भेडीगोठ लेक उक्लिएपछि बेसी सुनसान, बुकीमा चहलपहल

डम्मर बुढा मगर, बागलुङ
जेठ पहिलो सातासम्म पश्चिम बागलुङको तल्लो क्षेत्रका बारी, खर्क र भिराला जमिन भेडाका बथानले ढाकिएका थिए । जेठ दोस्रो सातादेखि किसानले पशुचौपाया बुकी उकाल्न थालेपछि अहिले तल्लो क्षेत्र सुनसान बनेका छन् । यति बेला सोडेडाँडा, ढोरपाटन देउराली, पातीहाल्ने लगायतका ठाउँमा गाईभैँसी, भेडाबाख्रा, भोटे कुकुरसँगै गोठालाहरु किलादाम्ला र खर्चपर्च बोकी बुकी उक्लि रहेको भेटिन्छ । हरेक वर्ष बर्खाको समय बुकी (लेक) र हिउँदको समय बेसी (औल)मा बस्ने पश्चिम बागलुङका गोठालाहरुको परम्परानै हो । एकै परिवारले सयौँको संख्यामा पशुचौपाया पाल्ने हुँदा बाह्रै महिना एकै ठाउँमा बसेर घाँस र दाना पु¥याउन सकिदैन ।

त्यसले गर्दा लेकबेसी गर्नु पर्ने स्थिती आएको हो । हिउँदमा बेसी क्षेत्र रमाइलो हुने गरेकोमा बर्खा लाग्न थालेपछि बुकीमा पशुचौपाया र गोठालाहरुको चहलपहल बढेको छ । अबको एक सातामा बुकी भेडाका बथानले भरिन्छन् भने बेसी क्षेत्र रित्तो हुन्छन् । अघिल्लो वर्ष असोज र कार्तिकमा बेसी झरेका गोठाला सात महिनापछि लेक उक्लिन थालेका हुन् । अबको करिब पाँच महिना लेकमै बिताउने गर्छन् । यति बेला बेसीमा घाँस सकिएकोे र लेकमा प्रसस्त पाइन्छ । गोठालाहरु दुई हजार २०० मिटरदेखि चार हजार ५०० सय मिटरको उचाईसम्म पुग्ने गर्छन् । भेडाबाख्राका लागि पोणषयुक्त घाँस पाइने हुँदा हरेक गोठालाले आफ्ना चौपाया बुकी लैजाने गर्छन् ।

बर्खा भरि बुकीमा पालेका भेडाबाख्रा दसैँताका सहर बजारसम्म पु¥याएर राम्रो मूल्य पार्ने गर्दछन् । निसीखोलाको रिग, खानीखोला, तमानखोलाको सोलेडाँडा, ढोरपाटनको माथिल्लो बुकी, जलजला लगायतका क्षेत्र गोठालाहरुको मुख्य बासस्थान हो । रिग र खानीखोलामा रोल्पा र रुकुमका गोठालाहरु पनि आउने गर्छन् । हिउँदको समय बुकीमा हिउँ पर्ने र जाडो हुने हुँदा बेसी ओर्लने गर्छन् । अहिले लेक चढ्न भेडीगोठाले साउन भदौ तिर एक÷दुई पटक खर्च लिन गाउँ झर्ने गरे पनि बाँकी समय बुकीमै बिताउने निसीखोला गाउँपालिका–६ का गोरखबहादुर घर्ती मगरले बताउनुभयो । बुकीमा भएको बेला बिरामी परे मात्रै बेसी झर्ने गरेको उहाँको भनाइ छ ।

घर्ती मगरले भन्नुभयो – “आठ÷नौ सय भेडाबाख्रा छन्, चार दिन अगाडि जेठानले बुकी लगेर जानु भयो, मलाई अल्लि सञ्चो थिएन र अहिले बल्ल ठिक भएर खानी खर्च लगेर जाँदैछु, अब असोजमा आउने हो, त्यसभन्दा अगाडि त आउनु पर्दैन, खर्च सकियो भने झर्नु पर्ने हो, तर यसपाली अलि बढीनै खर्च लगेका छौँ, असोजसम्म नसकिएला, दुःख बिमार लाग्यो बने जहिले पनि झर्नु प¥यो, नत्र उही चार महिनापछि बल्ल गाउँमा आउने हो ।”

लेक बेसी गरेर हजारौँको संख्यामा पशुपालन गर्ने किसानहरुलाई बने न आधुनिक प्रबिधिले छोएको छ, न राज्यले दिने अनुदानले । उनीहरु अहिलेसम्म आफ्नै बलबुतामा परम्परागत पशुपालन अंगाल्दै आएका छन् । पछिल्लो समय सडकले भने केही सहज बनाई दिएको छ । अचेल बथानबाटै पनि भेडाबाख्रा विक्री हुने पूर्वी रुकुमको भूमे गाउँपालिका–१ का हर्कबहादुर बुढा मगरले बताउनुभयो । मध्यपहाडी लोकमार्ग भेडीगोठ नजिकै पर्ने हुँदा यात्रा गर्ने यात्रुले बथानमा आएर भेडा किनेर लैजाने गरेको उहाँको भनाइ छ । असार लागेपछि बुकी बीसौँ हजार बेडाबाख्राले भरिएको बुढा मगरले बताउनुभयो । गाउँबाट बुकी पुग्न करिब चार दिन लाग्ने उहाँ बताउनुहुन्छ ।

“यो सिजन भेडाबाख्राले बुकी ढाकिने सिजन हो, कति छन् गन्नै सकिदैन, गोठालाहरु पनि निकै धेरै हुन्छ, बथान–बथान हुन्छ, कसको बथानमा कति भेडा छन्, त्यो स्वएमं गोठालालाई थाहा हुन्छ, गाउँ त अहिले सुनसान छ,” बुढा मगरले भन्नुभयो – “पोहोर साल जेठमै बुकी गएको थिएँ, यस वर्ष अलि ढिला पानी प¥यो घाँस पनि बल्ल पलाउने समय भएको हुँदा असार लागेपछि उक्लिन थालेका छौँ, अब असोजमा भेडा बेच्न बजार जानका लागि झर्ने हो ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *