बुर्तिवाङ स्वास्थ्य केन्द्रलाई ५० शैयाको अस्पताल बनाउदै गण्डकी सरकार


–खेमराज गौतम, बागलुङ

बागलुङको बुर्तिवाङमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई आगमी आर्थिक वर्षमा प्रदेश अस्पतालको रुपमा सञ्चालनमा ल्याइने भएको छ ।

बागलुङ जिल्लाको पश्चिम क्षेत्र ढोरपाटन नगरपालिकाको केन्द्र रेहेको स्वास्थ्य केन्द्रलाई ५० शैयाको अस्पताल बनाउने निर्णय यस अघिनै भइसकेको थियो । उक्त निर्णय अनुसार आगमी आर्थिक वर्षमा प्रदेश अस्पतालको रुपमा सञ्चालनमा ल्याएर सेवा दिइने भएको हो ।

गण्डकी प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रममा बागलुङको पश्चिम क्षेत्रका जनलाताई सेवा प्रदान गर्दै आइरहेको बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० शैयाको प्रादेशिक अस्पतालको रुपमा सञ्चालनमा ल्याइने बताइएको छ ।

कृषि, शिक्षा, स्वास्थ्य र पर्यटनलगायतका विषयलाई प्राथमिकतामा राखेर मंगलबार गण्डकी प्रदेशसभा बैठकमा गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा बागलुङको बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्र र गोरखाको आँपपीपल अस्पताललाई प्रादेशिक स्तरको अस्पतालका रुपमा सञ्चालनमा ल्याइने बताइएको छ ।

बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० शैयाको जिल्ला अस्पताल बनाउने योजना अनुसार भौतिक पूर्वाधार निर्माण गरेपनि जिल्ला अस्पताल बन्न सकेको थिएन ।

२०६६ मा तत्कालीन बागलुङ जिल्ला अस्पताल खारेज भएर बागलुङ बजारमा धौलागिरि अस्पताल बनेपछि बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई जिल्ला अस्पताल बनाउन भवन निर्माण गरिएको थियो ।

गण्डकी प्रदेश सरकारको सिफारिसमा संघीय सरकारले बागलुङको बुर्तिवाङ र गोरखाको आँपपिपलमा ५० शैयाको प्रदेश स्तरीय अस्पताल बनाउने गत फागुन ६ गते मन्त्रीपरिषदले निर्णय गरेको थियो । उक्त निर्णय कार्यान्वयनमा लैजाने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । स्वास्थ्य केन्द्र ५० शैयाको अस्पताल भएमा ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका, तमानखोला गाउँपालिका र बडिगाड गाउँपालिकाका स्थानीयलाई ठूलो राहत हुने छ ।

प्रदेश अस्पतालको रुपमा सञ्चालनमा ल्याउन तत्कालका लागि आवश्यक पर्ने चिकित्सक र उपकरण प्रदेश सरकारले व्यवस्थापन गर्नेछ ।

नियमित ओपीडि, गर्भवती जाँच, सुत्केरी सेवा, आधारभूत ल्याब, खोप सेवा, परिवार नियोजन सेवा, क्षयरोग र कुष्ठरोगको उपचार सेवा जस्ता काम समेत स्वास्थ्य केन्द्रबाट हुँदै आएको छ । यो स्वास्थ्य केन्द्र विसं २०५२ मा स्थापना भएको हो । यस क्षेत्रका जनतालाई स्वास्थ्य सेवा दिने उद्देश्यले जिल्ला अस्पताल बनाउने निर्णय गरी रु. ३२ करोडको लागतमा संरचना निर्माण गरेपनि स्तरोन्नती नहुँदा स्वास्थ्य केन्द्रकै हैसियतमा सेवा दिइरहेको थियो ।

स्वास्थ्य केन्द्रलाई प्रदेश मातहतको अस्पताल बनाउने निर्णयपछि संघीय सरकारले समेत प्रदेश सरकार मार्फत कार्यान्वयन गर्नका लागि आगमी आर्थिक वर्षका लागि रु. १५ करोड बजेट बिनियोजन गरेको ढोरपाटन नगरपालिकाका स्वास्थ्य शाखा संयोजक केशव थापाले जानकारी दिनुभयो । उक्त बजेट बुर्तिावाङ स्वास्थ्य केन्द्र र गोरखाको आँपपिपलमा अस्पतालको हो । उक्त बजेटमा प्रदेश सरकारले समेत थप बजेट ल्याउनका लागि नीति तथा कार्यक्रममा समेटिएको थापाको भनाई छ ।

तीन शैयाको प्राथमिक स्वास्थ्य केन्द्रलाई ढोरपाटन नगरपालिका स्थापना पछि १५ शैयाको पालिका अस्पतालको रुपमा सञ्चालन गरिरहेको छ । हाल स्वास्थ्य केन्द्रमा दुई जना विशेषज्ञ र तीन जना मेडिकल अधिकृत कार्यरत रहदै आउनुभएको छ । प्रदेश स्तरको अस्पताल बनेमा १४९ जनाको दरबन्दी
हुनेछ भने यहाँको जनतालाई स्वास्थ्य सुविधाको पहुँचमा वृद्धि हुँने अपेक्षा गरिएको छ ।

नीति तथा कार्यक्रममा विशेषज्ञ र विशिष्टीकृत स्वास्थ्य सेवालाई विकास र विस्तार गर्न मनाङ र मुस्ताङ अस्पताललाई २५ शैया, पर्वत, स्याङ्जा, दमौली, मध्यबिन्दु र मातृशिशु मितेरी अस्पताललाई ५० शैया क्षमतामा र अमरापुरी स्वास्थ्य चौकी, गैंडाकोटलाई स्तरोन्नति गर्न पहल गर्ने बताइएको छ । यस्तै गह्रौँ घ्याङलिङ प्राथमिक स्वास्थ्य केन्द्र, वालिङ र भीरकोट नगर अस्पताल, हेलुलाई प्रदेश अन्तर्गत ल्याउन पहल नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *