मौरी मर्न थालेपछि रित्तिए घार


खेमराज गौतम, बागलुङ
मौरीपालनबाट राम्रो आम्दानी गर्दै आउनुभएको बागलुङको जैमिनी नगरपालिका–१० व्याडथलाका किसान याम थापा अहिले चिन्तामा हुनुहुन्छ । २०७४ सालबाट मौरीपालन व्यवसायमा लाग्नुभएको थापालाई यसैवर्ष मौरीका घार रित्तिन थालेपछि अहिले उहाँको मौरीपालन व्यवसायनै धरापमा परेको छ ।

थापाको घरमा ४२ घार मौरी थिए । राम्रो मह उत्पादन दिइराखेका मौरीहरु अज्ञात रोगका कारण धमाधम मर्नथालेपछि अहिले मौरीका घार नै रित्तिन थालेको थापाको भनाई छ । व्यवसायीक रुपमा पाल्दै आएको बंगुरपालन छोडेर मौरीपालनमा लाग्नुभएका थापा यसै वर्ष ४० घारका मौरी मरेपछि चिन्तामा रहेको जानकारी दिनुभयो । नगरपालिकाको व्याडथला उच्च भेगमा पर्ने भएकाले यहाँ मौरीपालन व्यवसाय राम्रो हुँदै आएको उहाँको भनाई छ ।

४२ घार दुई घारमा मात्रै मौरी रहेको थापाले दुखेसो सुनाउनुभयो । ६ वर्षदेखि मौरीपालन व्यवसाय गर्दै आउनुभएको थापाले मौरीपालनबाट वार्षिक तीन लाख सम्म आम्दानी गर्दै आउनुभएको थियो । सेरेना जातको मौरी पाल्दै आउनुभएको थापाले एक केजी महलाई एक हजार ५००मा घरबाटै विक्रि गर्दै आउनुभएको थियो ।

“किसानको मर्का राज्यले बुझ्दैन, पहिला बंगुरपालन गरेका खोरहरु त्यसैछन्, बंगुरपालन व्यवसाय घाटामा गएपछि मौरीपालनमा लागेको थिए, बंगुरमा भन्दा मौरीपालनमा निकै राम्रो आम्दानी भयो, तर यसैवर्षबाट मौरी मर्नथालेपछि घार रित्तै छन्” थापाले भन्नुभयो “४२ घार मौरीबाट घटेर दुई घारमा सिमित भए, हालै ६ थान मौरी सहितको घार खरिद गरेको छु, यस वर्ष मौरी मरेपनि सधैभरी त्यस्तो नहोला, अहिले त घारबाट निस्केका मौरी भुइमा झरेर मर्छन ।”

दुई चरणमा मह निकाल्दा चानचुन तीन लाख सम्मको मह बिक्रि भएनि चालु वर्षमा मौरीपालन व्यवसायबाट ठूलो नोक्सानी भएको थापाको भनाई छ । यहाँको उपयुक्त चरणका कारण मह उत्पादन राम्रो भएपनि यस वर्ष अज्ञात रोगले मौरी मरेपछि घार रत्तिएको उहाँको भनाई छ ।
थापाले मौरीपालन व्यवसाय संगै चार वटा मुर्रा जातको भैसी समेत पाल्दै आउनुभएको छ । उहाँले नजिकैको व्याडथला बजारमा भैसीको दूध विक्रि गर्दै आएको जनाउनुभयो ।

मौरीको बीमाको विषयमा जानकारी भएपनि बीमा नगर्दा घाटा परेको उहाँले स्विकार गर्नुभयो । उहाँले राज्यले दिने अनुदान र सौलियत निकै झन्झटिलो भएको दुखेसो गर्नुभयो । मौरी के कारणले मरे भन्ने बारे अहिलेसम्म कुनै जानकारी हुन नसकेको उहाँको भनाई छ । परम्परागत रुपमा पालिदै आएको मौरीपालन पछिल्लो समय बागलुङमा व्यवसायिक बन्दै आएको कृषि ज्ञान केन्द्र बागलुङले जनाएको छ ।

कृषि ज्ञान केन्द्र बागलुङका कृषि अधिकृत जमुना भण्डारीले मौरीपालन व्यवसाय बढ्दै आएपछि मौरीको बीमा गर्ने कार्यक्रम ल्याएको बताउनुभयो । उहाँले कतिपय किसानहरुले बीमा नविकरण नगर्दा समस्या आएको बताउनुभयो । उहाँले मौरीपालन व्यवसाय राम्रो भएपनि कहिलेकाही रोग प्रकोपका कारण क्षति हुँन थालेपछि बीमाको कार्यक्रम ल्याउन थालेको उहाँको भनाई छ ।
बातावरणीय प्रभाव, उपयुक्तखानाको अभाव, समयमै वर्षा नहुँदा विषदी रस, कमजोर गोला र पक्षघातका कारण मौरी मर्ने गरेको भण्डारीले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *