर यात्रामा व्याडथला र डाँडाखानी पुग्न सकिन्छ । हाँडिकोटमा स्थानीय नगेन्द्र पुनको सक्रियतामा समेत केही पर्यटकीय पूर्वाधारहरु समेत निर्माण भएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *