बागलुङको रेशमा १४२ रोपनी क्षेत्रमा चियाखेती विस्तार

डम्मर बुढा मगर, बागलुङ
बागलुङको काठेखोला गाउँपालिका–७ रेशमा चिया खेतीका लागि क्षेत्र विस्तार गरिएको छ । बसाइँसराइले गाउँ रित्तिन थालेपछि सात वर्ष अगाडिदेखि चिया खेती सुरु गरेको थियो । वि.सं. २०७४ सालमा परीक्षणका लागि १५ हजार चियाका बिरुवा लगाइएकोमा अहिले बढाएर ५६ हजार लगाइएको छ । परीक्षणका गर्न लगाइएको चिया फस्टाउन थालेपछि सिंगो गाउँनै खेतीतर्फ आकर्षित भएको हो । वडा कार्यालयको अग्रसरतामा सुरु गरेको चिया खेती रेशको बौर, तिङरिङ लगायतका ७२ रोपनी पाखो जमिनमा चिया खेती विस्तार गरिएको छ ।

चिया खेती राम्रो हुँदै गएपछि थप ७० रोपनी जग्गा भाडामा लिएर खेती विस्तार गर्न थालेको काठेखोला गाउँपालिका–७ रेशका अध्यक्ष प्रेम लामिछानेले बताउनुभयो । पाखोबारीमा लगाएको चिया राम्रो हुँदै गएपछि बसाइँसराले उजाड बनेका खेतीयोग्य र उजाड जमिनमा पलाएका झाडी फाँडेर किसानले चिया खेती सुरुको उहाँको भनाइ छ । चियाको बिरुवा राम्रो हुँदै गएपछि स्थानीयवासीले खाली भएका व्यक्तिगत तथा सार्वजनिक जग्गामा पनि खेती विस्तार गर्न थालेको अध्यक्ष लामिछाने बताउनुहुन्छ । अब थप ५० हजार चियाका विरुवा लगाउने योजना रहेको उहाँको भनाइ छ ।

गाउँमा भएका नागरिकलाई पाखोबारीलाई उपयोग गरी आयआर्जनको माध्यम बनाउँदै आत्मनिर्भर बनाउने गरि चिया खेती थालेको लामिछानेले बताउनुभयो । सात वर्ष अगाडि लगाएका विरुवा मध्ये अहिले ३५ हजार बोट निरन्तर टिप्नका लागि तयार भएका उहाँले जानकारी दिनुभयो । किसानहरुले पनि निकै चासो दिएर विरुवा रोप्न, झाडी फँडानीदेखि सबै काममा लागेको हुँदा गाउँमै रोजगार सिर्जना गर्न हुन थालेको अध्यक्ष लामिछाने बताउनुहुन्छ ।

“चियाखेतीमा दुई सय घरपरिवार आवद्ध हुनुहुन्छ, यसबाट आउने प्रतिफल सबैले पाउनुहुन्छ, ने उनको चिया खेतीबाट वार्षिक ३० लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेका छौँ, पहिले ७२ रोपनीमा खेती गरिएकोमा अहिले थप ७२ रोपनी जग्गा भाडामा लिएका छौँ, अब १४२ रोपनीमा खेती हुने छ,” अध्यक्ष लामिछानेले भन्नुभयो – “बजेट छैन, तर पनि गाउँलेमा काम गर्ने उत्साह छ, केन्द्र र प्रदेश सरकारसँग पनि माग गर्छौँ, केही वर्षमा यहाँ चिया बगान हेर्न आउनेको लर्को लाग्ने अपेक्षा लिएका छौँ ।”

चियाको बजारमा बढ्दो माग हुँदा माग अनुसार उत्पादन गर्न नसकिएको स्थानीय किसान मुक्तिराम थापाले बताउनुभयो । यहाँ लगाइएको चिया महिनामा तीन पटकसम्म टिप्ने हुँदा आम्दानी पनि बढी हुने उहाँको भनाइ छ । चियाखेती विस्तार गर्दा हालसम्म करिब ५० लाख खर्च भइसकेको छ । चिया प्रशोधन गर्नका लागि मेसिनसमेत गाउँमा ल्याइएको आएको हुँदा अब धेरै समस्या नभएको उहाँ बताउनुहुन्छ । अहिलेसम्म मुनाफा नभएको भन्दै यस वर्षदेखि छ हजार विरुवाबाट निरन्तर मुनाफा दिने थापाको भनाइ छ । प्रत्येक हप्ता १० किलो चियाको कच्चा पर्दाथ उत्पादन हुन थालेको उहाँ बताउनुहुन्छ ।

थापाले भन्नुभयो – “पहिला गाउँमा चिया खेती हुन्छ भन्ने लागेको थिएन, गाउँलेहरु एकजुट भइयो, वडा कार्यालयले पनि निकै तदारुकता देखायो, चिया खेतीले गर्दा गाउँको स्वरुपनै फेरिएको छ, पहिले झाडीले ढाकिएको जमिन अहिले चिया पलाएका छन्, गाउँ छोडेर गएकालाई पनि पछिपछि पछुतो हुने छ, अहिले खेती राम्रो हुँदा हामीहरु निकै उत्साहित भएका छौँ ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *